विश्व एथलेटिक्स च्याम्पियनसिपको पोलभल्टमा स्विडिस खेलाडी अर्मान्ड डुप्लान्टिस १४ औं पटक विश्व कीर्तिमान बनाउन सफल
What you should know
पेरिस — इतिहास निर्माता हुन्, अर्मान्ड डुप्लान्टिस । उनी भर्खरै तेस्रोपल्ट पोलभल्टको विश्व च्याम्पियन भएका छन् । उनले १४ औं पटक विश्व कीर्तिमान बनाए । यससँगै विश्व पोलभल्टमा उनको एकछत्र प्रभुत्व कायम रह्यो । उनलाई विश्व एथलेटिक्सका ‘मोर्डन डे ग्रेट’ पनि भन्न थालिएको छ । उनको एक झल्को पाउन सोमबार राति टोकियोका दर्शक अबेरसम्म ओलम्पिक रंगशालामा बसिरह्यो ।
उनीहरूको आँखा अगाडि डुप्लान्टिस ६.३० मिटर नाघ्ने पहिलो मानव बने । यी २५ वर्षीय खेलाडीले पछिल्ला आठ ठूला प्रतियोगितामा लगातार स्वर्ण जितेका छन् । यसमध्ये केही प्रतियोगिता इन्डोर त केही आउटडोर छन् । चार वर्षअगाडि टोकियोकै रंगशालामा उनले पहिलो ठूलो सफलता चाखेका थिए । उनको पहिलेको प्रदर्शन पनि कम्तीको छैन । अझ त्यसमा अथाह प्रतिभा र जादु दुवै देखिन्थ्यो ।
दुईपल्टका ओलम्पिक च्याम्पियनले विश्व एथलेटिक्स च्याम्पिनयसिपको स्वर्ण जित्न सुरुमै ६.१५ मिटर सफलतापूर्व नाघे । यससँगै ग्रिक खेलाडी इमानोल कारालिसको चुनौती सकिएको थियो । यसपछि डुप्लान्टिसले एक सेन्टिमिटर बढी उचाइका लागि प्रयास गरे । उनीबाट बाँकी प्रतिद्वन्द्वी कति धेरै प्रभावित रहे भने रजत पदक जितेका कारालिस आफैंमा मन्त्रमुग्ध दर्शक बने ।
कीर्तिमान उचाइका लागि अन्तिम प्रयास गर्ने क्रममा डुप्लान्टिसले सबैभन्दा पहिले सबै दर्शकलाई ताली बजाउन अनुरोध गरे । सबैले माने । यससँगै जापानको राष्ट्रिय स्टेडियम हर्षोल्लास देखिएको थियो । नभन्दै उनले नयाँ कीर्तिमान बनाए । अपार खुसीयालीमा रमाए उनी । उनको खेल हेर्नका लागि दर्शक रातिको ११ बजेसम्म रंगशालामै थिए, आ–आफ्नो कुर्सीमा टाँसिएर ।
‘मैले अनुमान गरेभन्दा पनि आज राम्रो भयो,’ डुप्लान्टिसले खेलपछि भने, ‘मैले यहाँ जम्मा भएका दर्शकलाई जुन खुसी दिन पाएँ, त्यसले मलाई पनि प्रसन्न बनाएको छ ।’ सन् २०२५ मै मात्र उनले विश्व कीर्तिमान बनाएको यो चौथोपल्ट हो । आफ्नो खेलजीवनमा उनको यो अहिलेसम्मकै उच्च प्रदर्शन हो । धेरैलाई लाग्न थालेको छ, सायद उनसँग प्रदर्शनको कुनै सीमा छैन ।
यो विधामा कांस्य पदक जित्ने खेलाडी रहे, कुर्टिस मार्कल । उनले ठीकै भने । उनको भनाइ थियो, ‘आजको रात अपूर्व रह्यो, दर्शक जति खुसीले मख्ख थिए । डुप्लान्टिस साँच्चै अर्कै ग्रहबाट आएका खेलाडी हुन् । उनले जे गर्छन्, अद्वितीय गर्छन् । उनको प्रदर्शन धेरैका लागि असम्भवजस्तै लाग्न सक्छ । म आफैं पनि उनको यसपछिको प्रदर्शन कस्तो हुने हो, त्यो हेर्न आतुर छु ।’
डुप्लान्टिसलाई मायाले बोलाउने नाम हो, मोन्डो । टोकियोमा स्वर्ण जितेवापत उनले ७० हजार डलर पाए अनि विश्व कीर्तिमानका लागि एक लाख डलर । तर उनका लागि पैसा नै सबथोक नहुन सक्छ । हजारौं लाखौं दर्शकसामु विश्व कीर्तिमान बनाउँदा जुन मोहकता छ, त्यसबाट उनी बढी प्रभावित देखिन्थे । उनले जितेका पछिल्ला आठ स्वर्णमध्ये एक सन् २०२४ को पेरिस ओलम्पिकको हो ।
