फेरि पनि प्रश्न त्यही नै हुनेछ– ‘के नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुग्ला ?’
What you should know
काठमाडौँ — नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुग्ला ? यसको जवाफ बुधबारदेखि ओमानको अल एमेरातमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटले मात्र दिन सक्छ ।
नेपालसहित ९ राष्ट्रले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष ३ टोली भारत र श्रीलंकाले फेब्रुअरी–मार्चमा संयुक्त आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । नेपाल, यूएईलाई ट्वान्टी–२० विश्वकपमा पुग्ने सम्भावित टोलीको रूपमा हेरिएको छ । त्यो भएमा नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने छ ।
एसिया क्षेत्रको छनोटमा कुन स्तरसम्मको प्रतिस्पर्धा हुन्छ भन्ने त्यो छनोटमा खेल्ने टोलीले मात्र अनुभव गर्न सक्छ । छनोट चरणका खेलहरू निकै क्रुर हुन्छ र एउटै हार पनि प्रतियोगिताबाट बाहिरिने कारण बन्न सक्छ । सन् २०२२ मा ओमानमै भएको ग्लोबल छनोटमा नेपालले यस्तै नियति भोग्नुपरेको थियो । यो क्षेत्रमा प्रतिस्पर्धा गर्न भन्दा विश्वकपमा खेल्न सजिलो मान्ने किसिमको प्रतिस्पर्धा हुने गरेको छ ।
गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा छनोट हुन नसक्ने एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण राष्ट्र जिम्बावे थियो । जसको कारण जिम्बावेले यसपालि अफ्रिकाको क्षेत्रीय छनोट खेल्नुपरेको हो । त्यही जिम्बावेले भर्खरै अफ्रिकी क्षेत्रको छनोट फाइनलमा नामिबियालाई पराजित गरी भारत र श्रीलंकाका लागि स्थान पक्का गरिसकेको छ ।
गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकपमा खेलेकै कारण नेपाल, ओमान र पपुवा न्युगिनीले यसपालि क्षेत्रीय छनोट प्रतियोगिता खेल्नुपरेन । ओमान र नेपाल एसिया क्षेत्रको फाइनलमा पुग्दै र पपुवा न्युगिनी इस्ट एसिया प्यासिफिक च्याम्पियन बन्दै विश्वकप पुगेका थिए । यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै बनाइएको छ । यहाँबाट ३ टोली विश्वकप पुग्नेछन् ।
यूएई पछिल्लो एसिया छनोटको सेमिफाइनलमा नेपालसँग पराजित भएर विश्वकपमा पुग्न असफल भएको थियो । टोलीले सोही कारण एसिया क्षेत्रको क्षेत्रीय छनोट खेल्नुपरेको थियो । एसिया छनोट ‘बी’ बाट यूएई र कतार तथा ‘ए’ बाट मलेसिया र कुवेत छनोट चरण पार गरेर ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा आइपुगेका हुन् ।
सहभागी ९ राष्ट्रलाई एसिया–इस्ट एसिया प्यासिफिक छनोटको तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा पुग्ने टोलीमा समूह चरणमै खेलिसकेको टोलीसँग खेल्नुपर्ने छैन । सहभागी टोलीले सुपर सिक्समा ४–४ खेल खेल्नेछन् र शीर्ष तीन टोली विश्वकपमा पुग्नेछन् ।
कस्तो छ समूह चरण ?
