टेनिसका पूर्व महान् खेलाडी ब्योर्न बर्गले आफ्नो पुस्तकमा स्वीकारेका छन्, आफूसँग कुलतमा लागेको लामो अनुभव छ । अहिले भने उनी क्यान्सरविरुद्ध संघर्ष गरिरहेका छन् ।
स्टकहोम — स्विडेनी टेनिस आइकन ब्योर्न बर्गले आफ्नो आत्मकथाको माध्यमबाट अन्ततः मुख खोलेका छन् । त्यो आत्मकथा बिहीबारदेखि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध रहेको छ ।
त्यसमा उनले आफूलाई लागेको ‘प्रोस्टेड क्यान्सर’ बारे खुलेर बोलेका छन् अनि आफ्नो कोकिन लतबारे । त्यसमा भने उनलाई असाध्यै लज्जा छ । पुस्तकको नाम छ, ‘हार्ट ब्रेक्स’ । यसमा कुल पाना २ सय ९२ रहेको छ ।
अहिले उनी ६९ वर्षका भए । टेनिसका पूर्व महान् खेलाडीभन्दा हुन्छ । उनले आफ्नो पुस्तकमा स्वीकारेका छन्, आफूसँग कुलतमा लागेको लामो अनुभव छ । अहिले भने उनी क्यान्सरविरुद्ध संघर्ष गरिरहेका छन् । ‘जति बेला मैले पहिलो पटक कोकिनको स्वाद चाखें, मैले
टेनिस खेल्दा जस्तै हतार महसुस गरें । र, यो कडा स्वाद थियो ।’ सन् १९८० को सुरुतिर न्युयोर्कको स्टेडियो–५४ मा उनले सबैभन्दा पहिले कोकिन आत्मसात् गरेका थिए ।
बर्गका लागि सबैभन्दा खराब समय त्यही सन् अस्सीको समय थियो, जतिबेला उनी इटालीकी गायिका लारेनडानासँग वैवाहिक जीवनमा थिए । ‘हामी निकै गलत संगतमा थियौं । ड्रग्स र पिल्स निकै सजिलोसँग हाम्रो पहुँचमा थियो । त्यतिबेला म यति धेरै नराम्रोसँग फसें कि मेरासामु अँध्यारोलाई छाडेर अरू केही थिएन,’ उनले पुराना कुरा सुनाएका छन् । सन् १९९६ मा नेदरल्यान्ड्समा उनी बेहोश भएर ढलेका पनि थिए ।
एउटा मैत्रीपूर्ण खेलका लागि त्यहाँ गएका थिए, तर अचानक अचेत भए । जति बेला उनलाई होस आएको थियो, उनी अस्पतालमा थिए । उनको ठीक अगाडि थिए, आफ्नै बुवा । ‘बुवाले केही पनि भन्नुभएन । मलाई फेरि एकपल्ट असाध्यै अप्ठ्यारो पर्यो, लज्जाबोध भयो ।’ उनले आफ्नो पुस्तकमा क्यान्सरले दिएको दुःखबारे पनि लामै लेखेका छन् । सन् २०२३ मा पहिलो पटक त्यसबारे उनलाई थाहा भएको थियो ।
सेप्टेम्बरको समय थियो । उनी अहिले प्रत्येक ६–६ महिनामा गम्भीर परीक्षणबाट गुज्रिने गर्छन् । उनलाई डर छ, फेरि यो कतै फर्केर त आउने होइन ? उनी लेख्छन्, ‘मेरो अगाडि एउटा नयाँ प्रतिद्वन्द्वी छ र हो, क्यान्सर । उसमाथि मेरो कुनै नियन्त्रण छैन । तर मलाई विश्वास छ, म उसलाई हराउन सक्छु । मैले कहिल्यै पनि हार स्वीकार्ने छैन । म प्रत्येक दिन विम्बल्डन फाइनलजस्तै त्यसको सामना गर्ने गर्छु ।’
बर्न साँच्चै असाध्यै प्रतिशाली टेनिस खेलाडी थिए । सुन्दर थिए । सन् सत्तरीको दशकमा उनले आफूलाई विश्वकै सबैभन्दा उत्कृष्ट टेनिस खेलाडीका रूपमा प्रस्तुत गरेका थिए । उनी चुपचाप खेल्थे र कोर्टमा उनको सबैभन्दा ठूला प्रतिद्वन्द्वी थिए, रिसाहा जोन म्याकन्रो ।
ब्योर्नको उपनाम नै थियो, ‘आइसबर्ग’ । उनले कुल ११ ग्रान्ड स्लाम उपाधि जिते । यसक्रममा विश्व खेलकुदकै ‘सुपर स्टार’ बने । उनले जितेका ती ग्रान्ड स्लाममा ५ विल्बल्डन थिए भने ६ फ्रेन्च ओपन । युएस ओपनमा चार पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेका उनी अस्ट्रेलियन ओपनमा भने तेस्रो चरणभन्दा माथि पुग्न सकेनन ।
सन् १९८१ मा ब्योर्नले सबैलाई घोर आश्चर्यमा पार्दै संन्यास लिए । उनी भर्खर २६ वर्षका थिए । संन्यास लिएपछि उनी लगभग ४० वर्षसम्म हराएजस्तै स्थितिमा रहे । उनको आत्मकथालाई विश्वास गर्ने हो भने त्यसपछिको उनको जीवन पनि राम्रो रहेन । टेनिस छोड्दा उनी यो खेललाई घृणा गर्थे ।
ती दिन सम्झेर उनले भनेका छन्, ‘मलाई के लाग्यो भने म यो विश्वका लागि ठीक छैन । मेरो जीवन पनि आफैंमा नारकीय रह्यो । प्रत्येक सेकेन्ड मलाई बोझ लाग्न थालेको थियो । तर अहिले म शान्त छु । मलाई के थाहा छ भने अब मेरो अगाडि सुखको कुनै स्रोत छैन । जति बेला मैले टेनिस छाडें, त्यसलाई चटक्कै छाडेको थिएँ, टेनिसका सबै साथीलाई पनि छाडेको थिएँ ।’
