अक्सनमा आधारित माध्यमिक विद्यालयस्तरीय तिलोत्तमा प्रिमियर लिग हुने

अक्सनका लागि २ सय खेलाडीको नाम दर्ता भएकामा अक्सनमार्फत प्रत्येक टोलीले समान १४ गरी ८४ खेलाडीलाई अनुबन्ध गरिएको छ

आश्विन ७, २०८२

सन्जु पौडेल

An auction-based secondary school level premier league will be held in Tilotta

तिलोत्तमा — तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा असोज १९ गतेदेखि अक्सनमा आधारित माध्यमिक विद्यालय स्तरीय क्रिकेट लिग हुने भएको छ । समितिका सचिव मिलन भण्डारीले खेलसिकी ओर्कास, नेपथ्य इगल्स, बुटवल डाइनामाइट, विश्व लायन टर्टल्स, पी टु के डी र द रिभाइभलियन्स गरी ३ टिमबीच प्रतिस्पर्धा हुने बताए । खेलमा १९ वर्षमुनिका कक्षा १२ सम्म अध्ययनरत खेलाडी सहभागी हुन पाउनेछन् ।

अक्सनका लागि २ सय खेलाडीको नाम दर्ता भएकामा अक्सनमार्फत प्रत्येक टोलीले समान १४ गरी ८४ खेलाडीलाई अनुबन्ध गरेको उपाध्यक्ष कृष्ण प्रसाद भुषालले बताए । प्रत्येक टोलीका कप्तान र मार्की खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरेका छन् भने बाँकी खेलाडीले ५ हजार रुपैयाँ पाएका छन् ।

टिम घोषणाअनुसार द रिभाइभलियन्सको कप्तानी सिद्धार्थ ढकालले गर्नेछन् भने मार्की खेलाडी प्रिन्स पाल रहने छन् । खेलसिकी ओर्कासको कप्तानी अञ्जिला पाठकले गर्नेछिन्। उनी ६ टोलीमध्ये एक मात्र महिला कप्तान हुन्। उनको टोलीमा मार्की खेलाडी सुशान्त सुवेदी रहेका छन्।

त्यस्तै, बुटवल डायनामाइटको कप्तानी सागर गैरेले गर्नेछन्, मार्की खेलाडी सुप्रीम कँडेल रहेका छन् । नेपथ्य ईगलको कप्तानी लक्ष्मण कुम्हालले गर्नेछन् भने मार्की खेलाडी समीर अली रहेका छन् ।

विश्व लायन टर्टल्सको कप्तानी आशुतोष पाण्डेले गर्नेछन्। उनको टोलीको मार्की खेलाडी शुभम खनाल रहने छन्। छैटौं टोली पिके २ डीको कप्तानी सागर भण्डारीले गर्नेछन् भने मार्की खेलाडीमा रुद्रांश भट्टराई छन्।  खेल तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुनेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully