सरकार र युवाहरू मिलेर गयो भने भ्रष्टाचार रोक्न सकिन्छ जस्तो लाग्छ । युवाहरूको आवाज एकै पटक पोखिए जस्तो लाग्छ ।
युवाहरूले आन्दोलन गर्नु राम्रो हो, किनभने यहाँ युवाको आवाज दबिए जस्तो लाग्छ । तर अन्त्यमा जुन सरकारी र सार्वजनिक क्षेत्रमा ठुलो क्षति पुर्याउने कार्य गरियो, त्यो निकै दुःखद थियो । अहिले जुन अन्तरिम सरकारले नेतृत्व लिएको छ, त्यसले सही दिशा लिन्छ भन्ने एकदम विश्वास लिएको छु ।
जनताहरू पनि यसलाई लिएर निकै सकारात्मक देखिनुभएको छ । सबै राम्रो पृष्ठभूमिबाट आउनुभएको छ । त्यसैले म निकै आशावादी छु ।
जेन–जी आन्दोलनमा युवाहरूले जुन योगदान दिनुभएको छ, जे सोच्नुभएको थियो, मलाई लाग्छ, उहाँहरूले पाउनुभयो जस्तो लाग्छ । अव यहाँबाट कुनै गल्ती नगरिकन अहिलेको सरकारले देश चलाउनु पर्यो । जेन–जीको पहिलो आक्रोश देशमा रहेको भ्रष्टाचार र बेथितिप्रति थियो । दोस्रोमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हुन सक्थ्यो । सामाजिक सञ्जाल खुलिसकेको छ । सरकार र युवाहरू मिलेर गयो भने भ्रष्टाचार रोक्न सकिन्छ जस्तो लाग्छ । युवाहरूको आवाज एकै पटक पोखिए जस्तो लाग्छ । तातो जोश हुन्छ युवाहरूमा । उनीहरूलाई पनि सही दिशा देखाउनु जरुरी हुन्छ ।
जुन हिसाबको देश हुनुपर्छ भनेर हामी सवैलाई लाग्छ, त्यो नेपाल निर्माणमा अब जुट्नुपर्छ । इमान्दार भएर काम गर्ने हो भने यो लक्ष्यमा पुग्न सकिन्छ । यसका लागि युवादेखि अनुभवी सबै एकै ठाउँमा हुनुपर्छ । जसरी खेलकुदमा टिम एकता हुन्छ, त्यो एकता राजनीतिमा पनि चाहिन्छ । सवैको अनुभवलाई एकै ठाउँ राखेर अगाडि बढाउँदा राम्रो पक्ष अझ बढी निस्किन सक्छ । नेपाल क्रिकेटले धेरै पटक देशलाई एकबद्ध बनाएको छ ।
हामी अहिले दुई महत्वपूर्ण शृंखलाका लागि विदेश खेल्न जाँदै छौं । त्यसैले हामी क्रिकेट खेलाडीमा अहिले ठुलो जिम्मेवारी आएजस्तो लाग्छ । पहिला पनि हामी विभिन्न प्रतियोगिता खेल्न जाने गरेका थियौं । तर देशको अवस्थाअनुसार यसपटकको जिम्मेवारी फरक रहेको हामी खेलाडीले बुझेका छौं । अतिरिक्त जोश लिएर हामी जाँदै छौं, किनभने पछिल्लो १०–१२ दिन देश राम्रो स्थितिमा रहेन । ७४ जनाभन्दा बढी निधन भयो । एक जना हाम्रै युवा क्रिकेट खेलाडीको निधन भयो ।
यूएईमा हुने वेस्ट इन्डिजसँगको शृंखला र त्यसपछि ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोटले अहिले देशलाई खुसी दिने अवसर हामी क्रिकेट टोलीसामु आएको छ, त्यो जिम्मेवारी हामीले लिनुपर्छ । हामी त्यसलाई पूरा गर्न सक्दो प्रयास गर्नेछौं । हाम्रो तयारी पनि त्यहीअनुसार छ । त्यसमा हामी निकै आशावादी छौं । हामी विश्वकपमै छनोट भयो भने देशको यो माहोल पूरा परिवर्तन हुन्छ जस्तो लाग्छ ।
शतप्रतिशत नै नभए पनि विश्वकप छनोट भयौं भने ५० प्रतिशतमाथि नेपालको अनुहारमा मुस्कान पक्का आउने छ । खेलकुदले देशलाई एकबद्ध बनाउँछ । युवा होस् वा पाका, खेलकुदमा सबै एकै ठाउँमा आउनुहुन्छ । हाम्रो खेलकुदमा त्यो शक्ति छ । देश बनाउन सबैजना मिल्नुको विकल्प छैन, सबैले एकअर्कालाई सहयोग गरौं । अहिले हामी कठिन समयमा छौं ।
