दुई वर्षअघि यूएईलाई पराजित गर्दै नेपालले ट्वान्टी–२० विश्वकपको टिकट काटेको थियो, लगत्तै नेपाललाई पराजित गर्दै यूएई एसिया कपमा पुगेको थियो
What you should know
काठमाडौँ — दुई दाबेदार नेपाल र यूएई ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा आइतबार सुपर लिगमा आमनेसामने हुँदै छन् । नेपाल र यूएईबीचको यस खेललाई स्पेनिस लिग फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा जस्तो ‘एल क्लासिको’ भनेर दाँजिएको छ ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा अझ यस खेल जित्ने टोलीको विश्वकपमा पुग्ने सम्भावना निकै बलियो बन्ने हुँदा नेपाल र यूएईबीचको खेल प्रमुख प्रतिद्वन्द्वताभन्दा माथि बनेको छ । दुई वर्षअघि मूलपानीमा ट्वान्टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनलमा यूएईलाई नै पराजित गरेर नेपालले ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको पृष्ठभूमिमा यी दुईबीचको खेलले थप रौनकता बढाएको छ ।
नेपाल समूह ‘बी’, यूएई समूह ‘ए’ को विजेता भएर सुपर लिगमा पुगेका हुन् । शुक्रबार लिगको अन्तिम खेलमा सुरुआतमा निकै कठिन स्थितिमा पुगेको घरेलु टोली ओमानले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेपछि राम्रो रन रेट बनाउँदै नेपाल र यूएईलाई उछिनेको थियो । सहभागी ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको थियो र प्रत्येक समूहको शीर्ष दुई टोली सुपर लिग पुगेका हुन् ।
सुपर लिगमा एउटा समूहबाट गएका टोली अर्को दुई टोलीका चार टोलीसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसपछि शीर्ष तीन टोली फेब्रुअरी–मार्चमा भारतमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् । समूह विजेता बन्दै बोनस २ अंक लिएर गएका कारण ओमान, नेपाल र यूएईको शीर्ष ३ बन्ने सम्भावना निकै बलियो छ ।
सुपर लिगका खेल आइतबार सुरु हुँदा पहिलो दिनमा विजयी भएमा यी तीन टोलीको ट्वान्टी–२० विश्वकप नजिक पुग्नेछन् । नेपालले समूह चरणमा कुवेत र जापान तथा यूएईले कतार र मलेसियालाई पराजित गर्दै आफ्नो समूहको विजेता बनेका थिए । यूएईले पहिलो दिनको खेलमा बुधबार कतारले दिएको १ सय १९ रनलाई पछ्याउन हम्मेहम्मे परेको थियो । त्यही मैदानमा लगत्तै अर्को खेलमा कुवेतविरुद्ध नेपालको पनि ब्याटिङ परीक्षा भएको थियो ।
यूएईले मलेसियाविरुद्धको अर्को खेलमा राम्रो ब्याटिङ गरे पनि जापानविरुद्ध नेपालको ब्याटिङ र बलिङ परीक्षा भएको थियो । अर्को हिसाबमा हेर्ने हो भने नेपालले प्रतिद्वन्द्वी अनुरूपको खेल खेलिरहेको छ । त्यसैले सुपर लिगमा नेपालले आफ्नो स्वाभाविक खेल फर्काउने अपेक्षा गरिएको छ ।
नेपालले पछिल्ला पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यूएईलाई ३ पटक पराजित गरेको छ । तर डेढ वर्षअघि यूएईसँग एसीसी मेन्स प्रिमियर कपमा पराजित हुँदा नेपाल लगातार दोस्रो पटक एसिया कपमा छनोटमा वञ्चित भएको थियो । ओमानको त्यही मैदानमा आइतबार नेपाल र यूएईको भेट हुन लागेको हो । नेपालले बनाएको ११९–९ को स्कोरलाई यूएईले १६ बल अगाडि नै पूरा गरेको थियो ।
अलिसन सराफुले ४१ बलमा अविजित ५५ रन बनाउँदै यूएईलाई विजयी दिलाएका थिए । यस पटक सराफु उत्कृष्ट फर्ममा रहेका छन् । उनले कतारविरुद्ध अविजित ५१ र मलेसियाविरुद्ध ३४ रन बनाएका थिए । कप्तान मोहम्मद वासिम पनि सुपर लिग अगाडि लयमा फर्किएका छन् । वासिमले ५३ बलमा ८४ रन बनाएपछि मलेसियाले दिएको १ सय ६२ रनलाई मस्कटको कठिन पिचमा यूएईले ४ बल अगाडि नै १ सय ६७ रन बनाएको थियो ।
मुख्य अलराउन्डर करण केसीबिनै समूह चरणमा उत्रिएको नेपाल सुपर लिग अगाडि बलिङमा धार समात्ने दाउमा छ । कमजोर मानिएको जापानले शुक्रबार नेपालविरुद्ध १ सय ३१ रन बनाएपछि नेपालको बलिङमा चिन्ता बढाएको हो । अल एमेरटको विेकटमा १५०–१६० रनलाई राम्रो स्कोर मानिए पनि नेपालले कुवेतविरुद्धको खेलमा १ सय ४१ रनमात्र बनाउन सकिएको थियो ।
त्यो पनि गुलसन झाले लगातार ३ छक्का प्रहार गदै नेपालले १९ औं ओभरमा २७ रन जोडेपछि त्यो सम्भव भएको थियो । उनै गुलसनले जापानविरुद्ध शुक्रबार अलराउन्ड प्रदर्शन गर्दै नेपाललाई सुपर लिगमा अतिरिक्त २ अंकसहित सुरक्षित गराएका थिए । नेपालका प्रमुख बलरहरू धार बाहिर गएको समयमा लामो समयपछि बलिङमा फर्किएका गुलसनले २ महत्त्वपूर्ण विकेट लिँदै नेपाललाई खेलमा फर्काएका थिए ।
