ऐतिहासिक शृंखलामा नेपाललाई मौका

शारजहाँ क्रिकेट रंगशालाले शनिबारदेखि वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेटलाई आतिथ्यता दिँदै अर्को इतिहास बनाउने 

आश्विन ११, २०८२

विनोद पाण्डे

A chance for Nepal in a historic series

काठमाडौँ — यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक २ सय ५५ खेल आयोजना गरिसकेको छ । शारजहाँको यसै मैदानले शनिबारदेखि वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेटलाई आतिथ्यता दिँदै अर्को इतिहास बनाउने छ ।

नेपालले यसअघि शारजहाँ क्रिकेट रंगशालामा नखेलेको होइन । तर, जब नेपालका कप्तान रोहित पौडेल र वेस्ट इन्डिज समकक्षी अकेल हुसैन टसका लागि जानेछन्, शारजहाँ क्रिकेट मैदान नेपाली क्रिकेटको एउटा साक्षी बन्ने छ । नेपाल पूर्ण राष्ट्रविरुद्ध पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शृंखला खेल्न उत्रिँदा शारजहाँ क्रिकेट मैदानले आतिथ्यताको सौभाग्य पाउने छ । 

विदेशी भूमिमा भए पनि युनिटी कप नाम दिइएको यस शृंखलाको आयोजक नेपाल क्रिकेट संघ (क्यान) हो । यूएईमा बाक्लो संख्यामा नेपाली रहेकाले राम्रो दर्शक मैदान आउने अपेक्षा क्यानको छ । त्यसैले त प्रशिक्षक स्टुवार्ट ल क्यानको सामाजिक सञ्जालमार्फत भन्छन्, ‘यूएईमा बसोबास गर्दै आउनुभएका नेपालीहरू आएर आफ्नो टोलीलाई समर्थन गरिदिनु हुनेछ भन्ने आशा लिएको छु ।’ 

नयाँ र बलियो क्यारेबियन टोली

वेस्ट इन्डिजसँग एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यसअघि नै खेलिसकेको छ । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने पहिलो पटक खेल्न लागेको हो । नेपालविरुद्ध खेल्ने टोलीमा वेस्ट इन्डिजले ठूलो परिवर्तन गरेको छ । नियमित कप्तान साई होप र प्रशिक्षक डारेन सामी वेस्ट इन्डिज टोलीमा हुने छैनन् । पाँच ‘अनक्याप’ खेलाडी रहेको १५ सदस्यीय वेस्ट इन्डिज टोलीको कप्तानी देव्रेहाते स्पिनर हुसैनले गर्दैछन् । उनले पहिलो पटक वेस्ट इन्डिजको नेतृत्व गर्न लागेका हुन् । 

वेस्ट इन्डिज प्रशिक्षकको जिम्मेवारी रायन ग्रिफिथले लिएका छन् । गत वष वैशाखमा वेस्ट इन्डिज ‘ए’ ले पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्न नेपाल आउँदा उनी फ्लोयड रिफरको सहायक रहेका थिए । त्यसैले ग्रिफिथ नेपाली क्रिकेटबारे राम्रो जानकार छन् । वेस्ट इन्डिजका पूर्व अनुभवी प्रशिक्षक ओटिस गिब्सन वर्तमान वेस्ट इन्डिज टोलीको तीव्र गतिको बलिङ परामर्शदातामा छन् । 

माथिल्लोक्रमका ब्याटर अकिम अगुस्टे, ब्याटिङ अलराउन्डर नवीन बिडाइसी, लेग स्पिनर जिसन मोटारा, देव्रेहाते तीव्र गतिका बलर रेमोन सिमोन्ड्स र विकेटकिपर/ब्याटर अमिर जान्गुले नेपालविरुद्ध ‘डेब्यु’ गर्ने सम्भावना छ । यसअघि नै अमेरिकाबाट आठ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका करिमा गोरेले वेस्ट इन्डिजबाट खेलेका छैनन् । क्यारेबियन प्रिमियर लिगमा उनले एन्टिगुवा एन्ड बर्मुडाबाट खेल्दै राम्रो प्रभाव पारेका थिए । त्यसक्रममा उनले ११ खेलमा २ सय १९ रन बनाएका थिए । 

हुसैनसहित वेस्ट इन्डिज टोलीमा फाबियन एलेन, जेसन होल्डर, केयल मेयर्स जस्ता अनुभवी खेलाडी पनि छन् । अक्टोबर २ देखि भारत भ्रमणमा दुई टेस्ट र पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने भएर पनि वेस्ट इन्डिजले केही प्रमुख खेलाडीलाई आराम दिएको छ । अघिल्लो महिना पाकिस्तानविरुद्ध ट्वान्टी–२० खेलेको टोलीका सेरफेन रदरफोर्ड, रोस्टन चेज, रोमारियो सेफर्ड, गुडाकेस मोटीलाई नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिज टोलीमा राखिएको छैन । 

आदिलको पुनरागमन तयारी

नेपालले पनि आदिल आलम अन्सारी र सन्दीप जोरालाई १६ सदस्यीय टोलीमा समावेश गरेको छ । अस्ट्रेलिया भ्रमण गुमाएका स्पिनर ललित राजवंशी पनि टोलीमा फर्किसकेका छन् । ठूलो शट खेल्न माहिर आदिलले नेपालको मध्यक्रममा स्थान लिने विश्वास गरिएको छ । उनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका छन् । 

