नवयुवाको आत्मघाती गोल बीपीका लागि विजेता गोल बन्यो ।
तिलोत्तमा — ३७ औं झरना रनिङ शिल्ड नकआउट प्रतियोगिताको उद्घाटन खेलमा बीपी कोइराला स्पोर्ट्स क्लब विजयी भएको छ । उसले नवयुवा खेलकुद तथा सांस्कृतिक युवा क्लबलाई हराएको हो।
खेलको सुरुवाती ५ मिनेटमै नवयुवा क्लबका खेलाडी सुदीप पुलामीले आत्मघाती गोल गरे। खेलको १३ औं मिनेटमा नवयुवाका क्याप्टेन संगम सोमरेले गोल फर्काए । त्यसलगत्तै बीपी कोइराला स्पोर्ट्स क्लबका सरोज दर्लामीले गोल गरे । नवयुवाको आत्मघाती गोल बीपीका लागि विजेता गोल बन्यो ।
खेलमा प्रथम हुने टिमले ३ लाख ४१ हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने ले १ लाख ८६ हजार पुरस्कार पाउनेछ । साथै अन्य विधामा समेत पुरस्कारको व्यवस्था गरिएको झरना स्पोर्ट्स क्लबका सचिव मोहनसिंह रानाले जानकारी दिए ।
बिहीबार लुम्बिनी फुटबल क्लब दाङ र जनज्योति फूटबल क्लब डिङ्गनगरबीच प्रतिस्पर्धा हुनेछ । झरना रनिङ शिल्डमा १२ टिमको सहभागिता छ । प्रतियोगिता असोज १३ सम्म चल्नेछ ।
