आर्थिक वर्षको प्रशिक्षण भदौ १ देखि सुरु भइसकेको राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन् ।
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण पुनः सुरु भएको छ ।
आर्थिक वर्षको प्रशिक्षण भदौ १ देखि सुरु भइसकेको राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन् । उनका अनुसार जेन–जी आन्दोलनले उत्पन्न परिस्थितिका कारण ५ दिन प्रशिक्षण हुन सकेन ।
‘आन्दोलनको दोस्रो दिन भदौ २४ गते पनि खेलाडीहरू बिहान प्रशिक्षणका लागि आएका थिए । आन्दोलनले गर्दा स्थिति असहज बन्दै गएपछि खेलाडी फर्केका थिए,’ श्रेष्ठले भने, ‘त्यसपछि भदौ २९ देखि प्रशिक्षण सुचारु भएको हो ।’
विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), जुडो, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी ९ खेलका १ सय १० खेलाडी सहभागी छन् । त्यसमा ४४ पुरुष र ६६ महिला छन् । ९ खेलका लागि १८ प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ ।
जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित १९ औं एसियाली खेलकुद सम्पन्न भएलगत्तै जापान एसियाडका लागि विशेष प्रशिक्षण सुरु गरिएको थियो ।
एसियाली खेलकुद सकिएलगत्तै अर्को संस्करणका लागि तयारी प्रशिक्षण थालिएको पहिलो पटक हो । विशेष प्रशिक्षण २०८० साल माघ १५ देखि सुरु भएको थियो । १९ औं संस्करणको एसियाली खेलकुद २०८० साल असोज ६ देखि २१ सम्म चीनको हाङझाउमा भएको थियो ।
