जतिबेला उनले साँच्चै अवार्ड जिते आफूलाई रोक्न सकेनन्, आँसु झारिहाले । यसक्रममा उनले सबैभन्दा पहिलो आफ्नो परिवारलाई धन्यवाद दिए । उनले आफ्नो खेलजीवनका लागि परिवारले गरेको त्याग बिर्सेनन् ।
पेरिस — ‘जतिबेला उनको सही प्रयोग हुन्छ, उनी जत्तिको राम्रा खेलाडी विश्वमा अरू हुन्न ।’ बार्सिलानाको प्रशिक्षक छँदा जाभी अलोन्सोले ओसमन डेम्बेलेबारे यस्तै भन्थे । सन् २०२१ तिरको यो कुरा सुनेर सम्भवतः डेम्बेले आफैं भावुक हुँदो हो । जाभीले यस्तो भन्दा खिन्न हुने पनि थिए । कतिलाई यी फ्रान्सेली खेलाडीको उपयोगितामै पनि शंका थियो ।
सन् २०१७ मा बार्सिलोनाले विश्व फुटबलकै दोस्रो सबैभन्दा महँगो खेलाडीका रूपमा डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट किनेको थियो । त्यो बेला बार्सिलोनाले उनका लागि १३ करोड ५० लाख पाउन्ड तिरेको थियो । बार्सिलोना पुगेयता उनले अनेक उतारचढाव देखे । कतिपय समय घाइते रहे । उनको आफ्नै खेल कहिल्यै समान रहेन । तलमाथि भइरह्यो । कतिले उनको फुटबलप्रतिको समर्पणमै प्रश्न उठाए ।
तर अन्ततः तिनै डेम्बेलेले सोमबार राति बालन डो’र अवार्ड जितेका छन् । यो यस्तो अवार्ड थियो, जसलाई जित्ने सपना उनले धेरै अगाडिदेखि साँचेर राखेका थिए । जतिबेला उनले साँच्चै अवार्ड जिते आफूलाई रोक्न सकेनन्, आँसु झारिहाले । यसक्रममा उनले सबैभन्दा पहिलो आफ्नो परिवारलाई धन्यवाद दिए । उनले आफ्नो खेलजीवनका लागि परिवारले गरेको त्याग बिर्सेनन् ।
उनी यति धेरै किन भावुक भए भने डेम्बेलेलाई थाहा थियो, आफ्नो खेलजीवन असाध्यै उतारचढाबबाट गुज्रेको छ । उनकै गतिलो योगदानका कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग र कप मात्र जितेन, पहिलो पटक युरोपेली च्याम्पियन्स लिग पनि जित्यो । यो दुर्लभ ‘ट्रेभल’ उपलब्धि थियो । अझ पीएसजी क्लब वर्ल्डकपको फाइनल पुग्यो, उपाधि जित्न मात्र सकेन ।
सबै खाले प्रतियोगितामा गरेर उनले ३५ गोल गरे भने अन्य १४ गोलमा सहयोगी भूमिका निभाएका थिए । पछिल्लो सिजनको तथ्यांक पल्टाउने हो भने डेम्बेले सबैभन्दा बढी लयमा रहेको खेलाडी भएको प्रस्ट हुन्छ । उनले यसक्रममा सबैलाई पछाडि छाडे । जस्तो, लिभरपुलका मोहम्मद सलाह, रियल म्याड्रिडका केलियन एमबाप्पे अनि बार्सिलोनाका लामिन यामल र राफिन्हा ।
एउटा निकै प्रतिशाली भएर त्यस अनुसार खेल्न नसकेका खेलाडीको हैसियतबाट उत्कृष्ट हुनेसम्मको यात्रा खासमा बार्सिलोनाबाटै सुरु भएको थियो, जसको खास रंग पीएसजीमा देखिएको मज्जाले भन्न सकिन्छ । पीएसजीको महत्त्वकांक्षाले पनि स्टार खेलाडी भएको महसुस गराएको थियो । एमबाप्पे जसरी पीएसजी छाडेर रियल लागे, त्यसले पनि डेम्बेलेका लागि बाटो खोलेको थियो ।
पीएसजी प्रशिक्षक लुइस एनरिकेले एमबाप्पे बाहिरिएपछि डेम्बेलेलाई भनेको नै यही थियो, ‘अब हामी तिमीबाट गोल चाहन्छौं, अलिकति ईंख राखेर पनि खेल्न सिक्नु ।’ एनरिकेको ‘कोचिङ स्टाफ’ ले उनलाई बरोबर उक्साएर भन्ने गर्थे, ‘बेलन डो’र जित्न सक्छौं है ।’ सन् २०२३ मा पीएसजीले यी फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडीलाई ४ करोड ३५ लाख पाउन्डमा बार्सिलोनाबाट किनेको थियो ।
