अखाडामा भिड्दै पहलमानहरू

कुस्तीमा आफ्नो तागत देखाउन भारतबाट समेत पहलमानहरू वीरगन्ज आइपुगेका छन् ।

आश्विन ११, २०८२

शंकर आचार्य

Wrestlers fighting in the arena

पर्सा — उखरमाउलो गर्मीमा पहलमानहरू भीमकाय शरीरबाट तरतरी पसिना चुहाइरहेका छन् । लँगौटी लगाएर अखाडामा न्वारानदेखिको बल निकालेर उनीहरू प्रतिद्वन्द्वी पहलमानलाई मात दिने प्रयास गर्दै छन् । दर्शकदीर्घालाई हतार भइसकेको छ एउटाले अर्को पहलमानलाई पराजित गरेको दृश्य हेर्न । 

कुस्तीको अनेक दाउपेच लगाउँदा पनि एकअर्कालाई पराजित गर्न कसैले सकिरहेका छैनन् ।

दर्शकदीर्घामा हजुरबुवादेखि नाति पुस्ताका दर्शक पनि एकसाथ रमाइलो मानेर कुस्तीको आनन्द लिइरहेका छन् । दर्शक बेलाबेलामा हुटिङ गरिरहेका हुन्छन् । उनीहरू दुवै पहलमानलाई उत्साहित गर्न दर्शकदीर्घाबाटै बाजी पनि थापिदिन्छन् ।

वीरगन्जको बहुअरीमा शनिबार आयोजित महावीर झन्डा मेलामा कुस्तीको अखडामा देखिएको यो दृश्य हो । कुस्ती भनेपछि हुरुक्कै हुने तराई मधेशमा कुस्ती र दंगल खेलाउन सामान्य मेला–महोत्सव भए पुग्छ ।

दर्शक मेला भर्न आउनुअघि कुस्तीको आयोजना छ कि छैन भनी चियोचर्चो गर्छन् । कुस्ती छ भने बिहानैदेखि अखाडा वरिपरि आफ्नो ठाउँ सुरक्षित पारेर बस्छन् ।

Wrestlers fighting in the arena

पहेँलो माटो थुपारेर बनाइएको अखाडाको त्यही फुस्रो माटो एउटाले अर्को पहलमानको पसिनाले निथ्रुक्क भिजेको भीमकाय शरीरमा दलिदिन्छन् । कुस्तीको कौशल जानेका पहलमानले कहिले एक मिनेट नबित्दै प्रतिद्वन्द्वीलाई पछार्छन् भने कहिले खेल अनिर्णीत पनि हुन्छ ।

कुस्तीमा आफ्नो तागत देखाउन नेपाल मात्र नभई भारतबाट पनि पहलमानहरू आइपुगेका छन् । साँझसम्म पनि पहलमानहरूको भिडन्त नसकिएकाले दर्शकदीर्घाबाट भोलि पनि प्रतियोगिता आयोजन हुनुपर्ने माग आइरहेको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully