इंग्लिस प्रिमियर लिग: शतप्रतिशत नतिजासँगै लिभरपुल अगाडि

लिभरपुलले खेल पूर्ण नियन्त्रण राखे पनि निर्णायक गोलका लागि संघर्ष गर्नुपरेको थियो

भाद्र ३०, २०८२

एएफपी

लन्डन– डिफेन्डिङ च्याम्पियन लिभरपुलले आइतबार इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित गरेको छ । मोहम्मद सलाहले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । टर्फ मुरमा भएको यो खेलको नतिजापछि लिभरपुलको शतप्रतिशत सुरुआत कायम राख्दै फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ । 

यो नतिजापछि लिभरपुलको ४ खेलबाट १२ अंक भएको छ । बर्नली खेलको अन्त्यमा १० खेलाडीमा सीमित रह्यो । लेस्ली युगोचोक्वु रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । बर्नलीको ४ खेलबाट ३ अंक छ । 

आइतबारकै अर्को खेलमा .म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३–० ले पराजित गरेको थियो । इतिहाद स्टेडियममा भएको खेलमा फिल फोडेनले सिटीलाई १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसमा इर्लिङ हालान्डले ५३ औं र ६८ औं मिनेटमा दुई गोल थपेका थिए । 

त्यसअघि फाबियो कार्भाल्होले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्डले शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको थियो । मोसे काइसेडोले ८५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ ले अगाडि राखेपछि टिम विजयतर्फ अग्रसर देखिएको थियो । 

यसअघि केभिन स्चाडेको गोलमा ब्रेन्टफोर्डले अग्रता लिएपछि कोल पाल्मरले बराबरी गोल फर्काएका थिए । यो यो नतिजापछि चेल्सी ८ अंकसहित पाँचौं स्थानमा छ । टोटनहमले वेस्ट ह्यामलाई ३–० ले पराजित गरेको थियो । ४ खेलमा तेस्रो जित हात पारेर टोटेनहम तेस्रो स्थानमा उक्लेको छ । 

एएफपी

Link copied successfully