प्यालेसको यात्रामा एभरटन बाधक

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेसको १८ खेलको अपराजित यात्रा टुंगियो

आश्विन २०, २०८२

एएफपी

Everton stumbling on trip to Palace

What you should know

लन्डन — एभरटनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसमाथि २–१ को सानदार जित निकालेको छ । प्यालेसले पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । अन्ततः प्यालेसको १८ खेलको अपराजित यात्रा टुंगिएको छ । 

प्यालेसले ३७ औं मिनेटमा डानियल मुनोजको गोलमा ३८ औं मिनेटमा अग्रता लिएको थियो । टोली ७६ औं मिनेटसम्म जिततर्फ अग्रसर देखिएको थियो । तर त्यही बेला प्यालेसले एभरटनलाई पेनाल्टीको अवसर दियो । त्यसमा इलिमन एडियेले गोल गरेका थिए । दोस्रो हाफको खेल इन्ज्युरी समयमा प्रवेश गरेयता तेस्रो मिनेटमा ज्याक ग्रेलिसले विजयी गोल गरे र त्यो धेरै हदसम्म भाग्यले साथ दिएको गोल रह्यो ।

यो जितपछि एभरटनको ७ खेलबाट ११ अंक भएको छ । टोली सातौं स्थानमा उक्लेको छ । हारका बावजुत प्यालेस १२ अंकसहित पाँचौं स्थानमा रह्यो । प्यालेसले यो खेल जितेको भए दोस्रो स्थानमा उक्लिने थियो । ग्रेलिसले एभरटन आएयता गोल गरेको यो पहिलो पटक हो । ‘पहिलो गोलका लागि म खुसी छु । त्यो भन्दा टिमको जित महत्त्वपूर्ण हो ।’ 

न्युकासल युनाइटेडले भने सेन्ट जेम्स पार्कमा नटिङ्घम फरेस्टलाई २–० ले हरायो । टोलीको दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । ब्रुनो गुइमारेसले ५८ औं मिनेटमा गोलको खाता खोलेपछि निक वाल्टमेडले ८४ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपेका थिए । यो जितपछि न्युकासलको ९ अंक भएको छ । टोली ११ औं स्थानमा उक्लेको छ ।

न्युकासलको यो लिगमा लगातार दोस्रो जित हो । फरेस्ट भने ५ अंकमै सीमित छ । टिम रेलिगेसन क्षेत्रबाट ठीक माथि १७ औं स्थानमा छ । हारले फरेस्टका नयाँ प्रशिक्षक एन्गे पोस्टेकोग्लु दबाब आएका छन् । क्लब सम्हालेयता उनी पहिलो जितका लागि संघर्षरत छन् । खेलपछि उनले भने, ‘हामीले दोस्रो हाफमा आफ्नो खेलको गति बढाएका थियौं । तर निर्णायक मोडका लागि सफल रहेनौं । हामीले मौका त सिर्जना गर्न सक्यौं, तर त्यसबाट फाइदा लिन सकेनौं ।’ 

यो सिजन राम्रो प्रदर्शनका लागि संघर्षरत उल्भसले अर्को खेलमा ब्राइटनसँग १–१ को बराबरी खेल्यो । यसले टोलीमाथि दबाब बढेको छ । लिगका सात खेल खेलिसक्दा उल्भसले अहिलेसम्म जित निकाल्न सकेको छैन । २ अंकसहित सबैभन्दा पुछारमा छ । ब्राइटन भने ९ अंकमा १२ औं स्थानमा रह्यो । उल्भस २१ औं मिनेटमा बार्ट भेरब्रगनको आत्मघाती गोलले अगाडि रह्यो । तर खेल सकिन चार मिनेट अगाडि ज्याक पाउल भानले गोल गरेपछि ब्राइटन उल्भसलाई जितबाट वञ्चित राख्न सफल रह्यो । 

एएफपी

Link copied successfully