‘खेलकुदलाई राष्ट्र निर्माणको आधारमा हेरिनुपर्छ’

म आफू खेलकुदसँग आबद्ध व्यक्ति हुँ । त्यही भएकाले यस क्षेत्रसँग सम्बन्धित कुरा गर्न चाहन्छु । नेपाली खेलकुदलाई पनि राजनीतिभन्दा बाहिर राख्नु नै खेलाडी र खेलकुदको ठूलो जित हुनेछ ।

आश्विन १०, २०८२

एरिका गुरुङ

”Sports should be seen on the basis of nation building”

काठमाडौँ — जेन–जी पुस्ताको आन्दोलनले जनतामा धेरै आशा जगाएको छ । अब हाम्रो अपेक्षा भनेको राम्रो स्वच्छ राजनीति, जिम्मेवार सरकार र युवाले देखेको नयाँ र समुन्नत नेपाल नै हो । यो आन्दोलनका सहिदहरूलाई न्याय दिलाउन कुनै कन्जुस्याँइ नहोस् र भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने ठूलो अपेक्षा छ । त्यसका लागि सबै पक्ष सचेत हुनुपर्छ नै । 

अब हामी युवाको भूमिका भनेको आफ्नो कडा मिहिनेत र समर्पणलाई देश निर्माणमा लगाउनु हो । खेलकुद, शिक्षा, आईटी, व्यवसाय आदि, जुन कुनै क्षेत्रमा युवा अगाडि बढ्छ, त्यहाँबाट नै देश समृद्धि अगाडि बढ्छ । मलाई लाग्छ, क्रान्ति ल्याउने ठूलो शक्ति नै युवा हो । उनीहरूको महत्त्वलाई देशले बुझ्न सक्नुपर्छ ।

म आफू खेलकुदसँग आबद्ध व्यक्ति हुँ । त्यही भएकाले यस क्षेत्रसँग सम्बन्धित कुरा गर्न चाहन्छु । नेपाली खेलकुदलाई पनि राजनीतिभन्दा बाहिर राख्नु नै खेलाडी र खेलकुदको ठूलो जित हुनेछ । खेलकुदलाई राजनीतिबाट मुक्त गर्ने र राष्ट्रिय गौरवको रूपमा परिवर्तन गर्ने हो भने हामी नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एरिनामा धेरै सफलता र पदक जित्न सक्छौं । नेपाली खेलाडी आफ्नो क्षमतामा अब्बल छन् । अवसर र विश्वको परिवर्तित खेलप्रविधिसँग साक्षात्कार हुन नपाएका मात्र हुन् ।

यसरी नै युवाहरू उठेर भ्रष्टाचार, बेथिति, फोहरी राजनीतिक संस्कार हटाएर शिक्षा क्षेत्रलाई सही ढंगले अगाडि बढाउने हो भने खेलकुदमात्र होइन, प्रत्येक क्षेत्रमा सफलता सम्भव देख्छु । योग्यतालाई प्राथमिकता दिनु, प्रतिभालाई प्रोत्साहन गर्नु र पारदर्शी व्यवस्थापन सुनिश्चित गर्नु नै प्रगतिको मार्ग हो । हामी प्रशिक्षण क्याम्पमा रहेकाले जेन्जी आन्दोलनको अग्रपंक्तिमा जान सकेनौं तर जति पनि युवा आँट बोकेर आन्दोलनमा होमिएर देशका लागि ज्यान दिन तयार हुनुभयो, त्यसका लागि ‘मेरो सलाम’ । उहाँहरूको योगदान सदा अमर रहनेछ । व्यक्तिगत रूपमा हामी खेलाडीले घाइतेहरूका लागि अस्पतालमा पुगेर रक्तदान गरी सानो सहयोग गर्न पाउँदा अन्त्यन्तै गर्व महसुस भयो । देश र समाजको प्रत्येक सेवामा अगाडि बढ्ने विषयमा मेरो प्रयास रहिरहने प्रण गर्दछु । 

