शारजहाँ र नेपाली क्रिकेट

सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय आयोजना गरेको ‘आइकोनिक’ शारजहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली क्रिकेटका थुप्रै स्मरण रहेका छन्, वेस्ट इन्डिजमाथि शनिबार नेपालले शारजहाँमा अर्को स्मरणीय नतिजा निकाल्यो 

आश्विन १३, २०८२

विनोद पाण्डे

Shar Jahan and Nepali Cricket

काठमाडौँ — नेपाली टोलीको व्यवस्थापक भएर एक पटक प्रदीप कार्की यूएईको ‘आइकोनिक’ क्रिकेट मैदान शारजहाँ पुगेका थिए । यो सन् २००४ को प्रसंग हो, जतिखेर नेपाल प्रथम श्रेणीको क्रिकेटमा पाइला टेक्ने क्रममा थियो । बानेश्वर हाइटबाट घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाएका अलराउन्डर कार्कीले शारजहाँ क्रिकेटको अर्थ राम्रोसँग बुझ्नु स्वाभाविक नै थियो ।

पाकिस्तानका जावेद मियादादले विजयका लागि अन्तिम बलमा ४ रन चाहिने अवस्थामा १९८६ मा भारतका चेतन शर्मालाई छक्का प्रहार गरेर सनसनीपूर्ण विजय दिलाएपछि शारजहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको चर्चा सुरु भएको थियो । भारतका सचिन तेन्दुलकरले १९९८ मा शारजहाँमा अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटकै अविश्वसनीय इनिङ्स खेलेका थिए ।

यस्तो महत्त्व बोकेको शारजहाँ पुग्नेबित्तिकै कार्कीले मैदानको बीचमा पुगेर पिचलाई ढोगेका थिए । तर खेल्ने टोलीका कप्तान र प्रशिक्षकबाहेक अन्य पिचको छेउछाउ जान नपाउने प्रावधान हुन्छ । त्यसैले कार्कीलाई म्याच रेफ्रीले सचेत गराएका थिए । कार्की यो क्षण सम्झँदा झनै रोमाञ्चित हुन्छ ।

त्यो क्षणको २१ वर्षपछि नेपाली क्रिकेटले आफ्ना समर्थकलाई अझ रोमाञ्चित र उत्साहित बनाएको छ । नेपालले शनिबार शारजहाँमै दुई पटकको ट्वान्टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो । टेस्ट मान्यता प्राप्ट राष्ट्रविरुद्ध नेपालको यो पहिलो विजय थियो । वेस्ट इन्डिजसँग नेपाल तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ । नेपालले पहिलो पटक पूर्ण मान्यता राष्ट्रविरुद्ध शृंखला खेलिरहँदा यो सफलता शारजहाँमा हात पारेको हो ।

वेस्ट इन्डिजसँगको विजयले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक २ सय ५५ खेल आयोजना गरिसकेको शारजहाँमा नेपाली क्रिकेटसँग जोडिएको पछिल्लो स्मरणीय खेल हो । यसअघि नेपालले शारजहाँमा बटुलेको केही विशेष क्षणहरू :

नेपाली क्रिकेट टोलीको पहिलो लाइभ टेलिभिजन खेल

पवन अग्रवालको कप्तानीमा रहेको नेपाली टोली यूएईमा सन् २००० को एसीसी ट्रफी खेल्दै थियो । पहिलो खेलमा गणेश शाहीको शतकका बाबजुद यूएईसँग शारजहाँमा नेपालले १ विकेटको हार बेहोरेको थियो । नेपालले दोस्रो खेलमा जापानलाई ७ विकेटले पराजित गरेको थियो । नेपाल र माल्दिभ्स समूह चरणको अन्तिम खेलमा भिडिरहेका थिए र त्यस खेलमा विजय हात पार्ने टोली सेमिफाइनलमा पुग्थ्यो । नेपाल यसअघिको दुई एसीसी ट्रफीको समूह चरणबाटै बाहिरिएको थियो ।

पहिलो पटक एसीसी ट्रफीको सेमिफाइलनमा पुग्ने आशामा रहेको नेपाललाई शारजहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा माल्दिभ्सले ५० ओभरमा ८ विकेट गुमाई १ सय ९१ रन प्रहार गरिदियो । त्यो समयमा यो निकै ठूलो स्कोर थियो । तर किरण अग्रवालले १ सय ३० बलमा ९१ रन बनाएपछि नेपालले ७ बल अगाडि लक्ष्य पूरा गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । राजु खड्काले २००३ मा भुटानविरुद्ध शतक बनाउनु अगाडिसम्म किरणको स्कोर नेपाली राष्ट्रिय टोलीका खेलाडीको व्यक्तिगत उच्च स्कोरमा रहिरह्यो ।

