गुलशनको अलराउन्ड, बोनस अंक

समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको नेपालले सुपर सिक्समा यूएई र कतारसँग खेल्ने

आश्विन २५, २०८२

विनोद पाण्डे

Gulshan's all round, bonus points

What you should know

काठमाडौँ — गुलशन झाको अलराउन्ड प्रदर्शनमा नेपालले शुक्रबार जापानलाई ५ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ । 

गुलशनले महत्त्वपूर्ण २ विकेट लिएपछि टस हारेर ब्याटिङ निम्तो पाएको जापानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । ब्याटिङमा पनि उपयोगी बन्नेक्रममा गुलशनले अविजित २८ रन बनाएपछि नेपालले २ ओभरअघि नै लक्ष्य पूरा गरेको थियो । 

नेपालले समूह ‘बी’ को पहिलो खेलमा बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो । जापानले बिहीबार कुवेतमाथि ५ विकेटको जित पाएको थियो । जसका कारण नेपाल र जापान एकअकाविरुद्ध खेल्नुअघि नै दोस्रो चरणमा पुगेका थिए भने कुवेत समूह चरणबाटै बाहिरिएको थियो ।

समूह विजेता बनेर गएकाले नेपालसँग अतिरिक्त २ अंक हुनेछ । नेपालले सुपर सिक्समा आइतबार समूह ‘ए’ को विजेता यूएई र सोमबार कतारसँग खेल्नेछ । त्यसपछि थप दुई खेल समूह ‘सी’ को विजेता र उपविजेतासँग खेल्नेछ । सुपर सिक्समा सहभागी ६ टोलीले ४–४ खेल खेलेपछि शीर्ष तीन टोली फेब्रुअरी–मार्चमा भारतमा र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् । 

कुशल भुर्तेल र आसिफ शेखले ५ ओभरमा ३६ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाए । पाँचौं ओभरको अन्तिम बलमा शोमा स्लेटरले भुर्तेललाई २१ रनमा आउट गरे । भुर्तेलले ३ चौका प्रहार गरे । आसिफले २१ बल खेल्दै १ चौका र ४ छक्कासहित ३८ रन बनाए । सन्दीप जोरा ७ बलमा ५ र कुशल मल्ल ६ बलमा ४ रन बनाएर आउट भए । 

कप्तान रोहित पौडेलले १९ बलमा १ चौकासहित १८ रन बनाए । गुलशन झा २८ र दीपेन्द्रसिंह ऐरी १४ रन बनाई अविजित रहे । गुलशनले २० बलमा १ चौका र २ छक्का तथा दीपेन्द्रले १४ बलमा १ चौका प्रहार गरे । जापानबाट स्लेटरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । 

यसअघि दीपेन्द्रले सिधा थ्रोमा अभिषेक आनन्दलाई चौथो ओभरमा १ रनमै रनआउट गर्दै जापानलाई सुरुआती झट्का दिएका थिए । तर केन्डेल काडोवाकी–फ्लेमिङ र इसम रहमानले दोस्रो विकेटमा ८६ रनको साझेदारी गरेपछि जापानले उत्कृष्ट पुनरागमन गरेको हो । सोमपाल कामीले रहमानलाई १३ औं ओभरमा आउट गरेर यो साझेदारी तोडिदिए । रहमानले २५ बलमा १ चौका र २ छक्कासहित ३१ रन बनाए । अर्को ओभरमा गुलशनले काडोवाकीलाई आउट गरेपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । काडोवाकीले ४६ बल खेल्दै ५ चौका र ३ छक्कासहित ६० रन बनाए । 

गुलशनले इब्राहिम ताकाहासीलाई ४ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले सबाओरिस रविचन्दन र डेक्लन सुजुकीलाई समान १ रनमा आउट गरे । रेओ साकुरानो थोमस ३ रनमा रनआउट भए । बेन्जामिन इटो डेभिस १२ बलमा १७ रन बनाई आउट भए । गुलशन र सन्दीपले २–२ विकेट लिए । गुलशनले ४ ओभरमा २० र सन्दीपले ४ ओभरमा २५ रन खर्चे । सोमपालले ४ ओभरमा २० र नन्दन यादवले ३ ओभरमा १६ रन खर्चेर १–१ विकेट लिए । 

नेपालले २५ वर्षपछि जापानसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो । पछिल्लो पटक यी दुई टोली सन् २००० मा यूएईमा एसीसी ट्रफीमा भिडेका थिए, जहाँ नेपालले सहज विजय निकालेको थियो । 

यूएई समूह ‘ए’ विजेता

यूएईले शुक्रबार पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेपछि समूह ‘ए’ को समीकरण पूरा भएको थियो । यूएई दुवै खेल विजय हात पार्दै समूह विजेता बन्यो । मलेसिया दुवै खेलमा पराजित भई समूह चरणबाटै बाहिरियो । 

मलेसिया बिहीबार कतारसँग ८ विकेटले पराजित भएको थियो । कतार समूह उपविजेता बन्दै सुपर सिक्समा पुगेको हो । सुपर सिक्समा यूएईको २ अंक हुनेछ । कप्तान मोहम्मद वासिमले ५३ बलमा ८४ रन बनाएपछि मलेसियाले दिएको १ सय ६२ रनको लक्ष्य यूएईले १९.२ ओभरमा १ सय ६७ रन बनाएर पूरा गरेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully