वेस्ट इन्डिजमाथि भारतको इनिङ्स अन्तरको जित

टेस्टको तेस्रो दिन बिहान भारतले थप ब्याटिङ गर्न चाहेन र पाँच विकेट गुमाएर ३ सय ४८ रनमै आफ्नो पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

India win by an innings over West Indies

काठमाडौँ — भारतले पहिलो टेस्टमा वेस्ट इन्डिजलाई शनिबार एक इनिङ्स र १ सय ४० रनले पराजित गरेको छ । 

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा १ सय ४६ रनमा अलआउट भएपछि भारतको सजिलो जित सम्भव भएको हो ।

दुई दिन भन्दा बढी समयको खेल बाँकी छँदै प्राप्त जितपछि भारतले दुई टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । टेस्टको तेस्रो दिन बिहान भारतले थप ब्याटिङ गर्न चाहेन र पाँच विकेट गुमाएर ३ सय ४८ रनमै आफ्नो पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्समा १ सय ६२ रन मात्र बनाउन सकेको थियो । पाहुना टिमको दोस्रो इनिङ्स ४५.१ ओभर मात्रै चलेको थियो । त्यसमा जस्नि ग्रेभिसको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

यस्तै जेडन सेल्सले २२ रन बनाए । भारतीय बलरमध्ये रविन्द्र जडेजाले चार विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे । उनले भारतका लागि शतक पनि बनाएका थिए । मोहम्मद सिराजले तीन तथा कुलदीप यादवले दुई विकेट हात पारे । अब दोस्रो तथा अन्तिम टेस्ट शुक्रबार नयाँ दिल्लीमा सुरु हुनेछ ।

कान्तिपुर

Link copied successfully