आर्सनल र सिटीको बराबरी

बराबरी नतिजापछि आर्सनल शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि

आश्विन ६, २०८२

एएफपी

Arsenal and City draw

लन्डन — ग्याब्रियल मार्टिनेलीले इन्ज्युरी टाइममा गरेको गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । यस नतिजापछि आर्सनल शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि परेको छ । 

इमिरेट्समा इर्लिङ हल्यान्डको गोलमा सिटीले नवौं मिनेटमा अग्रता लिएको थियो । सिटी विजयनजिक पुगिसकेको अवस्थामा इजेको लामो पासमा मार्टिनेलीले गोल गरेका थिए । सिटीको गोलरक्षक डोनारुम्मा अगाडि बढेको अवस्थामा मार्टिनेलीले चिप गर्दै गरेको प्रहार गोलमा परिणत भयो । सिटी ७ अंकसहित नवौं स्थानमा छ । 

त्यस्तै इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्ड पहिलो हाफमै १० खेलाडीमा सीमित भए पनि एस्टन भिल्लाले त्यसको फाइदा उठाउन सकेन । जसको कारण भिल्लाले प्रिमियर लिगमा पहिलो विजय हात पार्न अझै कुर्नुपर्ने भएको छ । एक खेलाडी कम लिएर झन्डै १ घन्टा खेलेको सन्डरल्यान्डले भिल्लालाई १–१ को बराबरीमा रोकिदियो ।

रक्षक रेइनिल्डोले ३३ औं मिनेटमा सिधा रातो कार्ड पाए । म्याटी क्यासले ६७ औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट गोल गरी भिल्लालाई अग्रता दिलाए । विल्सन इसिडोरले ७५ औं मिनेटमा गरेको गोलले सन्डरल्यान्डलाई अंक दिलाएको हो ।

अर्को खेलमा पनि जित हारको नतिजा आएन । बर्नमाउथ र न्युकासलबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । बर्नमाउथ १० अंकसहित तेस्रो स्थानमा छ । पहिलो खेलमा लिभरपुलसँग पराजित बर्नमाउथले त्यसपछि लगातार ३ खेल जितेको थियो । न्युकासललाई पराजित गरेको भए टोली दोस्रो स्थानमा पुग्थ्यो । लिभरपुल १५ अंकसहित शीर्षस्थानमा छ । 

म्यानचेस्टर युनाइटेडले शनिबार राति चेल्सीलाई २–१ ले हराएको थियो । यो जितले युनाइटेड र प्रशिक्षक रुबेन एमोरिमलाई राहत मिलेको छ । चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजले पाँचौं मिनेटमा रातो कार्ड पाएपछि खेलले नाटकीय रूप लिएको थियो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलमा १४ औं मिनेटमा अग्रता लियो । ३७ औं मिनेटमा कासेमिरोले दोस्रो गोल थपे । तर उनै कासेमिरोले पहिलो हाफको इन्ज्युरी टाइमको पाँचौं मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड पनि १० खेलाडीमा झरेको थियो । खेलको अन्त्यतिर ट्रेभोह चालोबहले चेल्सीबाट एक गोल फर्काए, जुन सान्त्वनामात्र बन्यो । 

यो जितपछि युनाइटेडको ७ अंक भएको छ । टोली दसौं स्थानमा उक्लेको छ । चेल्सी भने ८ अंकसहित छैटौं स्थानमा छ । शनिबारै अन्य खेलमा फुलहमले ब्रेन्टफोर्डलाई ३–१, लिड्स युनाइटेडले उल्भसलाई ३–१ र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई २–१ ले हराए । ब्राइटन र टोटनहमले २–२ तथा बर्नली र नटिङ फरेस्टले १–१ को बराबरीमा खेल टुंग्याए । 

केनको दोस्रो ह्याट्रिक

म्युनिख– लयमा रहेका ह्यारी केनले सिजनको दोस्रो ह्याट्रिक रचेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा होफनहाइनलाई ४–१ ले सजिलै हरायो । इंग्लिस कप्तान केनले ४४, ४८ र ७७ औं मिनेटमा गोल गरे । त्यसमध्ये अन्तिम दुई गोल पेनाल्टीमा सम्भव भएको हो ।

उनले यो सिजन १३ गोल गरिसकेका छन् । जितपछि बायर्नको ४ खेलबाट १२ अंक भएको छ । ह्याम्बर्गले हेडेनहेमलाई २–१ ले हरायो । यो माथिल्लो डिभिजनमा टोलीको सात वर्षयता पहिलो जित रह्यो ।

मिलानको महत्त्वपूर्ण जित

मिलान– एसी मिलानले इटालीको सिरी ‘ए’ मा शनिबार युडिनेजीलाई ३–० ले पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मिलानका क्रिस्टियन पुलिसिचले ३९ र ५३ औं मिनेटमा दुई गोल गरे । युसुफ फोफानाले ४६ औं मिनेटमा एक गोल थपे । जितपछि मिलानको ९ अंक भएको छ । युभेन्ट्स १० अंकसहित शीर्षस्थानमा छ । तर टोली भेरोनासँग १–१ को बराबरीमा रोकिएको थियो । यो नतिजासँगै युभेन्ट्सको शतप्रतिशत प्रदर्शनमा पूर्णविराम लागेको छ । बोलोनियाले जेनोआलाई १–० ले पराजित गर्‍यो ।

रियल लगातार सफल

म्याड्रिड– रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा स्पान्योललाई २–० ले हराएर आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्यो । जितपछि रियलको ५ खेलबाट १५ अंक भएको छ । यो जितमा रियलका इडेर मिलिटाओ र केलियन एमबाप्पेले समान एक गोल गरे ।

हारपछि स्पान्योल १० अंकसहित चौथो स्थानमा कायम रह्यो । अन्य खेलमा लेभान्टेले जिरोनालाई ४–०, सेभियाले डेपार्टिभो एलाभेसलाई २–१, भिल्लारियलले ओसासुनालाई २–१ तथा भ्यालेन्सियाले एथलेटिक बिल्बाओलाई २–० ले पराजित गरे ।

एएफपी

Link copied successfully