भारतले ५ विकेट गुमाएर ५ सय १८ रनमा आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
काठमाडौँ — वेस्ट इन्डिज भारतविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन शनिबारको खेल समाप्त हुँदा फलो–अन बचाउन संघर्षरत रहेको छ । नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्समा ४ विकेटमा १ सय ४० रन बनाएको छ ।
पाहुना टिम अझै ३ सय ७८ रनले पछाडि रहेको छ । पाहुना टिमका लागि साइ होप ३१ र टेभिन इमलाच १४ रन बनाएर खेलिरहेका छन् । वेस्ट इन्डिजले ब्याटबाट केही सुधारिएको खेल प्रदर्शन गरेको थियो र उसका लागि एलिक एथान्जले सर्वाधिक ४१ रन बनाएका छन् ।
त्यस अगाडि भारतले ५ विकेट गुमाएर ५ सय १८ रनमा आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । त्यसमा कप्तान शुभमन गिलले १ सय २९ रन बनाएर नटआउट रहे । यसक्रममा उनले आफ्नो दसौं टेस्ट शतक पूरा गरे । भारतले २ विकेट ३ सय १८ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।