पछिल्लो दुई वर्षको अन्तरमा मैले धेरै मुलुक पुगेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाएँ । यसले मेरो प्रदर्शनमा सुधार आउनुका साथै देशको गौरव बढाउन सकेको महसुस गरेको छु । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता र प्रतिस्पर्धा गर्दा एउटा खेलाडीले अनुशासन, समर्पण र स्पोर्ट्स भिजनका धैरै आयाम सिक्ने मौका पाइने रहेछ ।

विश्वस्तरीय खेलाडी र अरू प्रतिस्पर्धी देशका खेलाडीको तयारी, फिटनेस र उनीहरूको मनोबल देख्दा आफूलाई अझै धेरै मिहिनेत गर्ने हौसला मिल्दोरहेछ । यो मैले प्रत्यक्ष अनुभव गरेको कुरा हो ।

अन्तर्राष्ट्रिय प्लेटफर्ममा देशको झन्डा बोकेर खेल्दा गर्व महसुस हुनुका साथै राष्ट्रिय गौरवको महत्त्व अझ गहिरिएर बुझ्न सकिन्छ । जित्नु र हार्नुभन्दा पनि आफ्नो देशलाई चिनाउनु र आफ्नो आत्मविश्वास बढाउन पनि यो महत्त्वपूर्ण हुन्छ । 

नेपाली खेलकुदमा धेरै प्रतिभावान खेलाडी हुनुका साथै सम्भावना पनि त्यत्तिकै छ । अरू देशले जस्तै नेपालले पनि खेलकुदलाई मुख्य आकर्षणमा राखेर अगाडि बढ्ने हो भने हाम्रा खेलाडीहरू पनि विश्वस्तरमा पुग्न सक्छन् ।

धेरै नेपाली खेलाडीले व्यक्तिगत लगानी गरेर आफ्नो करिअर अगाडि बढाउनुपरेको यथार्थता छ । सफलता पाए मात्र ती खेलाडी सरकारको नजरमा पर्छन् । सफलता ल्याउन नसके उसले आफूले गरेको लगानी त्यत्तिकै खेर जान्छ । सफलता त एक पटक ल्याउन नसके अर्को पटक ल्याउन सकिन्छ । तर त्यतिबेलासम्म उसलाई सहयोग र सपोर्ट गर्ने कोही हुँदैनन् । अनि बाध्य भएर रोजीरोटीका लागि वैदेशिक मुलुक जानुपर्ने बाध्यता छ । अब सरकारले खेलकुदको दीर्घकालीन विकासलाई ध्यानमा राखेर अगाडि बढ्ने हो भने परिवर्तन सम्भव छ । यदि हामीले खेलकुदलाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्छौं भने हाम्रो भविष्य उज्ज्वल छ ।

विद्यालय तहदेखि नै खेलकुदलाई अनिवार्य कार्यक्रम बनाउनु आवश्यक छ । खेलाडीको दीर्घकालीन करिअर सुरक्षित गर्न रोजगारी, शिक्षा, बीमा र अन्य अवसरहरू प्रदान गरिनुपर्छ । अन्तर्राष्ट्रिय स्तरको तालिम, खेल मैदान, उपकरण र प्राविधिक जनशक्तिको विकासमा लगानी बढाउनुपर्छ । खेलकुद प्रशासनलाई पारदर्शी, व्यावसायिक र खेलाडीमैत्री बनाएमात्र विश्वव्यापी स्तरमा निरन्तर सफलताको सम्भावना रहन सक्छ । म चाहन्छु हाम्रो पुस्ताको यो परिवर्तनकारी आन्दोलनबाट यी अपेक्षाहरू पूरा गर्न सरकारलगायत सबै पक्ष आ–आफ्नो जिम्मेवारी निभाउन सफल होस् । एरिका एसियाड पदकधारी कराते खेलाडी हुन् । 

एरिका रजत विजेता, १९ औं एसियाली खेलकुद

Link copied successfully