‘१०० क्याप’ जित्दै फुटबलर रोहित

क्लब स्तरमा गोल गरे पनि रोहित चन्दले नेपाली राष्ट्रिय टिमका लागि विरलै मात्र गोल गरेका छन्, उनको नाममा एक गोल छ

आश्विन २५, २०८२

हिमेश

Footballer Rohit winning '100 caps'

What you should know

काठमाडौँ — रोहित चन्दले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि जति खेले, पहिलो रोजाइमै रहेर खेलेका छन् । उनको स्थान कहिले पनि अन्योलमा रहेन । अहिले नेपाली टोली भियतनाममा छ । प्रसिद्ध होचि मिन्ह सहरमा । एसिया कप छनोटको तेस्रो चरणका लागि नेपाली टिम दक्षिणपूर्वी देशमा छ । नेपालले त्यहाँ दुई खेल खेल्नेछ । त्यसमध्ये पहिलो खेल बिहीबार टुंगिसकेको छ । त्यसमा पनि रोहितले सुरुदेखि नै खेले ।

त्यो उनले नेपालका लागि खेलेको ९९ औं खेल थियो । अब नेपालले मंगलबार भियतनामविरुद्ध दोस्रो खेल खेल्नेछ । त्यो उनका लागि ऐतिहासिक सयौं खेल हुनेछ । फेरि अस्ट्रेलियन प्रशिक्षक म्याट रससामु रोहितलाई नखेलाउनुपर्ने कुनै कारण हुने छैन । नेपाली फुटबलको समग्र इतिहासकै एक उत्कृष्ट खेलाडी रोहितका लागि मात्र होइन, यो धेरैका लागि कोसेढुंगा साबित उपलब्धि हुनेछ । 

यसैक्रममा रोहित नेपालबाट सय खेल खेल्ने दोस्रो दुर्लभ खेलाडी हुनेछन् । यसअघि यस्तै उपलब्धि कप्तान तथा गोलरक्षक किरण लिम्बूले हासिल गरेका थिए । अब पालो रोहितको । जतिबेला उनी साँच्चै सय खेलका लागि गो टाउ स्टेडियममा ओर्लिन्छन्, त्यो नेपाली फुटबलप्रति रोहितको समर्पण र सेवाको अनुमप उदाहरण हुनेछ । यो क्षण नेपाली फुटबलले ‘सेलिब्रेट’ गर्नुपर्ने साँच्चैको ठूलो अवसर पनि हुनेछ । त्यस अगाडि नेपालका लागि उनले जति खेले, त्यसको सार यसरी खिच्न सकिनेछ :

एन्फा एकेडेमीको तेस्रो ब्याच

रोहित एन्फा एकेडेमीकै उत्पादन हुन् । उनी तेस्रो ब्याचका खेलाडी हुन् । उनलाई के राम्रोसँग याद छ भने आफू एन्फा एकेडेमीसँग कसरी जोडिए भनेर । अनि त्यो समयका आफ्ना नजिकका साथीहरूसँग पनि राम्रै सम्बन्धमा छन् । तर एकेडेमीमा कुन वर्ष र कुन महिना जोडिएको हो, त्यो भने ख्याल राखेका छैनन् । एन्फा एकेडेमीमा बिताएका दिनलाई उनी सुखले सम्झिन चाहन्छन् । त्यो सबै उनलाई हिजै जस्तो लाग्छ । यो लामो यात्रालाई फेरि आफैंमा धेरै सानदार मान्न मिल्छ । 

डेब्युमा उत्साह र डर दुवै

एउटा मिति याद गर्नु, सन् २००९ को मार्च २६ । त्यही दिन उनले नेपालका लागि डेब्यु गरेका थिए । प्रतिद्वन्द्वी थियो प्यालेस्टाइन । प्रतियोगिता एएफसी च्यालेन्ज कप छनोट अनि उनलाई यो अवसर दिने प्रशिक्षक थिए, योगम्बर सुवाल । त्यही खेलबाट रोहितले मात्र होइन, चेतन घिमिरे र दीपक भुसालले पनि डेब्यु गरेका थिए । ‘त्यो क्षण मलाई अझै पनि राम्रोसँग सम्झना छ । म निकै उत्साही थिएँ, डर पनि थियो,’ उनले भनेका छन् । डेब्युयता उनले अन्तर्राष्ट्रिय फुटबलमा १६ वर्ष बिताइसकेका छन् । 

एकै गोल

क्लब स्तरमा गोल गरे पनि रोहितले यस्तै काम नेपाली राष्ट्रिय टिमका लागि बिरलै मात्र गरे । अझ भन्ने हो भने उनले नेपालका लागि एक गोलका लागि निकै लामो समय पर्खिरहे । एक पटक अनौपचारिक कुराकानीमा उनले भनेका थिए, ‘किन हो, नेपालका लागि एक गोल गर्ने सपना पूरा नहोला जस्तै छ ।’ सन् २०२४ मा अफगानिस्तानविरुद्ध अन्ततः एक गोल गरे । त्यसबेला उनको खुसी देखिनसक्नु थियो । पछि साथीहरूले पनि उत्तिकै खुसीले त्यो अवसर सम्झनलायक बनाए । ताजकिस्तानको डुसान्बेमा उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । 

डिफेन्स कि मिडफिल्ड कता सजिलो ?

नेपाली राष्ट्रिय टोलीका लागि उनले दुई फरक फरक भूमिकामा खेले । त्यो पनि कहिले कुन, कहिले कुन । कहिले उनले डिफेन्डरको भूमिकामा खेले भने कहिले मिडफिल्डरमा । नेपाली फुटबलमा एउटा बहसको विषय पनि रह्यो, साँच्चै उनका लागि उपयुक्त ‘पोजिसन’ कुन हो भनेर । उनी आफैं के भन्छन् त ? उनको तर्क छ, ‘युवा छँदा बलियो हुँदा मिडफिल्डमै ठीक । अहिले अलिकति बढी उमेर हुँदा भने डिफेन्समै ठीक ।’ सायद उनी डिफेन्डरकै रूपमा बढी सफल रहे कि ?

चोटले अझ बढी बलियो 

सम्भवतः रोहितले नेपालका लागि लगातार खेलेको भए उनले जितेको ‘क्याप’ संख्या अझ बढी हुन्थ्यो । एकभन्दा बढी कारणले उनी टिममा परेनन् । त्यसमध्ये एउटा ठूलो कारण थियो, बायाँ घुँडाको चोट । यसले उनलाई दुःखै दिने काम गरेको थियो । निको हुन शल्यक्रिया नै चाहियो । रोहित के मान्छन् भने घुँडाको शल्यक्रिया पछि उनले पहिलेको तुलनामा अझ राम्रो खेले । त्यो चोटले उनलाई अझ बलियो भएर खेल्न सहयोग गर्‍यो । उनको यो तर्कमा बहादुरी लुकेको मान्न सकिन्छ । 

कति धेरै गुनासो

आफ्नो खेलजीवनलाई लिएर कति धेरै गुनासो छ भने त्यो भनिसाध्य हुन्न भन्छन् उनी आफैं । यसको सिधा अर्थ के भने राष्ट्रिय टिमका लागि ठूलो कुनै सफलता आत्मसात् गर्न नसकेकामा उनको मनमा चोट छ । हाकाहाकी भन्छन्, ‘मैले यो नै मेरो अहिलेसम्म ठूलो उपलब्धि यही हो भन्न पनि सक्दिनँ ।’ उनको एउटा ठूलो गुनासो साफ च्याम्पिनयसिप नजित्नुमा पनि छ । उनी नेपालका लागि दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सबैभन्दा बढी खेल्ने नेपाली खेलाडी हुन् । तर उच्च सफलता भन्नु नै उपविजेता बन्नु मात्र रह्यो । 

