पाकिस्तानमाथि भारतको सजिलो जित 

एसिया कप क्रिकेटमा भारत लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणतर्फ

भाद्र ३०, २०८२

एजेन्सी

दुबई– भारतले आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पन्छाउ“दै एसिया कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । स्पिनरहरूको दबदबापछि भारतले आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानमाथि ७ विकेटको विजय हात पारेको थियो ।

गत मे महिनामा भएको सैनिक द्वन्द्वपछि यी देशले एकअर्काविरुद्ध खेलेको थिएन । यो खेलपछि दुवै टोलीका खेलाडीले हात भने मिलाएनन् । लक्ष्य प्राप्तिका लागि सजिलो रहेको विकेटमा टस जितेर ब्याटिङ गर्ने कप्तान सलमान अघाको निर्णय पाकिस्तानलाई निकै महङ्गो पर्‍यो । टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २७ रनमात्र बनाउन सक्यो । 

हार्दिक खेलको पहिलो बलमै सइम अयुबलाई आउट गरेपछि भारत सुरुदेखि नै खेलमा हाबी भयो । मोहम्मद हरिसले पनि ३ रनमात्र बनाउन सके । ओपनर साहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । उनले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे । 

ओपनर शुभमन गिल ७ बलमा २ चौकासहित १० रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्माले १३ बलमै ३१ रन बनाए । यी देब्रेहाते ब्याटरले ४ चौका र २ छक्का प्रहार गरे । तिलक बर्मा प्रतिबलको हिसाबले २ चौका र १ छक्का हान्दै ३१ रनमा आउट भए । पाकिस्तानबाट सबै ३ विकेट अफ स्पिनर अयुबले लिएका थिए । उनले सोक्रममा ४ ओभरमा ३५ रन खर्चे । 

भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा ओमानलाई पराजित गरेको पाकिस्तानले दोस्रो चरणमा प्रवेश पाउन यूएईलाई पराजित गर्नुपर्ने हुन्छ । 

एजेन्सी

Link copied successfully