‘मोटर स्पोर्ट्सलाई अब व्यावसायिक बनाइनुपर्छ’

उनले गत साता श्रीलंकाको कोलम्बोस्थित श्रीलंका कार्टिङ सर्किटमा भएको उक्त च्याम्पियनसिपको अटो जिमखाना (पुरुष एकल) विधामा आशिषले स्वर्ण जितेका हुन् । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जितेको हो ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

'Motor sports must be commercialized now'

What you should know

काठमाडौँ — एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आशिष भारतीले नेपाली मोटर स्पोर्ट्सलाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने बेला आएको बताएका छन् ।

उनले गत साता श्रीलंकाको कोलम्बोस्थित श्रीलंका कार्टिङ सर्किटमा भएको उक्त च्याम्पियनसिपको अटो जिमखाना (पुरुष एकल) विधामा आशिषले स्वर्ण जितेका हुन् । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जितेको हो ।

ऐतिहासिक स्वर्ण विजेता आशिषले भनेका छन्, ‘यो जित मेरो मात्र होइन, सम्पूर्ण टिम र नेपाली मोटर स्पोर्ट्सको सामूहिक संघर्षको फल हो । मैले दशकभन्दा बढी समयदेखि यसकै लागि मिहिनेत गरिरहेको थिएँ । अब नेपालमा मोटर स्पोर्ट्सलाई अझै व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने बेला आएको छ, किनकि अब नेपाली मोटर स्पोर्ट्स खेल्न–हेर्न मात्र होइन, जित्न पनि हो ।’

च्याम्पियनसिपमा १८ राष्ट्रका २ सय ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ललितपुरका ३१ वर्षे आशिषको यस सफतलाको यात्रा थप प्रेरणादायी रहेको छ । पहिलो दिन अभ्यासमा उनी १६ औं स्थानमा थिए । दोस्रो दिन अर्को इभेन्ट एसिया अटो जिमखाना च्याम्पियनसिपमा उनी पाँचौं स्थानमा पुगे र त्यसपछि उनी मुख्य प्रतियोगितामा प्रवेश गरेका थिए । अन्तिम दिन मुख्य प्रतिस्पर्धाको छनोट चरणमा उनी दोस्रो स्थानमा रहे । अन्ततः शीर्ष आठको फाइनलमा सबै प्रतिस्पर्धी पछि पार्दै स्वर्ण जित्न सफल भए ।

'Motor sports must be commercialized now'

च्याम्पियनसिपमा नेपालले अस्ट्रेलिया र जापानसँगै एक–एक स्वर्ण जित्दै संयुक्त सातौं स्थान सुरक्षित गरेको थियो । पदक तालिकामा फिलिपिन्स शीर्षस्थानमा रह्यो । टोलीले २ स्वर्ण, २ रजत र २  कांस्य जितेको थियो । श्रीलंका र हङकङले २–२ स्वर्णसहित क्रसशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।

मलेसिया, भारत र किर्गिस्तानले समान एक स्वर्ण जित्दै क्रसशः चौथो, पाँचौं र छैटौं स्थानमा रहे । चाइनिज ताइपेइ, पाकिस्तान, उज्वेकिस्तान र दक्षिण कोरियाले रजत र कांस्य पदकमै चित्त बुझाए । चीन, सिगापुर, माल्दिभ्स र बंगलादेश भने पदकविहीन भए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव तथा नेपाली टिम म्यानेजर आशिष रौनियारले भारतीले प्राप्त गरेको ऐतिहासिक उपलब्धि साझा मिहिनेतको परिणाम भएको बताए । उनले भने, ‘हाम्रो सपना साकार भएको क्षण हो । उनको स्वर्णले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मात्र होइन जित्न पनि सक्षम छ भन्ने प्रमाणित गरेको छ । खेलाडीलाई उचित तालिम, पूर्वाधार र स्रोत उपलब्ध गराउन सकियो भने आगामी दिनमा एसियामा मात्रै नभई वर्ल्ड च्याम्पियनसिपमै पदक ल्याउन सकिन्छ ।’

प्रत्येक दुई वर्षमा एसिया प्यासिफिक क्षेत्रका देशबीच हुने एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको यस दोस्रो संस्मरणमा कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम, अटो जिमखाना, क्रस–कार अटोक्स र ई–स्पोर्ट्स गरी ६ विधा प्रतिस्पर्धा भएको थियो । नेपालले अटो जिमखानामा तीन, क्रसकार–अटोक्रसमा दुई र ई–स्पोर्ट्समा एक गरी ६ खेलाडी सहभागी गराएको थियो । अधिकांस खेलाडीले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय अनुभवमा सशक्त उपस्थिति जनाए ।

मोटरसाइकल रेसिङका राष्ट्रिय च्याम्पियन राजकुमार कार्कीले पहिलो पटक चारपाङ्ग्रे प्रतिस्पर्धामा हात हाल्दै अन्तर्राष्ट्रिय डेब्यू गरे, यद्यपि शीर्ष १६ मा प्रवेश गर्न सकेनन् । महिला अटो जिमखाना एकलमा विपास्ना तामाङले दसौं स्थान सुरक्षित गरिन् । उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता नै नेपालमा महिला मोटर स्पोर्ट्सका लागि प्रेरणा बन्ने आशा नासा नेपालको छ ।

जयप्रताप मास्के र रविन सुनवारका लागि पनि क्रसकार–अटोक्रस पहिलो अन्तर्राष्ट्रिय अनुभव हो । उनीहरूले व्यावसायिक र्याली चालकसँग प्रतिस्पर्धा गर्दै सम्मानजनक प्रदर्शन गरे । अन्तर्राष्ट्रिय क्रसकार विधामा पहिलो नेपाली सहभागिता रहेकामा जयले सेमिफाइनल राउन्डमा पुगे । उनी १२ औं स्थानमा रहे । सेमिफाइनल पुग्न नसके पनि रविनको पनि पहिलो अन्तर्राष्ट्रिय  ट्र्याकको ढोका खुलेको छ ।

'Motor sports must be commercialized now'

अर्का सहभागी रोशन अधिकारीले ई–स्पोर्ट्समा नेपालको प्रतिनिधित्व गरे । रोजगारीको सिलसिलामा हाल अस्ट्रेलियामा रहेका उनको सहभागिताले मोटर स्पोर्ट्सभित्रको सिम–रेसिङ लोकप्रिय र सहज विधामा नेपाली खेलाडीबाट आगामी दिनमा पदक आस गर्न सकिने विश्वास छ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) र अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम) अन्तर्गत सञ्चालन हुने यस्ता खेलमा नेपाल १६ वर्षअघि मात्रै संस्थागत रूपमा प्रवेश गरेको हो ।

सन् २००८ मा स्थापना भएको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले यस अवधिमा विभिन्न राष्ट्रिय प्रतियोगिता, तालिम, पूर्वाधार विकास र युवा आकर्षण कार्यक्रममार्फत मोटर स्पोर्ट्स स्थापित गर्न लागिरहेको छ । नेपालमा अत्याधुनिक मोटर स्पोर्ट्स ट्रयाक वा विश्वस्तरको सुविधा नभएको अवस्थामा यो सफलता प्राप्त हुनु ठूलो उपलब्धि भएको नासाको दाबी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully