गत २२ असोजबाट ३ दिनसम्म सञ्चालन भएको फुटसल प्रतियोगितामा सहभागी १४ वटा टिमलाई हराउँदै रेन्टल सर्भिसले उपाधि जितेको आयोजकले जनाएको छ ।
सोलुखुम्बु — सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित जिल्लाव्यापी खुला ५ ए फुटसल प्रतियोगिताको उपाधि न्यु रेन्टल सर्भिसले जितेको छ । गत २२ असोजबाट ३ दिनसम्म सञ्चालन भएको फुटसल प्रतियोगितामा सहभागी १४ वटा टिमलाई हराउँदै रेन्टल सर्भिसले उपाधि जितेको आयोजकले जनाएको छ ।
खास्ताव फुटसल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको दोस्रो स्थान बासा फुटबल क्लबले हासिल गरेको छ । प्रतियोगितामा विजेता र उपविजेतासहित उत्कृष्ट खेल प्रदर्शन गर्ने विधागत खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले पुरस्कार हस्तान्तरण गरेका छन् । प्रतियोगितामा टप स्कोररको पुरस्कार विजेता बासा फुटसल क्लबका खेलाडी खेम राई बनेका छन् ।
यस्तै टक्सीन्दु फुटसल क्लबका खेलाडी निखिल बिक उत्कृष्ट गोलरक्षक बनेका छन् भने उपाधि विजेता टिम न्यु रेन्टलका खेलाडी सन्दिप मगर उत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा उपाधि विजेता टिम न्यु रेन्टलले नगद ५० हजार र उपविजेता बासा फुटसल क्लबले २५ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको खेल संयोजक सुजन राईले बताए ।
समापन कार्यक्रममा बोल्दै माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो कार्यकालमा युवाहरूको क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरु गरेको बताउँदै खेल क्षेत्रमा एभरेष्ट भ्यु ट्रेल म्याराथन, विभिन्न प्रतियोगिताका साथै निर्णायक काम गरेको उल्लेख गरे ।
