पच्चिस वर्षपछि खेल्दै छ नेपालले जापानसँग

नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको जति भयो, त्यही देखिको हो जापानसँगको क्रिकेटको सम्बन्ध, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो विजय जापानसँगै थियो  

आश्विन २४, २०८२

विनोद पाण्डे

Nepal is playing against Japan after twenty-five years

What you should know

काठमाडौँ — नेपाल र जापान अहिले केही बेरमा ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको निर्णायक खेलमा खेल्दै छन् । यी दुई टोली यसअघि नै सुपर सिक्समा प्रवेश गरेर ट्वान्टी–२० विश्वकपमा पुग्ने यात्रा छोट्याइसकेका छन् ।

नेपालले समूह ‘बी’ को पहिलो खेलमा बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो । जापानले बिहीबार कुवेतलाई ५ विकेट गरेको थियो । जसको कारण नेपाल र जापान दोस्रो चरणमा पुगेका थिए भने कुवेत समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल र जापान बीचको खेलको विजेता समूहको विजेता मात्र हुनेछैन, विजेता टोलीसँग सुपर सिक्समा अतिरिक्त २ अंक हुनेछ । नेपालले जापानसँग २५ वर्षपछि खेल्न लागेको हो । जापानले सुरुआती क्रिकेट एसियाली क्रिकेट परिषद् (एसीसी) अन्तर्गत रहेर खेलेको थियो, जसको कारण नेपालसँग नियमित भेट हुन्थ्यो ।

सन् २००० मा यूएईमा भएको एसीसी ट्रफीपछि जापान एसीसीबाट अलग भएर इष्ट एसिया प्यासिफिकमा खेल्न लाग्यो । २०२३ मा पपुवा न्यु गिनी इष्ट एसिया प्यासिफिकको विजेता भएर अमेरिका र वेस्ट इन्डिजमा गएर ट्वान्टी–२० विश्वकप खेलेको थियो । सोही कारण पपुवा न्यु गिनीले यस पटक एसिया र इष्ट एसिया प्यासिफिक क्षेत्रको छनोट खेल्नु परेन ।

जापानले त्यसको फाइदा उठाउँदै इष्ट एसिया प्यासिफिक ‘बी’ क्षेत्रको छनोटको विजेता भएर ओमान पुगेको हो । दक्षिण कोरियामा गत वर्ष नै भएको ४ राष्ट्र सम्मिलित छनोटमा जापानले डबल राउन्ड रोबिनको सबै ६ खेल जितेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया र इष्ट एसिया प्यासिफिक क्षेत्रलाई एकै ठाउँ गाभेपछि नेपालले जापानसँगको क्रिकेट सम्बन्धलाई नवीकरण गर्ने अवसर पाएको छ ।

२००८ मा जर्सीमा भएको विश्व क्रिकेट लिग डिभिजन ५ मा जापान र नेपाल एकै साथ खेलेका थिए । तर फरक समूहमा रहेका थिए । जापान समूह चरणबाटै बाहिरियो भने नेपाल सेमिफाइनलमा पुगेर रोकियो । २०१९ यता दुई राष्ट्र बीचको खेललाई आईसीसीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएका कारण जापान र नेपाल एकै हैसियतमा छन् । तर नेपालसँग २०१८ यता एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि रहेको छ ।

एक समयका नियमित प्रतिद्वन्द्वी नेपाल र जापान अन्तर्राष्ट्रिय क्रिकेटमा २५ वर्षपछि भेट्न लागेका हुन् । नेपाल राष्ट्रिय क्रिकेट पुरुष टोलीले विगतमा जापानसँग खेलेका खेलहरू यस प्रकारका छन् ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय जित

१९९६, मलेसिया

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा मलेसियामा भएको पहिलो एसीसी ट्रफीमा सहभागिता जनाएको थियो । पहिलो खेलमा बंगलादेशसँग नेट रन रेटका आधारमा पराजित भएपछि नेपालको दोस्रो भेट जापानसँग भएको थियो । जापानको पनि यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । जापान पनि पहिलो खेलमा ब्रुनाईसँग पराजित भएर नेपालसँगको खेलमा उभिएको थियो ।

Nepal is playing against Japan after twenty-five years

पहिलो एसीसी ट्रफीको अफिसियल डिनरमा प्लेयर अफ द म्याचको पुरस्कार लिएपछि मनीषराज पाण्डे ।

