अहिलेसम्म माथिल्लो डिभिजनको लिग नभएको साढे दुई वर्ष भइसकेको मात्र नभएर यस वर्ष पनि हुने नहुने अनिश्चितताबीच यी क्लब मिडियासामु आएका हुन् ।
What you should know
काठमाडौँ — सहिद स्मारक लिग ‘ए’ डिभिजनका नौ क्लबले शनिबार प्रेस सम्मेलन गर्दै भनेको छ, अबको प्रतियोगिता गर्दा त्यसमा शृंखलाबद्ध धेरै सुधारको आवश्यकता हुनेछ, लिगकै संरचनादेखि व्यवस्थापनसम्म । ती क्लबको सबैभन्दा महत्त्वपूर्ण माग हो, लिगको सञ्चालनका लागि स्वतन्त्र कमिटी ।
त्यो पनि एसियाली फुटबल महासंघ (एएफसी) सँग समन्वय गरेर पूर्ण अधिकारसहित । अहिलेसम्म माथिल्लो डिभिजनको लिग नभएको साढे दुई वर्ष भइसकेको मात्र नभएर यस वर्ष पनि हुने नहुने अनिश्चितताबीच यी क्लब मिडियासामु आएका हुन् । क्लबहरूको दाबी हो, अधिकांश देशमा लिग सञ्चालन यसरी नै स्वतन्त्र कमिटीले गर्ने गर्छ । नेपालमा पनि यस्तो कमिटी गठन गरे यसले प्रतियोगिता नियमित र व्यवस्थित ढंगले गर्ने, खेलको नियम र कानुन पूर्ण रूपमा कार्यान्वयन गर्नेदेखि लिएर खेल मिलोमतो र गलत आर्थिक चलखेल रोक्ने जिम्मेवारी हुने पनि बताएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको अगुवाइमा क्लबहरू अगाडि आएका हुन् । एन्फाले लिगबारे छलफल गर्न बैठक बोलाएको मितिको एक दिन अगाडि यी क्लबले सार्वजनिक रूपमा आफ्नो धारणा अगाडि सारेका हुन् ।
बैठकको विषय लिग ‘होम एन्ड अवे’ को आधारमा गर्नेबारे छलफल गर्ने कार्यक्रम रहेको छ । क्लबको माग हो, यस आधारमा कसरी लिग गर्ने हो, त्यसबारे स्पष्ट धारणा आवश्यक छ । क्लबले एएफसीको मापदण्ड अनुसार कम्तीमा १० वर्षका लागि घरेलु मैदानको कानुनी व्यवस्था गर्नुपर्ने पनि जनाएको छ ।
यस्तै लिगका क्रममा ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउनुपर्ने पनि भनेको छ । क्लबले खेल मिलोमतो र सट्टेबाजीलाई पनि निरुत्साही गर्न माग गर्दै त्यसका लागि पनि प्रचलित कानुन अनुसार स्वतन्त्र आधिकारिक निकाय गठन गर्न पर्ने भनेको छ ।
पत्रकार सम्मेलनमा हिमालयन शेर्पा, एनआरटी, फ्रेन्ड्स, श्री भगवती, चर्च ब्वाइज, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ, संकटा र मछिन्द्रका प्रतिनिधिको उपस्थिति थियो । एन्फामा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्व आएयता अहिलेसम्म एकैपल्ट मात्र ‘ए’ डिभिजन लिग भएको छ र यसले घरेलु फुटबल संरचना कमजोर बनेको छ ।