समूह ‘ए’ : मलेसिया, कतार र यूएई
समूह ‘बी’ : नेपाल, कुवेत र जापान
समूह ‘सी’ : ओमान, पपुवा न्युगिनी र सामोओ
जापानी टिम इस्ट एसिया प्यासिफिक ‘बी’ क्षेत्रको छनोट विजेता भएर ओमान पुगेको हो । दक्षिण कोरियामा गत वर्ष नै भएको ४ राष्ट्रसम्मिलित छनोटमा जापानले डबल राउन्ड रोबिनको सबै ६ खेल जितेको थियो ।
सामोओले गत वर्ष आफ्नै भूमिमा भएको फाइदा उठाएको थियो । इस्ट एसिया प्यासिफिक ‘ए’ क्षेत्रको छनोट विजेता बन्नेक्रममा सामोओले ६ मध्ये ४ खेल जितेको थियो भने २ मा पराजय भोगेको थियो । कुक आइल्यान्ड्सको पनि नतिजा यही थियो तर टोली नेट रनरेटमा सामोओभन्दा पछाडि रह्यो ।
ओमानमा पूर्वसुपरस्टार
न्युजिल्यान्डका पूर्वकप्तान रोस टेलर ओमानमा हुने ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटका लागि मैदानमा उत्रँदै छन् । ४ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भएका टेलरले पुनरागमन गर्न लागेका हुन् । तर, उनले न्युजिल्यान्डबाट नभई सामोओबाट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दै छन् । सामोओलाई ट्वान्टी–२० विश्वकपमा पुर्याउने लक्ष्यसहित टेलरले संन्यास फिर्ता लिएका हुन् ।
टेलर यसलाई आफ्नो आमाको देशबाट खेल्न पाउनु ठूलो सम्मान भएको मान्छन् । टेलरले न्युजिल्यान्डबाट १ सय १२ टेस्टसहित कुल ४ सय ५० खेल खेल्दै १८ हजारभन्दा बढी रन बनाएका छन् । सबै खाले ट्वान्टी–२० मा उनको स्ट्राइक रेट १३० भन्दा माथि रहेको छ । ४१ वर्षे टेलरले ओमानमा मलेसियाविरुद्धको पहिलो अभ्यास खेलमा उत्रँदै पुनरागमन गरेका थिए । सामोओ १४ रनले पराजित भएको खेलमा टेलरले ८ बलमा ४ रनमात्र बनाउन सकेका थिए । सामोओ र नेपाल दुवै समूह चरणबाट अगाडि बढेमा यी दुई राष्ट्रको भेट सुपर सिक्समा हुनेछ ।
विश्वकप पुगिसकेका राष्ट्र आयोजक : भारत र श्रीलंका
ट्वान्टी–२० विश्वकपबाट स्थान बनाएकाहरू : अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज
आईसीसी वरीयताबाट छनोट भएकाहरू : आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान
क्षेत्रीय छनोट पार गरेकाहरू :
अमेरिकी क्षेत्र : क्यानडा
युरोप : नेदरल्यान्ड्स र इटाली
अफ्रिका : जिम्बावे र नामिबिया
आफ्नै भूमिमा भएको विश्वकपको दोस्रो चरणमा पुगेपछि अमेरिका आउने विश्वकपका लागि सोझै छनोट भएको थियो । यसले क्यानडाको पनि भाग्य खोलिदियो । अमेरिकाको अनुपस्थितिमा अमेरिकी छनोटमा खासै प्रतिस्पर्धा गर्नु नपरेको क्यानडा लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुग्न सफल भयो ।
युरोपको छनोटमा भने ठूलो उतारचढाव रह्यो । इटाली पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुग्न सफल भयो । योक्रममा टोलीले एसोसिएटको बलियो टोलीमा रहँदै आएको स्कटल्यान्डलाई उछिनेको थियो । अस्ट्रेलियाबाट एसेज शृंखला खेलिसकेका जो बर्न्सको कप्तानीमा उत्रिएको इटालीले राउन्ड रोबिनको खेलमा स्कटल्यान्डमाथि १२ रनको महत्वपूर्ण विजय हात पारेको थियो, जुन इटालीलाई पहिलो पटक विश्वकप पुग्न निर्णायक बन्यो । नेदरल्यान्ड्स विजेता र इटाली उपविजेता बन्दै विश्वकप पुगेका हुन् । एसिया–इस्ट एसिया प्यासिफिक छनोटले ट्वान्टी–२० विश्वकपमा पुग्न बाँकी रहेको अन्तिम तीन टोलीको टुंगो लगाउने छ । फेरि पनि प्रश्न त्यही नै हुनेछ, के नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुग्ला ?