त्यही ओलम्पिकका क्रममा डुप्लान्टिस पोलभल्टमा लगातार दोस्रो पटक स्वर्ण जित्ने ६८ वर्षयताका पहिलो खेलाडी बनेका थिए । अबको प्रश्न हो, उनले आफूले आफैलाई रोक्न नखोजेसम्म जित्ने स्वर्णको संख्या कति होला ? ओलम्पिकका पूर्व हेप्टाथलन च्याम्पियन जेसिका इनिस–हिल भन्छिन्, ‘कसैलाई पनि डुप्लान्टिसको सीमितता थाहा छैन । उनले साँच्चै कतिसम्म नाघ्ने हो, त्यो कसैले पनि अनुमान गर्न सक्दैन ।’
उनी थप्छिन्, ‘आज जुन सनसनीपूर्ण अवसर देखियो, त्यसले सबैको स्वास एकक्षणलाई भए पनि रोक्छ । उनी आफैं कति धेरै दबाबमा छन्, मैले त्यो पनि अनुमान गर्न सकिनँँ । तर एउटा तथ्य निश्चित छ, डुप्लान्टिस साँच्चै आधुनिक महान खेलाडी हुन् र उनले विश्व खेलकुदको भविष्य तयार पारेका छन् । पोलभल्ट एउटा यस्तो कठिन विधा हो, जसमा सम्पूर्णता प्राप्त गर्न डुप्लान्टिस जत्तिकै खेलाडी चाहिन्छ, अरूले सक्दैनन् ।’
उनको जन्म अमेरिकामा भएको हो । तर उनले आफ्नी आमा जन्मेको देश स्विडेनको प्रतिनिधित्व गर्न रूचाए । उनी अन्तिम पटक पराजित भएको भनेको सन् २०१९ मा दोहामा भएको विश्व च्याम्पिनयसिपमा हो, जति बेला उनी किशोर नै थिए । अब प्रश्न हुनसक्छ, पोलभल्ट जस्तो निकै कठिन स्पर्धामा डुप्लान्टिसले कसरी महारथ प्राप्त गरे ? यसको रहस्य साँच्चै के हो त ?
खेल पण्डितहरू के मान्छन् भने डुप्लान्टिसको सबैभन्दा बलियो पक्ष्ँ भनेको सुरुआती दौड हो । यो कुनै सय मिटर दौडिने खेलाडीको भन्दा कम छैन । यसले नै उनलाई बढी उचाइ नाघ्न सहयोग गर्ने गर्छ । यो नै उनको पोल्टभल्ट खेलाडी हुनुको आधार हो । कुनै समय यो विधालाई विश्वब्यापी रूपमै लोकप्रिय बनाउने खेलाडी थिए, सर्गेइ बुक्का । डुप्लान्टिस उनीभन्दा पनि अगाडि पुगिसकेका छन् ।
उनी हुर्केको भनेको लुसियानामा हो । सानो छँदा घर पछाडि पोलभल्टको अभ्यास गर्थे । उनका बुवा ग्रेग पनि यही विधाका खेलाडी हुन् । विश्वास नहुन सक्छ, उनको अहिलेका प्रशिक्षक भन्नु पनि उनकै आमाबुवा हुन् । उनले जसरी एकपछि अर्को विश्व कीर्तिमानलाई प्रयास गर्छन्, त्यसले पनि उनलाई विशेष बनाएको छ । त्यसै कारण यसपल्टको विश्व च्याम्पिनसिपमा पनि पोलभल्ट सबैभन्दा लोकप्रिय विधा साबित भएको छ ।
यस्तोमा डुप्लान्टिस विश्व एथलेटिक्सका लागि अबका केही वर्षसम्म सबैभन्दा लोकप्रिय र परिचित अनुहार हुनेछन् । साँच्चै १५ सय मिटर दौडका पूर्वच्याम्पियन स्टिभ क्रामले ठीकै भनेका छन् । उनको भनाइ थियो, ‘विश्व एथलेटिक्सलाई लोकप्रिय बनाउन एक अर्को उसेन बोल्टको आवश्यकता थियो । डुप्लान्टिसले त्यो आवश्यकता पूर्ति गरेका छन् । उनी नयाँ सुपर स्टार हुन् । विश्व एथलेटिक्सलाई कोही न कोही यस्ता खेलाडी चाहिन्छ ।’
