रहेनन् अम्पाएर डिकी बर्ड

विश्व क्रिकेटका निकै सम्मानित अम्पायर बर्डले ६६ टेस्ट र ६९ एकदिवसीय अन्तर्राष्ट्रियमा अम्पायरिङ गरेका थिए ।

आश्विन ७, २०८२

एएफपी

Don't be a dicky bird

लन्डन — पूर्व टेस्ट क्रिकेट अम्पायर हेरोल्ड ‘डिकी’ बर्डको ९२ वर्षको उमेरमा निधन भएको योर्कसायर काउन्टी क्रिकेट क्लबले मंगलबार जनाएको छ । विश्व क्रिकेटका निकै सम्मानित अम्पायर बर्डले ६६ टेस्ट र ६९ एकदिवसीय अन्तर्राष्ट्रियमा अम्पायरिङ गरेका थिए ।

तीन विश्वकपमा अम्पायरिङ गरेका बर्डका बारेमा योर्कसायरले आफ्नो वेबसाइटमा एक विज्ञप्ति राख्दै भनेको छ, ‘क्रिकेटका सबैभन्दा प्यारामध्ये एक व्यक्तित्व’ को उनकै घरमा शान्तपूर्वक अस्ताए ।’ बर्डले निकै सफल अन्तर्राष्ट्रिय अम्पायरको रूपमा पूर्ण रूपमा आनन्द लिए, क्रिकेट खेलको इतिहासमा सबैभन्दा प्रसिद्ध र लोकप्रिय व्यक्तित्वको रूपमा आफ्नो छाप छोड्न सफल भए ।’

योर्कसायरको विज्ञप्तिमा भनिएको छ, ‘उनी योर्कसायरका पर्यायवाची थिए । साथै उनी यस क्लबको अन्धभक्त समर्थक थिए । सन् २०१४ मा उनी योर्कसायर काउन्टी क्रिकेट क्लबको अध्यक्ष भए, जुन भूमिकालाई उनले सम्मान र गर्वका साथ निभाएका थिए ।’

बर्डले खेलाडीको रूपमा योर्कसायरबाट १९५६ मा र इंग्लिस काउन्टीको अर्को टोली लिसेस्टरसायरबाट पनि खेले । उनले ९३ प्रथम श्रेणीका खेलमा २०.७१ को औसतमा दुई शतकसहित ३ हजार ३ सय १४ रन बनाए । त्यसमा ग्लामोर्गनविरुद्ध १९५९ मा अविजित १ सय ८१ रनको इनिङ्स खेलेका थिए । १९६० मा लिसेस्टरसायर गएपछि उनको खेलजीवन चोटका कारण धेरै अगाडि बढ्न सकेन । त्यसको चार वर्षपछि उनी अम्पायर बने ।

उनले आफ्नो नाम भने अन्तर्राष्ट्रिय अम्पायरको रूपमा बनाए । १९७० को मेमा उनले पहिलो पटक आधिकारिक खेलमा अम्पायरिङ गरेका थिए । खेलाडी र समर्थकको प्रशंसा कमाउने, उनको इमानदारी र स्वभाव सधैं सम्झिरहने योर्कसायरले जनाएको छ । खेलाडी आउट हुँदा चोरऔंला उठाउने फरक शैलीका लागि पनि बर्ड चर्चित छन् । 

एएफपी

Link copied successfully