‘खेलक्षेत्रमा रहेको पक्षपात र मनपरीतन्त्र अन्त्य हुनुपर्छ’

म अर्को देश छोड्न बाध्य हुने व्यक्ति बन्न चाहन्नँ । आशा छ, खेलकुद र खेलाडीहरूलाई सरोकारवाला निकायहरूले समान रूपमा व्यवहार गर्नेछन् ।

आश्विन ४, २०८२

ध्रुव तुलाधर

”The favoritism and nepotism in the field of sports should end”

काठमाडौँ — कसैले त भ्रष्ट सरकारविरुद्ध बोल्नुपर्थ्यो र कदम चाल्नुपर्थ्यो । त्यो हाम्रो पुस्ता जेन–जीबाट भयो । विरोधले यस्तो विनाशकारी मोड लियो, जुन कसैले पनि कल्पना गरेको थिएन वा चाहेको थिएन । तर मेरो विचारमा यो हुनु नै थियो, ताकि केही राम्रो बाहिर निस्कियोस् ।

यस्ता ठूला क्षतिहरू बेहोरेपछि अब हाम्रो देशले यो पुस्ताले आशा गरेझैं नयाँ दिशातर्फ अघि बढोस् भन्ने अपेक्षा छ । भारी वर्षा र आँधीपछिको उज्यालो, सुनौलो र सुन्दर बिहानीझै ।

नेपालको खेलकुद क्षेत्रले पनि सुधारका लागि उल्लेखनीय रूपान्तरण गर्नैपर्छ, यदि भविष्यमा राम्रो नतिजा ल्याउन चाहन्छ भने । पक्षपात सधैं हाम्रो खेल क्षेत्रमा सबैभन्दा ठूलो समस्या बनिरह्यो । प्रत्येक खेलाडीलाई कसैको प्रिय भएर नभई उनीहरूको क्षमताका आधारमा छानिनुपर्छ ।

त्यस्तै हामीसँग दूरदर्शिता र निरन्तरताको कमी छ । पारदर्शिता र जीवन धान्न सक्ने राम्रो आधार उपलब्ध गराउनुपर्छ । नत्र, त हामी सबैलाई थाहा छ, कसरी हाम्रो राष्ट्रिय गौरव मानिएकाहरू आफ्नो जीवनस्तर सुधार्न देश छोडिरहेका छन् । त्यसैले म अर्को देश छोड्न बाध्य हुने व्यक्ति बन्न चाहन्नँ । आशा छ, खेलकुद र खेलाडीहरूलाई सरोकारवाला निकायहरूले समान रूपमा व्यवहार गर्नेछन् ।

हाम्रो जेन–जी पुस्ताको प्रतिनिधि हुँदै म जिम्मेवारीलाई सम्मान गर्ने र न्याय माग्ने भविष्यको प्रतिनिधित्व गर्दछु । म आफ्ना कर्तव्यहरूमा प्रतिबद्ध छु । तर, हामीले पाउनुपर्ने परिवर्तनका लागि दृढतापूर्वक लडिरहने छु । मैले अहिलेसम्म केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको छु । हरेक पटक त्यो अनुभव सिकाइ र आत्मबोधको यात्रा बनेको छ । मैले सिकेको सबैभन्दा ठूलो पाठ भनेको विश्व खेलक्षेत्रमा नेपाल वास्तवमै कहाँ उभिएको छ भन्ने हो ।

जब म अन्य देशका खेलाडीहरूलाई देख्छु, उनीहरू पूर्ण तयारीसहित सबै सुविधा पाएर अनि ठूलो आत्मविश्वास बोकेर मैदानमा प्रवेश गर्छन् । अनि हामीलाई महसुस हुन्छ, हामी त कति पछाडि रहेछौं भन्ने । यो कहिलेकाहीं मन भित्रैदेखि पीडादायी लाग्छ अनि मानसिकतामै समेत असर पुर्‍याउँछ । तर, यति हुँदाहुँदै पनि हामी मैदानमा उत्रिन्छौं । हाम्रा सीमित स्रोत–साधनसहित पनि हामी आफ्नो सम्पूर्ण शक्ति, आत्मा र पसिना लगाएर लड्छौं । संसारलाई देखाउँछौं, नेपाल पनि छ । दृढता र गर्वका साथ प्रतिस्पर्धा गर्छौं ।

यदि आज हामी यति थोरै सुविधामा पनि यो स्तरमा खेल्न सकिरहेका छौं भने सोच्नुस्, सही प्रशिक्षण, पौष्टिक आहार, सक्षम प्रशिक्षक र उपयुक्त वातावरण पाएका खण्डमा हामी कस्तो सफलता हासिल गर्थ्यौं होला ? म दृढ विश्वास गर्छु, हामी केवल प्रतिस्पर्धा मात्र गर्दैनौं, हामी जित्छौं र राष्ट्रलाई ऐतिहासिक पदक दिन्छौं ।

तर त्यो सपना पूरा गर्न परिवर्तन अपरिहार्य छ । सत्तामा बस्नेहरूको सोच बदलिनुपर्छ । खेलक्षेत्रमा रहेको पक्षपात, विभेद र मनपरीतन्त्रको अन्त्य हुनुपर्छ । प्रशिक्षक चयन खेलाडीको भविष्यसँग जोडिएको गम्भीर निर्णय हो । यो मनपरी वा चिनजानका आधारमा होइन, क्षमता, समर्पण र अन्तर्राष्ट्रिय स्तरको ज्ञानका आधारमा हुनुपर्छ । प्रशिक्षक सचेत, सक्षम र समर्पित भएमात्र खेलाडीलाई सही बाटोमा अगाडि बढाउन सक्छन् ।

म साँच्चै हार्दिक रूपमा भन्न चाहन्छु, यो परिवर्तन अब ढिला नगरियोस् । खेलक्षेत्रलाई पनि सफा गरियोस्, योग्य खेलाडीलाई उनीहरूले योग्य ठानेको समर्थन दिइयोस् । त्यसपछि मात्रै नेपाली खेल अझ उज्यालो हुनेछ अनि हामीले पनि गर्वका साथ संसारलाई देखाउन सक्छौं । नेपाल केवल सहभागी मात्र होइन, विजेता राष्ट्र हो । निशा दर्नाल,  राष्ट्रिय तेक्वान्दो खेलाडी

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully