पूर्ण राष्ट्रविरुद्ध नेपालले पहिलो पटक ट्वान्टी–२० शृंखला खेल्दै छ । अझ त्यसमा वेस्ट इन्डिजले दुई पटक ट्वान्टी–२० विश्वकप जितिसकेको छ ।
काठमाडौँ — वेस्ट इन्डिजविरुद्ध हुने तीन ट्वान्टी–२० शृंखला खेल्न नेपाली क्रिकेट टोली शुक्रबार यूएई जाने छ । नेपालले ट्वान्टी–२० मा पहिलो पटक वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
पूर्ण राष्ट्रविरुद्ध नेपालले पहिलो पटक ट्वान्टी–२० शृंखला खेल्दै छ । अझ त्यसमा वेस्ट इन्डिजले दुई पटक ट्वान्टी–२० विश्वकप जितिसकेको छ ।
वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने छ । त्यसैले नेपालले यसलाई ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ ।
गत अप्रिलमा वेस्ट इन्डिज ‘ए’ को टोली नेपाल भ्रमण आएर ५ खेलको शृंखला ३–२ ले जितेको थियो । एक खेलमा कप्तान रोहित पौडेलले शतक पनि बनाएका थिए । ‘पछिल्लो पटक वेस्ट इन्डिज ‘ए’ सँग खेल्दा हामी ३–२ ले हारेका थियौं । त्यो प्रेरणा हामी सबैसँग छ । यसपटक हामी शृंखला जित्न खेल्ने छौं । पछिल्लो दुई वर्ष हामीले धेरै टेस्ट राष्ट्रसँग खेल्यौं । त्यसै पनि यसपल्ट हामी राम्रो गर्नेमा विश्वस्त छौं,’ कप्तान रोहितले भने ।
‘वेस्ट इन्डिज धेरै राम्रो टोली हो । राम्रा खेलाडी नेपालसँग खेल्न आइरहेका छन् । यसले हामीलाई राम्रो एक्सपोजर पनि दिन्छ । विश्वकप छनोटअगाडि यो खाले खेल खेल्न पाउँदा हाम्रो तयारीलाई निकै राम्रो सघाउँछ,’ उनले अगाडि भने, ‘तर हामी सवैलाई आत्मविश्वास छ, वेस्ट इन्डिजलाई हराउन सकिन्छ भन्नेमा ।’
आदिल आलम अन्सारी र सन्दीप जोरालाई समावेश गर्दै नेपालले यसअघि नै १६ सदस्यीय टोली घोषणा गरिसकेको छ । अस्ट्रेलिया भ्रमण गुमाएका स्पिनर ललित राजवंशी पनि टोलीमा फर्किसकेका छन् । अस्ट्रेलिया भ्रमणपछि मुख्य प्रशिक्षक स्टुवार्ट ल उतै थिए । उनी त्यहींबाट शारजहाँ पुग्ने कार्यक्रम छ । उनको अनुपस्थितिमा प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाली टोलीलाई प्रशिक्षण गराएका थिए ।
हालै यूएईले नेपाललाई भिसा रोकेपछि नेपाली टोलीले बिहीबार रातिसम्म भिसा हात पारेको थिएन । शुक्रबार बिहानै नेपाली टोलीको उडान तालिका छ ।
वेस्ट इन्डिजको टोलीमा व्यापक परिवर्तन
नेपालविरुद्ध खेल्ने टोलीमा वेस्ट इन्डिजले व्यापक परिवर्तन गरेको छ । नियमित कप्तान साई होप र प्रशिक्षक डारेन सामी नेपालविरुद्धको शृंखलाका लागि वेस्ट इन्डिज टोलीमा हुने छैनन् । पाँच ‘अनक्याप’ खेलाडी रहेको १५ सदस्यीय वेस्ट इन्डिजको कप्तानी देव्रेहाते स्पिनर अकेल हुसैनले गर्नेछन् ।
वेस्ट इन्डिजको प्रशिक्षकमा रायन ग्रिफिथ छन् । वेस्ट इन्डिजका पूर्व अनुभवी प्रशिक्षक ओटिस गिब्सनले टोलीको तीब्र बलिङ परामर्शदाताको रूपमा रहने छन् । माथिल्लोक्रमका ब्याटर अकिम अगुस्टे, ब्याटिङ अलराउन्डर नवीन बिडाइसी, लेग स्पिनर जिसन मोटारा, देव्रेहाते तीब्र बलर रेमोन सिमोन्ड्स र विकेटकिपर ब्याटर अमिर जान्गुले नेपालविरुद्ध ‘डेब्यु’ गर्ने सम्भावना रहेको छ ।
यसअघि नै अमेरिकाबाट ८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका करिमा गोरेले वेस्ट इन्डिजबाट भने खेलेका छैनन् । क्यारेबियन प्रिमियर लिगमा उनले एन्टिगुवा एन्ड बर्मुडाबाट खेल्दै राम्रो प्रभाव पारेका थिए । सोक्रममा उनले ११ खेलमा २ सय १९ रन बनाएका थिए ।
हुसैनसहित वेस्ट इन्डिजको टोलीमा फाबियन एलेन, जेसन होल्डर, केयल मेयर्स जस्ता अनुभवि खेलाडी पनि छन् । अक्टोबर २ देखि भारत भ्रमणमा २ टेस्ट र ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने भएर पनि वेस्ट इन्डिजले केही प्रमुख खेलाडीलाई आराम दिएको छ ।
अघिल्लो महिना पाकिस्तानविरुद्ध ट्वान्टी–२० खेलेको टोलीका सेरफेन रदरफोर्ड, रोस्टन चेज, रोमारियो सेफर्ड, गुडाकेस मोटीलाई नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोलीमा राखिएको छैन ।
