नेपाली क्रिकेट टिमको तस्बिर अंकित हुलाक टिकटमा बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य–सचिव टंकलाल घिसिङले प्रथमदिवसीय टाँचा लगाएका हुन् ।
काठमाडौँ — हुलाक सेवा विभागले नेपाली महिला तथा पुरुष क्रिकेट टिमको हुलाक टिकट प्रकाशन गरेको छ ।
नेपाली क्रिकेट टिमको तस्बिर अंकित हुलाक टिकटमा बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य–सचिव टंकलाल घिसिङले प्रथमदिवसीय टाँचा लगाएका हुन् ।
विश्व हुलाक दिवसको अवसरमा आईसीसी ट्वान्टी–२० विश्वकप टिम र आईसीसी यू–१९ महिला विश्वकप प्रतियोगिता खेलेका खेलाडीको तस्बिर अंकित हुलाक प्रकाशन गरिएको हो । बुधबार हुलाक सेवा विभागमा उक्त टिकटको प्रदर्शनी गरिएको छ ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ चैत १७ गतेको निर्णयअनुसार १० रुपैयाँ दरको ५ लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।
नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा भएको नवौं सस्करणको ट्वान्टी–२० विश्वकप खेलेको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो ।
यस्तै महिला क्रिकेटको उमेर समूहअन्तर्गत आईसीसी यू–१९ विश्वकपमा नेपाली टिमले सहभागिता जनाएको थियो । यसअघि पनि ओलम्पिकजस्ता ठूलो खेलकुद प्रतियोगिता सहभागिताका अवसरमा हुलाक टिकट प्रकाशन गरिएको छ ।