त्यसयताको सिजन डेम्बेलेले ६ गोल गरे, १४ गोलमा ‘एसिस्ट’ गरे अनि पीएसजीले लिग र कप दुवै जित्यो । पीएसजीका लागि एमबाप्पेले खेल्दा उनको उत्कृष्ट प्रदर्शन भनेको सबै प्रतियोगितामा गरेर ४४ गोल थियो । त्यस अर्थमा डेम्बेलेको प्रदर्शन त्यसअघि तुलनात्मक रूपमा कमजोर नै थियो । आखिरमा यो नै पीएसजीका लागि एमबाप्पेको अन्तिम सिजन रह्यो । उनी रियल लागे ।
एमबाप्पेविना पीएसजी नयाँ जस्तै थियो । टोलीलाई नयाँ नेतृत्व गर्न सक्ने खेलाडी चाहिएको थियो । यही भूमिकामा ठ्याक्कै अटाए, डेम्बेले । उनले ५१ गोलमा आफ्नो योगदान दिए र यो भनेको उनको यसअघि एक सिजनको उत्कृष्ट प्रदर्शनभन्दा दोब्बर थियो । एनरिकेले एउटा कुरा के पनि भनेका थिए भने डेम्बेलेबाट चाहिएको भनेको गोल हो, गोलभन्दा बढी ‘एसिस्ट’ होइन ।
त्यही ‘कोचिङ स्टाफ’ को विश्लेषण के थियो भने डेम्बेलेले जति गोल अवसर सिर्जना गर्छन्, त्यसलाई नै गोलमा परिणत गर्ने हो भने त्यसले उनलाई मात्र होइन, पूरा टिमलाई नै अत्यधिक फाइदा हुनेछ । यो सुनेर डेम्बेलेले आफूलाई परिवर्तन गरे । गम्भीर बने । अनि आफ्नो नयाँ भूमिका अनुसार खेले । उनी अचेल ‘फल्स नाइन’ को भूमिकामा बढी रम्ने गर्छन् र यसक्रममा सक्दो बढी बल छुन्छन् ।
पास लिन र दिन उनलाई यही भूमिकामा सजिलो भएको छ । यतिमात्र होइन, पासलाई गोलमा परिणत गर्न पनि उनलाई सहयोग पुगेको छ । यो भनेको डेम्बलेको नयाँ भूमिका रह्यो, उनी नयाँ खेलाडीजस्तै भए । एमबाप्पेले पीएसजी छोड्नु मात्र डेम्बेलेको उदयको कारण थिएन, त्यो त एउटा आधार तयार पारेको पाइलामात्रै थियो । रेनेस र डर्टमन्डमा कमै मात्र घाइते रहे पनि बार्सिलोनाका लागि उनी लगातार चोटग्रस्त रहे ।
नोउ क्याम्पमा उनले केही नभए पनि ७ सय ८४ दिन मैदानबाहिर नै बिताए । बार्सिलोनाले उनलाई खाना खुवाउने अलग्गै भान्छे राखेको थियो । त्यति बेला उनको अनुशासन खत्तमै थियो, राति–राति बाहिर बिताएपछि उनी सबैभन्दा बढी जरिवाना तिर्ने खेलाडी थिए । यसले उनको खेल पनि प्रभावित रह्यो । तर जतिबेला उनी पूर्णतः फिट हुन्थे, बार्सिलोना छँदै साँच्चैका विश्वस्तरीय खेलाडी हुन्थे ।
त्यसो भए पीएसजी आएर उनमा कसरी परिवर्तन आयो त ? सन् २०२१ मा उनले आफ्नी प्रेमिका रिमालाई विवाह गरे अनि बच्चा पनि भयो । धेरै के मान्छन् भने त्यसपछि एउटा मान्छेका रूपमा डेम्बेले फेरिए, उनले जिम्मेवारी महसुस गरे । घरमै आफ्नो निजी फिजियोथेरापिस्ट राखे । समय मिलाएर आफैंले अलग्गै उपचार जारी राखे । एउटा बुवा भएपछि उनको जीवन हेर्ने नजर फेरियो ।
स्वस्थ खानाको महत्त्व पनि डेम्बेलेले यही बेला बुझे । आफ्नो जीवनलाई पनि उनले निकै सन्तुलित राखे । धेरैले भने पीएसजीलाई च्याम्पियन्स लिग जित्नु छ भने त्यसका लागि फ्रान्सेली खेलाडी नै चाहिन्छ, अरू होइन । डेम्बले तिनै खेलाडी थिए । अनि धेरैले के पनि भनेका थिए भने यस्तो गर्न सक्ने खेलाडी विश्वस्तरीय हुन्छ । डेम्बेले तिनै खेलाडी थिए ।
