एसिया कप छनोटको तेस्रो चरण खेल्न नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार भियतनामको होचिमिन सिटीतर्फ जाने
What you should know
काठमाडौँ — एसिया कप फुटबल २०२७ छनोटको तेस्रो चरणको समूह ‘एफ’ मा नेपाल चार टिममध्ये अन्तिम स्थानमा छ । अहिलेसम्म खेलेका दुवै खेलमा नेपाल पराजित छ । त्यसको अर्थ नेपाल अंकविहीन छ । जित्नैपर्ने लाओसविरुद्धको खेलमा पनि नेपाल पराजित भयो । तर, स्थिति अप्रत्यासित रूपमा के तयार भएको छ भने नेपालले आफ्नो अनुकूल बनाउन सक्छ । यो समूहका अरू दुई टिम मलेसिया र भियतनाम छन् ।
मलेसिया दुई खेल जितेर ६ अंकसहित शीर्षमा छ भने त्यसपछि भियतनाम ३ अंक लिएर दोस्रो स्थानमा छ । त्यसपछि लाओसको पनि ३ अंक नै छ । पछिल्लो समय नेपाली फुटबललाई कोही एक प्रतिद्वन्द्वीसँगको हारले पिरोलेको छ भने त्यो लाओसविरुद्ध नै हो । नेपालले मलेसियाविरुद्धको पहिलो खेल २–० ले गुमाएको थियो । त्यसपछि लाओससँग २–१ ले स्तब्ध भयो । लाओस त्यस्तो टिम थियो, जोसँग नेपाल यसअघि पराजित भएकै थिएन ।
अबको नयाँ स्थिति केभन्दा मलेसियालाई एसियाली फुटबल महासंघ (एएफसी) ले कारबाही गर्दै छ, अयोग्य खेलाडी खेलाएको आरोपमा । मलेसिया साँच्चै कारबाहीमा पर्यो भने नेपाललाई त्यस खेलबाट उल्टै ३ अंक प्राप्त हुनसक्छ । यस्तोमा नेपालसामु उत्साही हुने र अबका खेलमा राम्रो प्रदर्शन गर्ने आधार तयार हुनसक्छ । यही पृष्ठभूमिमा नेपाली राष्ट्रिय फुटबल टिमले भियतनामको सामना गर्दै छ र त्यसका लागि मंगलबार होचिमिन सिटीतर्फ जाँदै छ ।
नेपालले त्यहाँ दुई खेल खेल्नेछ, गो टाउ स्टेडियममा । पहिलो खेल हुनेछ बिहीबार । यो हुनेछ भियतनामको आफ्नो घरको खेल । त्यसपछि यिनै दुई टिम असोज २८ गते दोस्रो पटक भिड्नेछन् । यो भने नेपालको घरको खेल हुनेछ । दशरथ रंगशाला फिफा र एएफसीको खेलका लागि उपयुक्त नरहेको हुनाले नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । यो तथ्यले पनि नेपाली टिम निराश छ, किनभने टोलीले घरमा खेल्नुको फाइदा गुमाइरहेको छ ।
बलियो भियतनाम
पछिल्लो समय एसियाली फुटबलमा कुनै एक टिम राम्रो प्रगति गरेको छ भने त्यो भियतनाम पनि हो । सन् साठीको दशकमा भियतनामी फुटबल असाध्यै बलियो थियो । पछि केही ओरालो लाग्यो । सन् २००० यता भियतनामी फुटबल फेरि ब्युँझिने प्रयासमा छ । यसक्रममा भियतनाम दुईपल्ट एसिया कपमा पनि छनोट भइसकेको छ । दक्षिण पूर्वी देशमध्ये भियतनामी फुटबल माथिल्लो दर्जाको मानिन्छ । यसैले त भियतनाम आसियान च्याम्पियनसिप २०२४ को विजेता पनि हो ।
दक्षिण पूर्वी देशहरू सबैभन्दा ठूलो यो प्रतियोगिता भियतनामले तीनपल्ट जितेको छ । नेपालले भने भियतनाम नियमित खेल्न पाइरहने प्रतिद्वन्द्वी भने होइन । नेपाल र भियतनामबीच अहिलेसम्म दुई खेल भएको छ । यी दुवै खेल सन् २००३ को एसिया कप छनोटको दोस्रो चरणमा भएको थियो । त्यसमध्ये दक्षिण कोरियाको इन्चोनमा भएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो । त्यसपछि ओमानको मस्कटमा भएको दोस्रो लेगमा नेपाल २–० ले हारेको थियो ।
यस्तोमा नेपाल २२ वर्षपछि पहिलो पटक भियतनामको सामना गर्दै छ । नेपालका लागि त्यो एसिया कप छनोट सर्वथा बिर्सनलायक रहेको थियो । दक्षिण कोरिया र ओमान दुवै देशमा नेपालको प्रदर्शन निकै खराब थियो । नेपालले एकपछि अर्को फराकिलो गोलअन्तरको हार बेहोरेको थियो । नेपाली फुटबल इतिहासमा एसिया कप छनोटको यो दोस्रो चरण अहिलेसम्मकै सबैभन्दा खराब नतिजामध्ये एक रहेको छ । त्यसैले नेपालका लागि अहिले भियतनामको सामना गर्दा पुरानो इतिहास बिर्सेर खेलेकै राम्रो हुनेछ ।
