आयोजक एलजी एसोसिएसन (सेतो) र देवदह ब्वाइज, रुपन्देही सेमीफाइनलमा प्रवेश गरेका छन् ।
पाल्पा — प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको क्वाटरफाइनल खेलबाट आयोजक एलजी एसोसिएसन (सेतो) र देवदह ब्वाइज, रुपन्देही सेमीफाइनलमा प्रवेश गरेका छन् ।
रामपुर नगरपालिका–५, मेटरी स्थित खेलमैदानमा भएको क्वाटरफाइनलमा आयोजक एलजी (सेतो) ले भगवती फुटबल क्लब पाल्पालाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा एलजी (सेतो) का सन्तोष गोङबा म्यान अफ दि म्याच भए ।
त्यस्तै अर्को क्वाटरफाइनलमा देवदह ब्वायज रुपन्देहीले आयोजकको अर्को टोली एलजी एसोसिएसन (रातो) लाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा देवदहका दिनेश गुरुङ म्यान अफ दि म्याच बनेको खेल संयोजक आदेश रानाले जानकारी दिए ।
बुधबार नै यसअघि भएको खेलमा अन्तर्गत स्याङ्जा यूथ क्लबलाई २–० ले पछि पार्दै वालिङ युनाइटेड विजयी भएको छ । प्रतियोगितामा वालिङ युनाइटेडका कृष्ण आले प्लेयर अफ दि म्याच भएका छन् । यस्तै मार्दीखोला युनाइटेड क्लबले गोर्खा ब्यायज क्लबलाई २–० ले पछि पारेको छ । प्रतियोगितामा मार्दीखोलाका सनम विक प्लेयर अफ दि म्याच भए ।
