एसिया कप फुटबल छनोट : छनोटमा लगातार तेस्रो हार

अब नेपालले चार दिन विश्राम पाउनेछ र मंगलबार हुने खेलमा फेरि भियतनामको सामना गर्नेछ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबलका लागि अयोग्य भएपछि नेपालले भियतनामी भूमिमै यो खेल खेल्नुपरेको हो ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Asia Cup Football Qualifiers: 3rd successive defeat in the qualifiers

What you should know

काठमाडौँ — नेपालले एसिया कप फुटबल छनोटको समूह ‘एफ’ मा बुधबार लगातार तेस्रो हार बेहोरेको छ । यसपल्ट नेपाल भियतनामको हातबाट उसकै घरमा ३–१ ले पराजित रह्यो । नेपालले भियतनामलाई होचि मिनको गो डाउ रंगशालामा पहिलो हाफसम्म १–१ को बराबरीमा रोकेको थियो ।

लागिरहेको थियो, सम्भवतः नेपाल कम्तीमा एक अंक निकाल्न सफल रहनेछ । तर नेपालले दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेलेको थियो । यो नै भियतनामले खेलमा प्राप्त गरेको अतिरिक्त फाइदा रह्यो । लाकेन लिम्बू सिधा रातो कार्डमा मैदान छाड्न बाध्य रहे । यो खेलको निर्णायक मोडजस्तै बन्यो । भियतनामले अग्रता भने नवौं मिनेटमा लियो, जतिबेला नेग्युन टिन लिनले गोल गरे ।

नेपालले १७ औं मिनेटमा बराबरी गोल फर्कायो । यो गोल सनिश श्रेष्ठको नाममा रह्यो । उनले रोहन कार्कीको फ्रि–किकलाई हेड गर्दै गोलमा परिणत गरे । नेपालका लागि उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । खेलको ६७ औं मिनेटमा भियतनामले दोस्रोपल्ट अग्रता लियो । फाम स्युन मान्हले गोल गरेका थिए । खेलले ७२ मिनेट छुँदा नेग्युन भान भीले तेस्रो गोल गरेर घरेलु भूमिमा टिमको जित निश्चित गरेका थिए । 

भियतनामले २५ औं मिनेटमा गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन । समूहको अर्को खेलमा मलेसियाले लाओसलाई सजिलै ३–० ले हरायो । मलेसियाको यो लगातार तेस्रो जित हो । यससँगै टोलीको ९ अंक भएको छ । भियतनाम भने ६ अंक लिएर दोस्रो स्थानमा रह्यो । लाओस ३ अंकमा सीमित रहेर तेस्रो स्थानमा छ भने नेपालले अहिलेसम्म अंक बटुलेको छैन । 

Asia Cup Football Qualifiers: 3rd successive defeat in the qualifiersखेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भने, ‘सबैभन्दा पहिले यो जितका लागि भियतनामलाई बधाई । यो भियतनामको प्रभावशाली जित रह्यो । हारका बावजुत नेपाली टिमको प्रदर्शनप्रति मलाई खुसी छ । एक गोलले पछाडि रहेको स्थितिमा नेपालले राम्रो जवाफ फर्काएको हो । रातो कार्डले एक खेलाडी गुमाउन परेपछि पूरा परिस्थिति फेरियो र त्यसपछि हामीलाई गाह्रो भयो ।’ उनले अगाडि थपे, ‘हामीले त्यसपछि पर्याप्त अवसर सिर्जना गर्न सकेनौं । अब यो खेलका विश्लेषण गर्नेछौं र कहाँनिर कमजोरी भयो भनेर खोज्ने प्रयास गर्नेछौं । त्यसपछि सुधारको प्रयास गर्नेछौं ।’ 

अब नेपालले चार दिन विश्राम पाउनेछ र मंगलबार हुने खेलमा फेरि भियतनामको सामना गर्नेछ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबलका लागि अयोग्य भएपछि नेपालले भियतनामी भूमिमै यो खेल खेल्नुपरेको हो ।  

बिहीबारको खेलबाट नेपालका लागि युवा खेलाडी कुशल देउवाले डेब्यु गरे । उनी ८५ औं मिनेटमा आयुष घलानको स्थानमा मैदान छिरेका थिए । खेलपछि उनको प्रतिक्रिया थियो, ‘डेब्युमा निकै खुसी छु । तर टिम हार्दा उत्तिकै दुःख लागेको छ । मैले राष्ट्रिय टिमबाट खेल्न धेरै मिहिनेत गरेको थिएँ र यस्तै मौकाका लागि प्रतीक्षा गरिरहेको थिएँ ।’ उनले उमेर समूहको राष्ट्रिय टिमबाट भने खेलिसकेका छन् ।  

कान्तिपुर

Link copied successfully