नेपालका अस्ट्रेलियाली प्रशिक्षक रस मान्छन्, लाओसविरुद्धको पछिल्लो हार साह्रै नमज्जाको रह्यो । अब त्यो टिमभन्दा धेरै बलियो भियतनामको सामना गर्दा आफ्नो खेलमा पनि उत्तिकै सुधार आवश्यक हुनेछ । उनी भन्छन्, ‘हामी भियतनामको सामना गर्न अगाडि उत्साही छौं । हामीले खेल्ने भनेकै तीन अंकलाई हो, होइन भने एक अंकका लागि ।’
What you should know
काठमाडौँ — बाटो पक्कै पनि गाह्रो छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक म्याट रस मान्छन्, सम्भावना उत्तिकै छ । नेपालले एसिया कप छनोटको तेस्रो चरणमा बुधबार भियतनामको सामना गर्दै छ । समूह ‘एफ’ यो खेल हुनेछ, होचि मिन्हको गो डाउ स्टेडियममा । नेपाल दुई खेलका लागि अहिले दक्षिण पूर्वी एसियाली देशमा छ । यो भियतनामको घरको खेल हुनेछ ।
त्यसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका अस्ट्रेलियाली प्रशिक्षक रस मान्छन्, लाओसविरुद्धको पछिल्लो हार साह्रै नमज्जाको रह्यो । अब त्यो टिमभन्दा धेरै बलियो भियतनामको सामना गर्दा आफ्नो खेलमा पनि उत्तिकै सुधार आवश्यक हुनेछ । उनी भन्छन्, ‘हामी भियतनामको सामना गर्न अगाडि उत्साही छौं । हामीले खेल्ने भनेकै तीन अंकलाई हो, होइन भने एक अंकका लागि ।’
उनले अगाडि भने, ‘यत्तिको प्रतियोगिता कोही पनि खेलाडीका लागि सपना हो अनि यी खेलाडीका लागि राम्रो प्रदर्शन गरेर आफूलाई सिद्ध गर्न अवसर पनि । हामीसँग अहिले पनि एसिया कपमा छनोट हुने सम्भावना कायम नै छ । यसका लागि टिमबाट माथिल्लो स्तरको प्रदर्शन भने आवश्यक हुन्छ ।’ नेपालका कप्तान किरण लिम्बू पनि यो खेललाई लिएर उत्साही छन् ।
किरणले भनेका छन्, ‘भियनतामको सामना गर्दा हामी साँच्चै उत्साही छौं । हाम्रो पूरा टिमले यो खेलका लागि तयारी गरेको छ । हामी सुखद र सकारात्मक नतिजासँगै घर फर्किन चाहन्छौं । हामीलाई के थाहा छ भने भियतनाम बलियो टिम हो र विशेषतः उसको आक्रमण सटिक हुने गर्छ । हामी पनि राम्रो प्रदर्शनका लागि प्रयास गर्ने बाटोमै हुनेछौं, आफू अनुकूल नतिजाका लागि ।’
भियतनामी युवा टिम
भियतनामका दक्षिण कोरियाली प्रशिक्षक किम साङ–सिकले नेपालका लागि २३ सदस्यीय त्यस्तो टिम छनोट गरेको छ, जसलाई त्यहाँको फुटबल इतिहासमै सबैभन्दा युवा मानिएको छ । उनै प्रशिक्षकले टिममा त्यस्ता सात खेलाडीलाई समावेश गरेको छ, जसले पछिल्लो समय यू–२३ टिमबाट खेलेका थिए । उनीहरू सबैका लागि राष्ट्रिय टिमबाट खेल्ने अवसर पहिलो पटक बन्दैछ ।
प्रशिक्षक साङ–सिकको योजना हो, भियतनामी टिममा अनुभवी र युवा खेलाडीको सही मिश्रण गर्ने । समूह ‘एफ’ मा मलेसियाको २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ । टोलीको पछाडि भियतनाम र लाओस दुवैको समान ३ अंक छ । त्यसपछि नेपाल अंकविहीन छ । बुधबार नै समूहको अर्को खेलमा लाओस र मलेसिया भियनटाइनमा भिड्ने छन् ।
जितलाई २२ वर्षको पर्खाइ
नेपाली फुटबलमा कुनै एक खासमा सबैभन्दा खराब प्रदर्शनको इतिहास छ भने त्यो एसिया कप छनोट नै रहेको छ । एसिया कप छनोटका खेलमा नेपाल बिरलै मात्र जित्छ अनि बिरलै मात्र गोल गर्छ । एकपछि अर्को हारको क्रम भन्नु नै एसिया कप छनोट हो नेपाली राष्ट्रिय टिमका लागि । भियतनामविरुद्ध आफूअनुकूल नतिजा निकाल्न पनि नेपालले इतिहासकै एक उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्नेछ ।
नेपालले एसिया कप छनोटको ४१ वर्ष लामो इतिहासमा अहिलेसम्म २ जितमात्र हात पारेको छ, यदि त्यस खेलबाट विश्वकप छनोट पनि मानिएको प्रतिस्पर्धा निकाल्ने हो भने । ठ्याक्कै एसिया कप छनोट भनेर खेलिएका खेलमध्ये नेपालको दोस्रो र अन्तिम जित अफगानिस्तानविरुद्ध थियो । त्यो सन् २००३ मा हो । यस्तोमा नेपाल एसिया कप छनोटकै जित भनेर पर्खिरहेको २२ वर्ष भइसकेको छ ।