माथिल्लोक्रममा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल पछि आदिलको ब्याटिङ आउन सक्छ । मध्यक्रममा गुलशन झा, जोरा, आरिफ शेख विकल्पमा छन् । तीन महिनाअघि स्कटल्यान्डमा विश्वकप लिग २ मा उच्च प्रदर्शन गरेपछि प्रशिक्षक लले आरिफलाई ट्वान्टी–२० मा विश्वास देखाइरहेका छन् । 

शारजहाँको स्लो विकेटमा तीव्र गतिका बलरहरूले प्लेयिङ ११ मा स्थान पाउन भने संघर्ष गर्नुपर्ने देखिन्छ । नेपाली टोलीको तीव्र गतिको बलिङमा अनुभवी सोमपाल कामी, करण केसीसहित गुलशन झा र नन्दन यादव छन् । पछिल्लो समय गुलशनले कमै मात्र बलिङ गरेका छन् भने नन्दनले राम्रो प्रभाव पार्दै आएका छन् । स्पिन नेपालको विश्वासिलो पक्ष हो । तीव्र गतिको बलिङमा जमेर ब्याटिङ गर्ने वेस्ट इन्डिजको ब्याटिङलाई अंकुश लगाउन नेपाली स्पिनरले उच्च क्षमता देखाउनुपर्नेछ । सन्दीप लामिछाने, दीपेन्द्र, ललित र शाहब आलमले नेपालको स्पिन मोर्चा सम्हाल्ने छन् । 

टेस्ट राष्ट्रविरुद्ध मौका

नेपालले टेस्ट राष्ट्रविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ९ पटक खेलिसकेको छ । अहिलेसम्म नेपालले कुनै जित हात पार्न सकेको छैन । नेपाल जति पटक जित नजिक पुग्छ, त्यति नै पटक जित टाढा भइदिएको छ । यसपालि वेस्ट इन्डिजको पूर्ण टोली नरहेको र आफूहरू पनि लयमा रहेका कारण कप्तान रोहित पौडेल जितको सम्भावना देख्छन् । 

‘पछिल्लो समयको प्रशिक्षण र भ्रमणबाट हामी लयमा नै छौं, निश्चय पनि हामी यहाँ जित्न आएका हौं,’ रोहितले क्यानको सामाजिक सञ्जालमा भनेका छन्, ‘किनभने पछिल्लो २–३ वर्षको टेस्ट राष्ट्रसँग खेल्दाको अनुभवले हामीलाई निकै फाइदा पुर्‍याएको छ । ती खेलहरूमा हामी अन्तिम क्षणमा गएर चुकिरहेका थियौं, त्यो पीडा हामीसँग छ । त्यहींबाट प्रभावित भएर यो पटकको शृंखला जित्ने आशा लिएका छौं ।’ 

वेस्ट इन्डिज ‘ए’ को टोली गत वर्ष नेपाल भ्रमण आएर पाँच खेलको शृंखला ३–२ ले जितेको थियो । अन्तिम खेलमा रोहितले शतक बनाएर नेपाललाई जिताएका थिए । नेपालले सन् २०१९ पछि पहिलो पटक यूएईमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । ६ वर्षअघि नेपालले यूएईसँगको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको थियो । यहींबाट रोहितले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । 

नेपालले पहिलो पटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा टेस्ट राष्ट्रसँग खेलेको थियो । १ सय २६ रनमात्र बनाउन सकेपछि नेपालले आयोजक बंगलादेशसँग ८ विकेटको पराजय भोगेको थियो । सन् २०१९ मा सिंगापुरमा भएको तीनदेशीय शृंखलामा जिम्बावेले नेपाललाई दुई खेलमा क्रमशः ५ विकेट र ४० रनले पराजित गरेको थियो । त्यसै वर्ष ओमानमा भएको ५ राष्ट्र सम्मिलित प्रतियोगितामा १ सय ४६ रनको लक्ष्य बनाउन नसक्दा नेपालले आयरल्यान्डसँग १३ रनको हार बेहोरेको थियो । 

सन् २०२२ मा ओमान भएको चारदेशीय प्रतियोगितामा नेपाल फेरि आयरल्यान्डसँग निराश हुन पुग्यो । आयरल्यान्डलाई १ सय २७ रनमा अलआउट गरे पनि जवाफमा ९ विकेट गुमाई १ सय ११ रन बनाउन सकेपछि नेपालले १६ रनको हार स्वीकार्नुपर्‍यो । दोस्रो टोली पठाएको भारतले चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा नेपाललाई २३ रनले पराजित गर्‍यो । भारतले ४ विकेट गुमाई २ सय २ रन बनाएपछि आएको नेपालले ९ विकेट गुमाई १ सय ७९ रन बनाएको थियो ।

गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सम्झने हो भने नेपाली समर्थक अहिले पनि चुकचुकाउने गर्छन् । फ्लोरिडामा श्रीलंकासँगको खेल वर्षाले रद्द भएपछि नेपाली टोली सेन्ट भिन्सेन्ट लागेको थियो । त्यसपछि दक्षिण अफ्रिका र बंगलादेशबीचको दुई खेल नेपाली समर्थकका लागि ‘हृदयघात’ जस्तै थिए । दक्षिण अफ्रिकालाई ११५–७ को स्कोरमा रोके पनि नेपाल १ रनले चुकेको थियो । बंगलादेशलाई त अझ नेपालले १ सय ६ रनमै आउट गरेको थियो । तर नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका प्रशिक्षक ल सन् २०१८–१९ मा वेस्ट इन्डिजका प्रशिक्षक थिए । अहिले उनी वेस्ट इन्डिजलाई पराजित गर्न सक्ने उपाय खोजिरहेका छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully