दोस्रो हाफको उत्कृष्ट प्रदर्शनसँगै फर्साटिकरले उपाधि चुम्न सफल भएको हो ।
तिलोत्तमा — रूपन्देहीमा सम्पन्न २३ औं लिस्नु कप फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर युथ क्लबले हात पारेको छ । आइतबार भएको फाइनल प्रतिस्पर्धामा एवाईसी अञ्चलपुरलाई ६-४ गोल अन्तरले हराउँदै उसले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी हात पारेको हो ।
मैदान प्रवेशको पहिलो मिनेटमै एवाईसीका उज्वल राईले टिमका लागि पहिलो गोल गरे । उनले नै तेस्रो मिनेटमा अर्को गोल गरी एवाईसीलाई २-० को अग्रता दिलाए । पहिलो हाफको २५ औं मिनेट र ३१ औं मिनेटमा सोही टिमका अभि लामा र अजित लामाले १-१ गोल गरेर एवाईसीलाई ४ गोल दिलाए ।
पहिलो हाफमा फर्साटिकरका निरज चौधरीले ३५ औं मिनेट र आकाश थापाले ३६ औं मिनेटमा १-१ गोल गरे । दोस्रो हाफ सुरु भएपछि एवाईसीका खेलाडी केही थकित देखिए । फर्साटिकरका निरज चौधरी र आकाश थापाले पुनः १-१ गोल थपे भने टीकाराज गुरुङले २ गोल गरे । दोस्रो हाफको उत्कृष्ट प्रदर्शनले उपाधि फर्साटिकरको पोल्टामा पुग्यो ।
खेलमा दोस्रो भएको एवाईसीले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । खेलमा फर्साटिकर युथ क्लबका विशाल लामा प्लेयर अफ द टुर्नामेन्ट बने । उनले २५ हजार पुरस्कार पाए ।
आयोजक लिस्नु युवा क्लबका खेलाडी युगल थापा राइजिङ प्लेयर बने भने एवाईसीका उज्वल राई र फर्साटिकरका निरज चौधरी हाइस्कोरर बन्न सफल भएको खेल संयोजक सुदीन भण्डारीले जानकारी दिए । फर्साटिकरका शुभांकर जीसीले बेस्ट गोलकिपरको उपाधि चुमे भने कपिलवस्तु ११ प्रतियोगिताको अनुशासित टिम बन्यो ।
गत भदौ १४ गतेदेखि सुरु भएको लिस्नु कप भदौ २७ गते सकिने भनिएको भए पनि मौसम, जेनजी आन्दोलनका कारण सरेको थियो ।
