प्रतियोगिताको समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले कोलम्बोको रेस कोर्स मैदानमा आयोजक देशलाई ४–० ले पराजित गरेको हो ।
काठमाडौँ — बंगलादेशले श्रीलंकालाई आइतबार पराजित गरेपछि नेपाल यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । प्रतियोगिताको समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले कोलम्बोको रेस कोर्स मैदानमा आयोजक देशलाई ४–० ले पराजित गरेको हो ।
यो जितपछि बंगलादेशको दुई खेलबाट ६ अंक भएको छ र समूह विजेता बनेको छ । नेपाल भने दुई खेलबाट ३ अंकसहित समूहको दोस्रो स्थानमा रहेर अन्तिम चार पुगेको हो । श्रीलंका भने दुवै खेलमा पराजित रह्यो र शून्य अंकमा प्रतियोगिताबाट बाहिरिएको छ ।
सेमिफाइनलमा बंगलादेश र नेपालको प्रतिद्वन्द्वी को को हुने हो, त्यो भने तय हुन बाँकी छ । समूह ‘बी’बाट पाकिस्तान र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । दुवैको समान ६/६ अंक छ । उनीहरूमध्ये कसले समूह जित्ने हो, त्यो मात्रै निर्णय हुन बाँकी छ ।
यसको निर्णय सोमबार हुनेछ । प्रतियोगिताको लिग चरणको अन्तिम दिनको खेलमा भारत र पाकिस्तान तथा भुटान र माल्दिभ्स भिड्ने छन् । त्यसमध्ये दिनको पहिलो खेलले समूह जित्ने निर्णय गर्नेछ । अहिलेका लागि पाकिस्तान गोल अन्तरमा समूहको शीर्षमा छ ।
