वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जानेछ ।
What you should know
काठमाडौँ — आदिल आलम अन्सारी र सन्दीप जोरालाई समावेश गर्दै नेपालले वेस्ट इन्डिजविरुद्ध हुने ट्वान्टी–२० शृंखलाका लागि सोमबार १६ सदस्यीय टोली घोषणा गरेको छ । नेपालले यूएईको शारजहाँमा वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेल्दै छ ।
पूर्ण टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक ट्वान्टी–२० शृंखला खेल्न लागेको नेपाली टोलीमा आदिल र सन्दीपले पुनरागमन गरेका हुन् । अघिल्लो महिना नेपाल ‘ए’ ले गरेको भारत भ्रमणपछि यी दुईले प्रभाव पारेका थिए । अस्ट्रेलिया भ्रमण गएको १६ सदस्यीय नेपाली टोलीबाट रुपेश सिंह र भीम सार्कीको स्थानमा आदिल र जोरालाई ल्याइएको हो ।
त्यस्तै मातृशोकका कारण अस्ट्रेलिया भ्रमण गुमाएका ललित राजवंशी पनि नेपाली टोलीमा फर्किएका छन् । आदिलमाथि ३ वर्षअघि भएको नेपाल ट्वान्टी–२० लिग स्पट फिक्सिङको आरोप लागेको थियो । त्यसयता उनी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश हुने भएका हुन् । जोराले चोटका कारण पछिल्लो पटक खेलेका थिएनन् । नेपालका अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लको मातहातमा दुवैले पहिलो पटक खेल्न लागेका हुन् ।
रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिजविरुद्ध हुने ट्वान्टी–२० शृंखलाको घोषित टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकश बम, कुशल मल्ल, आदिल, आरिफ शेख, जोरा, करण केसी, नन्दन यादव, गुलशन झा, ललित, सोमपाल कामी र शाहब आलम छन् ।
वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा खेलेपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जानेछ ।