नेपालको सेमिफाइनल भेट हङकङसँग भएको थियो । प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गरेको थियो, त्यस अर्थमा नेपालले हङकङसँग खेलेको खेल नेपाली क्रिकेटको हकमा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको पहिलो खेल थियो । नेपालमै सन् १९९८ मा भएको दोस्रो एसीसी ट्रफीको सेमिफाइनल खेल पनि स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गरेको थियो, तर नेपाल सेमिफाइनलसम्म पुग्न सकेको थिएन ।

महबुब आलमले सुरुआतमै राहुल शर्माको क्याच छाड्न पुगे । राहुलले त्यसको फाइदा उठाउँदै १ सय ३६ बलमा अविजित १ सय ४५ रन बनाएपछि हङकङले निर्धारित ५० ओभरमा २६८–३ को स्कोर बनाएको थियो । जवाफमा ८९ रनमै अलआउट भएपछि नेपालले १ सय ७९ रनको हार बेहोरेको थियो ।

शरदको शतक

पारस खड्का, शरद भेषावकर, राज श्रेष्ठ, पवन दास, महेश क्षेत्री, बन्टु बटाजु, सुनील जैन, रवि थापा, इरफान सिद्धिकी, सुशन श्रेष्ठलगायत खेलाडीले उमेर समूहको पहिलो प्रतियोगिता यूएईमा खेलेका थिए । प्रतियोगिता थियो, यू–१५ एसिया कप २००२ । नेपालले प्रतियोगिताका खेलहरू अबुधाबी, दुबईसहित शारजहाँमा खेलेको थियो । शारजहाँमा एक मात्र खेल कुवेतसँग खेल्ने क्रममा शरदले शतक प्रहार गरेका थिए ।

शरदले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको आगमन कतारविरुद्ध १ सय ६ रन बनाउँदै दिएका थिए । उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको त्यतिखेर यो केवल दोस्रो शतक थियो । मोनिक श्रेष्ठले अघिल्लो वर्ष नै बंगलादेशमा एसीसी यू–१७ प्रतियोगितामा शतक बनाइसकेका थिए । शरदले आफ्नो इनिङ्समा कुनै मौका नदिई १ सय २ बल खेली १३ चौका प्रहार गरेका थिए । प्रशिक्षक रोय डायस शरद, पारससहितको नेपाली टोलीबाट निकै प्रभावित भएको सुनाउँथे । यो टोलीका केही खेलाडीलाई समेट्दै नेपाली क्रिकेट टोलीले लामो यात्रा तय गर्न सक्ने बताउँथे ।

समूह चरणमा सिंगापुर, कुवेत, कतार र मलेसियामाथि विजय हात पारेको नेपाल सुपर लिग ‘बी’ को पहिलो खेलमा भारतसँग २७ रनले पराजित भए पनि बंगलादेशमाथि ३ विकेटको जित र कुवेतलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । न्युजिल्यान्डमा सोही वर्ष भएको आईसीसी यू–१९ विश्वकपको प्लेट सेमिफाइनलमा र यूएईको यस प्रतियोगितामा नेपालसँग पराजित भएपछि बंगलादेश क्रिकेट बोर्डले हारको कारण पत्ता लगाउन छानबिन समिति नै बनाएको थियो ।

नेपालको पहिलो प्रथम श्रेणीको खेल

नेपालले पहिलो प्रथम श्रेणीको खेलको सुरुआत शारजहाँ क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाबाटै गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अन्तरमहादेशीय कप तीनदिवसीय प्रतियोगिताको एसिया छनोट खेल आयोजना गरेपछि नेपालले प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गर्ने अवसर पाएको थियो । संयोगले यूएईसँगको त्यो खेल शारजहाँ क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामै थियो ।

अर्शाद अलीले १ सय ४३ र कप्तान खुरम खानले ७५ रन बनाएपछि यूएईले २९३–९ मा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । कप्तान राजु खड्काले ९४ बल खेली ११ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए पनि नेपाल ७६ ओभर खेली २ सय १३ रनमा अलआउट भयो । यूएईका अग्ला तीव्र बलर अली असादले २७ ओभर बलिङ गर्दै ७४ रन खर्चेर ९ विकेट लिए ।