पादाङमा सेप्टेम्बर ७ मा भएको खेलमा पहिला ब्याटिङ गरेको जापानलाई नेपालले ३३ ओभरमा ७२ रनमै अलआउट गर्‍यो । एलबी क्षेत्रीले ६ ओभरमा ९ रन खर्चेर ३, वसन्त शाहीले ८ रन खर्चेर २ तथा मनीषराज पाण्डेले १ विकेट लिए ।

नेपालले १५ ओभरमै लक्ष्य पुरा गरेको थियो । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विजय थियो । मनीषराज पाण्डेले २७ र सञ्जय गुरुङले २० रन बनाएका थिए । अलराउन्ड प्रदर्शन गर्दै मनीष प्लेयर अफ द म्याचमा चुनिए । नेपाली क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाएको यो पहिलो प्लेयर अफ द म्याच अवार्ड पनि थियो ।

वर्षाको निराशा

१९९८, ललितपुर

नेपालले १९९८ मा सीमित भौतिक पूर्वाधारमा दोस्रो एसीसी ट्रफी आयोजना गर्ने ठुलो साहस गरेको थियो । जसका लागि नव निर्मित त्रिवि क्रिकेट मैदान कीर्तिपुर, सेन्ट जेभियर्स स्कुल जावलाखेल तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका दुई मैदानमा प्रतियोगिताका खेलहरू आयोजना भएका थिए ।

तर पुल्चोक क्याम्पसको दोस्रो मैदानमा नेपाल र जापान बीचको खेल वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको थियो । प्रतियोगितामा यो नेपालको पहिलो खेल थियो । नेपाल अझ थप निराश त्यत्ति बेला भयो, जति खेर नेपालले आफ्नो दोस्रो खेल कीर्तिपुरमा थाइल्यान्डसँग पनि वर्षा कारण रद्द भएको हेर्न बाध्य भयो । यसले नेपालको सेमिफाइनलमा पुग्ने आशालाई समाप्त पारिसकेको थियो । अन्तिम दुई खेलमा यूएई र हङकङसँग पराजित भएपछि नेपाल घरेलु मैदानमा आयोजना गरेको प्रतियोगितामा जितविहीन हुन पुग्यो ।

जापानको बेसबल ग्रिप 

२०००, यूएई

एसीसी ट्रफीको तेस्रो संस्करणमा नेपाल र जापान लगातार तेस्रो पटक भिडिरहेका थिए । पहिलो खेलमा यूएईसँग १ विकेटको झिनो हार बेहोरेको नेपालले दोस्रो खेलमा जापानको सामना गरिरहेको थियो र पहिलो पटक एसीसी ट्रफीको सेमिफाइनलमा पुग्न नेपाललाई यो खेल जित्न निकै महत्त्वपूर्ण थियो ।

जापानले लगभग पुरा ५० ओभर ब्याटिङ गरिदियो । ४९.५ ओभर खेल्दै जापान १ सय ३३ रनमा अलआउट भयो । हिरोकाजु ताकाहासीले २८ रन बनाए । नेपालबाट विनोद दासले ९ ओभरमा २४ रन खर्चेर ३, कप्तान पवन अग्रवालले १७ रन खर्चेर २ र महबुब आलमले २३ रन खर्चेर २ विकेट लिए । किरण अग्रवालले ६३ बलमा अविजित ५३ रन बनाएपछि नेपालले २०.३ ओभरमै ३ विकेट गुमाई लक्ष्य पुरा गर्‍यो । सञ्जीव जोशीले १६ र कप्तान राजु खड्काले अविजित ४४ रन बनाई नेपाललाई जिताए ।

माल्दिभ्सलाई पनि पराजित गदै नेपाल सेमिफाइनल पुग्यो । जापान सबै ३ खेलमा पराजित भई समूह चरणबाटै बाहिरियो । नेपाल र हङकङ बीचको सेमिफाइनल खेल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो, जुन नेपालको पुरुष क्रिकेटको पहिलो प्रत्यक्ष प्रसारण खेल पनि थियो । इनिङ्स ब्रेकमा पाकिस्तानी कमेन्टेटर रमिज राजा सामु जापानका केही खेलाडी अतिथि थिए । राजाले जापानी खेलाडीलाई ब्याट कसरी समात्ने गरेको छ भनेर सोधेका थिए, जबाफमा जापानी खेलाडीले बेसबल शैलीमा ब्याटिङ ग्रीप देखाएका थिए । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully