नेपालको जितसँगै सिरिज १–१ को बराबरीमा

पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

With the victory of Nepal, the series is tied at 1-1

काठमाडौँ — नेपालले दोस्रो इन्टरनेसनल वुमेन्स ट्वान्टी ट्वान्टीमा शनिबार मलेसियालाई छ विकेटले पराजित गरेको छ र यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । मलेसियाले पहिलो खेल जितेसँगै अब नेपाल सिरिजमा फर्केको हो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेटमा ९१ रन बनाएको थियो । त्यसमा ओपनर आइना हमिज हसिमले ६३ बलको सामना गर्दै ५० रन बनाइन् । उनले पाँच चौका प्रहार गरिन् ।

उनको यो पहिलो ट्वान्टी ट्वान्टी अर्धशतक हो । जवाफमा नेपाल १६.२ ओभरमा चार विकेट गुमाएर ९३ रन बनाएको हो । नेपालले सुरुकै दुई बलमा दुई विकेट गुमाए पनि यो जित निकालेको हो ।

नेपालका लागि पूजा महतोले ३९ बलमा ३९ रन नै बनाइन । यस्तै कप्तान इन्दु बर्माले २१ बलमा २७ रन बनाइन् र उनले नै विजयी चौका प्रहार गरिन् । अब सिरिजको तेस्रो खेल आइतबार हुनेछ । 

कान्तिपुर

Link copied successfully