उनको बलिङमा आउट नहुने एक मात्र खेलाडी मनोज कटुवाल थिए, जसले ८३ बल खेली २४ रन बनाएका थिए भने सञ्जम रेग्मी १३ बल खेली ८ रनमा अविजित थिए । फहदा उसमानले अविजित १ सय २ रन बनाएपछि यूएईले ६ विकेट गुमाई २ सय ५३ रन बनाई दोस्रो इनिङ समाप्तिको घोषणा गरेर नेपाललाई ३ सय ३४ रनको लक्ष्य दियो । नेपालले ७५ ओभर खेली ५ विकेट गुमाई १ सय ४१ रन बनाएपछि यो खेल बराबरीमा टुंगिएको थियो । शरद भेषावकरले १ सय ७२ बल खेली ५ चौका प्रहार गरी ५० र मनोजले ७७ बल खेली १० रन बनाई अविजित रही यो खेल नेपाललाई बराबरीमा ल्याउन प्रमुख भूमिका खेले ।

एसीसी ट्रफीमा पहिलो पटक विजेता

अफगानिस्तानको उदयपछि नेपालको धार कमजोर बन्दै गइरहेको थियो । २०१२ को एसीसी ट्रफी नेपालका सामु अवसर बनेर आएको थियो । यूएईमा प्रतियोगिताका खेलहरू भएका थिए । पहिलो खेल नेपालले शारजहाँमै यूएईसँग खेलेको थियो । शक्ति गौचनले ५ विकेट लिएपछि नेपालले यूएईलाई ४०.५ ओभरमा १ सय ३३ रनमै अलआउट गरेको थियो । तर नेपालले यो स्कोर पार गर्न निकै संघर्ष गर्नुपर्‍यो । अनिल मण्डलले १ सय २९ बलमा ६३ रन बनाएपछि नेपालले ४६ औं ओभरमा लक्ष्य पूरा गर्दै ४ विकेटको जित निकालेको थियो । यूएईमाथि नेपालको यो पहिलो विजय थियो । 

कुवेत, साउदी अरेबिया, हङकङविरुद्ध विजय निकालेपछि नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा मलेसियालाई २१ रनले पराजित गरेपछि नेपाल तेस्रो पटक फाइनल पुगेको थियो र फाइनलमा भेट यूएईसँग, त्यो पनि शारजहाँमै भएको थियो । फाइनलमा यूएई र नेपाल दुवै टोलीले समान २ सय ४१ रन बनाएपछि स्कोर ‘टाई’ भएर संयुक्त विजेता बनेको थियो ।

नेपाललाई अन्तिम ओभरमा विजयका लागि २ रन चाहिने अवस्थामा शक्ति गौचनले लङ अफमा प्रहार गरेका थिए तर उनी २ रन लिने प्रयासमा रनआउट भएका थिए । २ सय ९१ रन बनाउनुका साथै ९ विकेट लिएका पारस प्लेयर अफ द सिरिजमा चुनिएका थिए । यूएई घरेलु टोली भएका कारण नेपाल संयुक्त विजेता ट्रफी लिएर फर्किएको थियो । १९९६ को पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि नेपाल पहिलो पटक एसीसी ट्रफीमा विजेता बनेको थियो । संयोगले एसीसी ट्रफीको अन्तिम संस्करण बन्न पुग्यो ।

पहिलो पटक विश्वकपको यात्रा

नेपालले २०१३ को छनोट चरण पार गरेर पहिलो पटक विश्वकपको यात्रा तय गर्दा यूएई र शारजहाँ मैदानमै सफलता पाएको थियो । डेनमार्क र केन्यालाई दुबईमा पराजित गरेपछि नेपालले चौथो खेल शारजहाँमा पपुवा न्यु गिनीविरुद्ध खेलेको थियो । तेस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएकाले नेपाललाई अघिल्लो चरणमा प्रवेश पाउन पपुवा न्यु गिनीविरुद्धको खेल निकै महत्त्वपूर्ण थियो । 

इंग्ल्यान्डबाट एसेस शृंखलामा विजयको स्वाद चाखिसकेका जेराइन्ट जोन्सले ५३ बलमा ५५ रन बनाएपछि पपुवा न्यु गिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो । विनोद भण्डारीले केही असाधारण शटहरू खेल्दै २३ बलमा अविजित ५१ रन बनाएपछि नेपालले १० बल अगाडि नै लक्ष्य पूरा गरेको थियो । 

शारजहाँमा नेदरल्यान्ड्स र अफगानिस्तानसँगको खेलमा पराजित भए पनि नेपाल बर्मुडालाई पराजित गर्दै समूह ‘बी’ मा तेस्रो भएर प्ले अफमा पुगेको थियो । हङकङलाई प्लेअफमा ५ विकेटले पराजित गरी नेपाल पहिलो पटक ट्वान्टी–२० विश्वकप पुगेको थियो । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully