फिक्का बन्दै भारत–पाकिस्तान क्रिकेट

अब यी दुईबीचको क्रिकेट फिक्का हुन थालेको छ । यसको एउटा उदाहरण त जारी एसिया कप क्रिकेटमै देखियो ।

भाद्र ३१, २०८२

एजेन्सी

India-Pakistan cricket fading

What you should know

दुबई — भारत र पाकिस्तानबीच हुने क्रिकेट अब साँच्चै त्यस्तो रहेन, जस्तो पहिले हुने गर्थ्यो । कुनै समय थियो, यी दुई छिमेकी टिम क्रिकेटको मैदानमा भिड्दा चारैतर्फ सनसनी मच्चिन्थ्यो ।

अझभन्दा माथिल्लो स्तरको क्रिकेट हुन्थ्यो, अब्बल दर्जाको ब्याटिङ र बलिङ देख्न पाइन्थ्यो । अब यी दुईबीचको क्रिकेट फिक्का हुन थालेको छ । यसको एउटा उदाहरण त जारी एसिया कप क्रिकेटमै देखियो ।

भारतले पाकिस्तानलाई ७ विकेटले सजिलै हरायो । पछिल्लो समय पाकिस्तानको क्रिकेटले भारतसामु त्यस्तो चुनौती पेस गर्न छाडेको छ । त्यसैले पनि धेरै हदसम्म यसले आफ्नो स्वाभाविक चमक गुमाएको हो । यस्तोमा अब सायद भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रिँदा बहिष्कार गर्ने नारा पनि कमजोर हुन थालेको छ । एसिया कपको त्यस खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान १ सय २७ रनमै रोकियो ।

त्यसपछि भारतले १५.५ ओभरमात्र उपयोग गरेर जित निकाल्यो । भारत कुनै पनि समय दबाबमा देखिएन । अझ नमज्जा त के भने दुई परस्पर विरोधी टिम मैदानमा उत्रिँदा पनि त्यसले उत्पन्न गर्ने सनसनी यसपल्ट देख्न पाइएन । केही मिडियाले शुभमन गिलविरुद्ध साहिद साह अफ्रिदी तथा अरू केहीले भारतीय स्पिनरविरुद्ध पाकिस्तानी स्पिनरको चर्चा गरे । तर यसलाई पनि कसैले गम्भीर मानेनन् ।

बरू खेलअघि समाचार त्यो बन्यो, जसमा भारतीय टिमलाई सुझाव दिइएको थियो, पाकिस्तानविरुद्ध क्रिकेट नखेलेकै राम्रो । भारतको पहलगाममा भएको आतंककारी आक्रमणको पृष्ठभूमिमा यो खेल भएको थियो । खेल सकिँदा सबैले भनेको एउटै थियो, भारतको जित ‘रुटिन विन’ मात्रै रह्यो । यो खेलमा मात्र होइन, पाकिस्तानी टिमले भारतको सामना गर्दा उसको ब्याट र बल दुवैबाट प्रदर्शन कमजोर हुन थालेको छ ।

त्यसैले त दुबईमा भएको यो खेल हेर्न आउनेले दुबई क्रिकेट मैदान भरिएन । यस क्रिकेट रंगशालाको क्षमता २५ हजार जति थियो र त्यसमध्ये एक चौथाइ कुर्सी खाली देखिए । टिकट बिक्री पनि सुस्त गतिमा चलेको थियो । अन्त्यमा सबै टिकट पनि बिकेन । अरू बेला दुवै टिमका समर्थक यस्तै खेल हेर्न दुबई यात्रा गर्थे । यसपल्ट यो प्रवृत्ति खासै देखिएन । हुँदै भएनभन्दा हुन्छ ।

यी सबैबीच गलत घटनाक्रम समाचार बने । ती प्रमुख समाचार नै रहे । जस्तो टसका बेला पनि भारतीय कप्तान सूर्यकुमार यादवले आफ्ना पाकिस्तानी समकक्षी सलमान आगासँग हातै मिलाएनन् । खेल सकिएपछि पनि भारत खेलाडीले पाकिस्तानी खेलाडीसँग हात मिलाउन चाहेनन् । दुवै अवसरमा यत्तिको सद्भाव अनिवार्य जस्तै हुन्थ्यो । यसको बदलामा पछि पाकिस्तानी कप्तान पोस्टम्याच कन्फ्रेन्समै आएनन् ।

धेरैले भारतीय कप्तान र खेलाडीको यो प्रवृत्तिप्रति आलोचना गरिरहेका छन् । पाकिस्तानी पक्षले यसलाई लिएर औपचारिक रूपमै गुनासो गरिसकेको छ । उनीहरू कोही न कोहीलाई कारवाही होस् भन्ने चाहन्छ । पाकिस्तानका प्रशिक्षक माइक हेसनले पनि निराशा पोखेका छन् । सूर्यकुमारले भने यसको जवाफ दिने प्रयास गरेका छन् । उनले भनेका छन्, ‘केही कुरा खेलभन्दा पनि माथि हुन्छ ।’

खेल पण्डितहरू के मान्न थालेका छन् भने पाकिस्तानी क्रिकेटको स्तर साँच्चै घटेको छ । त्यो पनि विशेषतः भारतको सामना गर्दा । जस्तो, सन् २०२४ को च्याम्पियन्स ट्रफीदेखि त्यही वर्षको ट्वान्टी–२० विश्वकप अनि सन् २०२३ को एकदिवसीय विश्वकप, यी सबैमा पाकिस्तान भारतसामु अपेक्षित चुनौती पेस गर्न असफल रह्यो । फेरि पाकिस्तानको घरेलु क्रिकेटभित्र पनि अचेल विवाद, आरोप प्रत्यारोपभन्दा अरू खासै केही रहन छाडेको छ । 

एजेन्सी

Link copied successfully