एकैपल्ट कप्तान

किरण लिम्बूपछि अहिलेको नेपाली टिमका सबैभन्दा अनुभवी खेलाडी रोहित नै हुन् । एकै वर्ष बिराएर उनीहरूले नेपालका लागि पहिलो पटक खेलेका थिए । किरण भने लामो समयदेखि टिमका कप्तान छन् । उनकै छायाँमा परेर हो कि रोहितले एकैपल्ट मात्र नेपाली टिमको कप्तानी सम्हाल्ने अवसर पाएका छन् । यो थियो, पाकिस्तानविरुद्धको सन् २०२२ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल । त्यो खेल किरणले खेलेनन् । रोहित पनि फेरि कस्ता छन् भने उनलाई कप्तानी गर्नुमा खासै रूचि पनि छैन । धेरैपल्ट नेतृत्व गर्न नपाएकामा उनलाई गुनासो पनि छैन । 

“मेरो एउटा साथी छ”

रोहितको नेपाली फुटबलमा एउटा असाध्यै मिल्ने साथी छ । उनी हुन्, विशाल श्रेष्ठ । टिमका रूपमा विदेश जाँदा अधिकांस समय उनीहरूको एउटै कोठा हुने गर्छ । भनिन्छ, रोहितको अधिकांस व्यक्तिगत कुरा विशाललाई मात्र थाहा हुन्छ । उनीहरूबीच एउटा अन्तर छ । जहाँ रोहित नेपालका लागि अब सय खेल खेल्दैछन्, विशाल भने उत्तिकै भाग्यमानी रहेनन् । उनले एकैपल्ट मात्र नेपालका लागि खेल्न पाएका छन् । अब त उनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि संन्यास लिइसकेका छन् । विशालले सायद हकले बढी खेल्न पाउनुपर्ने थियो । यो कुरामा बढी दुःख त रोहितलाई हुँदो हो । 

एकाएक हराउन बेर छैन

रोहितको बानी नै हो, सक्दो कम बोल्ने । चुपचाप रहने । सक्दो मिडियासँग टाढै रहने । यस्तो किन त ? रोहितले भनेका छन्, ‘यही त हो, मेरो कम्फर्ट जोन ।’ खासमा उनको व्यक्तित्व नै त्यस्तै छ । एउटा डर के छ भने कतै उनी संन्यास लिइसकेपछि एकाएक हराउने त होइन ? ‘बेर छैन’ उनी हल्का हाँसेर भन्ने गर्छन् । विश्व फुटबलमा त्यस्ता केही ठूला खेलाडी छन्, जसले खेल्न छाडेपछि चर्चामा रहिरहन राम्रो मानेनन् । रोहितलाई पछि प्रशिक्षक हुनुमा पनि कुनै रूचि छैन । 

खेलजीवनको अन्त्यतिर

रोहित अहिले आफ्नो खेल जीवनको लगभग अन्त्यतिर पुगिसकेका छन् । यो उनी आफैं मान्छन् । अब उनले धेरै लामो समय खेल्ने छैनन् । भलै, तुरुन्तै संन्यास लिने कुनै योजना भने छैन । कोही खेलाडीले एकपल्ट खेल्न सुरु गरेपछि त्यसलाई अन्त्य पनि गर्नुपर्छ । सबैले सधैं कहाँ खेलिरहनु सक्छ र ? आशा के हो भने रोहितले जतिबेला संन्यास लिनेछन्, त्यो सुखद हुनुपर्छ । उनलाई हाँसेर विदा लिने अवसर दिनुपर्छ । नत्र रोहित कस्ता हुन् भने उनले संन्यास लिन अगाडि भन्न सक्छन्, ‘धेरै तामझाम किन चाहियो र ?’

हिमेश

Link copied successfully