अन्तिम खेलमा विजय हात पार्दै नेपाललाई मलेसियाविरुद्धको शृंखला

चौथो खेलमा बराबरी गरेपछि अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रोपटक टी–२० अन्तर्राष्ट्रिय शृंखला आफ्नो नाममा लेखाएको छ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Nepal won the series against Malaysia in the last match

What you should know

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेको छ । नेपालले बुधबार भएको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगैं शृंखला कब्जा गरेको हो ।

नेपालले अघिल्लो दिन चौथो खेलमा ६ विकेटको विजय हात पार्दै शृंखला २–२ को बराबरीमा ल्याएको थियो । नेपालले सन् २०२३ मा पनि मलेसिया भ्रमणमा खेलिएको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले नै जितेको थियो ।

बुधबार टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७  विकेट गुमाई १ सय ३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् । उनले ४६ बल खेलेकी थिइन् । माहिराहले १९ र ऐइना हमिजाह हासिमले १५ रन बनाइन् ।

नेपालबाट कविता कुँवरले ३ विकेट लिएकी थिइन । उनले तीनै विकेट अन्तिम ओभरमा लिएकी थिइन् । सोक्रममा उनले कुल ४ ओभरमा १६ रन खर्चिन । राजमती ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ र रचना चौधरीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन ।

नेपालले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो । उपकप्तान पूजा महतोले सर्वाधिक २४ बलमा २३ रन बनाई आउट भइन् । नेपाललाई विजयका लागि २ रन आवश्यक भएको समयमा उनी नुर आल्याको बलमा बोल्ड भइन् । पूर्व कप्तान रुविना क्षेत्री १५ बलमा १५ र कविता जोशी १ रनमा अविजित रहिन् ।

सम्झना खड्का ११, रुबि पोदार २५ बलमा २६, कविता कुँवर १९ बलमा १४, इन्दु बर्मा १३ बलमा ८ रन बनाई आउट भइन् । मलेसियाबाट आल्या, माहिराह र हासिमले १–१ विकेट लिइन् । 

कान्तिपुर

Link copied successfully