फरक तयारी
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक म्याट रस भियतनामविरुद्धको खेललाई लिएर उत्साहित छन् । उनी यसका लागि भएको अहिलेसम्मको तयारीलाई फरक मान्छन् । एन्फाले सोमबार आयोजित प्रेस मिटमा प्रशिक्षक रसले भने, ‘यसपल्टको तयारी साँच्चै फरक रह्यो, किनभने अहिले हाम्रा अधिकांस खेलाडी बंगलादेश, माल्दिभ्स र कम्बोडियामा व्यावसायिक फुटबल खेलिरहेका छन् । त्यसैले किरण लिम्बू र लाकेन लिम्बू सिधै भितयनाम आउने छन् ।’
उनले थपे, ‘त्यसैले सुरुमा हामीले केही नयाँ खेलाडीलाई जाँचेका थियौं, तर अन्त्यमा पुरानै खेलाडीमाथि विश्वास गर्यौं । यसपल्टको तयारी यसै कारण फरक रह्यो । अहिलेको स्थितिलाई लिएर हामी उत्साही किन पनि छौं भन्दा मलेसियाविरुद्धको खेलको नतिजा उल्टिने छ । विश्वास गरौं, हामीलाई ३ अंक आउने छ । यस्तो भयो भने हामी पनि छनोटको दाबेदार हुन्छौं । त्यसैले भियतनामविरुद्धका दुई खेल निकै महत्त्वपूर्ण हुनेछ ।’
‘हामी आत्मविश्वासी पनि छौं, किनभने हामीले राम्रो तयारी गरेका छौं । भियतनामविरुद्ध हामीले आफ्नो खेल शैली र रणनीतिमा खासै परिवर्तन गर्ने छैनौं । अहिले हाम्रा खेलाडी टिम योजनासँग अभ्यस्त भइसकेका छन् । प्रशिक्षकका रूपमा म बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा हाम्रा खेलाडीको प्रदर्शनमा खुसी थिएँ । यही लयलाई हामी भियतनामविरुद्ध पनि कायम राख्न चाहन्छौं । भियतनामविरुद्ध हामी केही आक्रमण भएर खेल्नछौं,’ प्रशिक्षक रसले भने ।
अस्ट्रेलियाली प्रशिक्षक रसको दाबी थियो, ‘भियतनामविरुद्ध अंक जोड्नेमा हामी विश्वास गरिरहेका छौं । हाम्रा सबै खेलाडी फिट छन् । हाम्रा सबै खेलाडी शारीरिक र मानसिक दुवै रूपमा बलिया छन् । पछिल्लो केही साता हामीले राम्रो तयारी पनि गरेका छौं । पछिल्लो समय नेपाल धेरै उतारचढावबाट गुज्रेको छ । हामी फुटबलको माध्यमबाट सकारात्मक सन्देश दिन चाहन्छौं । नेपाली क्रिकेटले पछिल्लो पटक राम्रो गरेको छ, अब नेपाली फुटबलको पालो ।’
निकै महत्त्वको खेल
नेपाली टिमका सबैभन्दा सिनियर खेलाडी हुन्, रोहित चन्द । उनैले सोमबार नेपाली मिडियाको सामना गर्दै भने, ‘भियतनामविरुद्धको खेल निकै महत्त्वपूर्ण छ, समूहको स्थितिका आधारमा । हामीले यसका लागि तयारी पनि राम्रै गरेका छौं ।’ उनले खेलाडीको ‘म्याच–फिटनेस’ मा भने अलिकति समस्या रहेको हुनसक्ने दाबी गरे । उनले भियतनामविरुद्धको खेल कठिन हुने पनि माने र यसलाई ‘गाह्रो खुड्किलो’ को संज्ञा दिए ।
प्रतिद्वन्द्वीका रूपमा भियतनामको विश्लेषण गर्दै रोहितले भने, ‘मैले धेरै लामो समय दक्षिणपूर्वी एसियाको फुटबलमा खेलेको छु । त्यसैले मलाई भियतनामको फुटबलबारे हल्का जानकारी छ । उनीहरूले कसरी खेल्छन्, मलाई केही ज्ञान छ । त्यसअनुसार हामीले तयारी पनि गरेका छौं । मैदानमा हामीले शतप्रतिशत दिने नै छौं ।’ उनले नेपाली टिमको फरवार्डमा दबाब हुने स्थिति रहँदै आएको स्वीकार्दै भने, ‘हाम्रो हातमा जे जति छ, त्यसअनुसार यो क्षेत्रमा सुधार गर्न प्रयास भने गरिरहेकै छौं ।’
नेपाली टोली : अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, किरण लिम्बू (कप्तान), कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ ।
