काठमाडौं — यू–१७ साफ च्याम्पियनसिप सोमबारदेखि श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ र त्यसको पहिलो खेलमै भिड्दैछन्, नेपाल र आयोजक श्रीलंका ।
नेपाल समूह ‘ए’ मा रहेको छ र टिमको अर्को प्रतिद्वन्द्वी रहेको बंगलादेश । नेपालको समूहमा तीनै टिम मात्र छन् । अर्को समूह ‘ए’मा भने चार टिम छन् र ती हुन्, डिफेन्डिङ च्याम्पियनसँगै भुटान, माल्दिभ्स र पाकिस्तान ।
प्रत्येक समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्नेछ । नेपाली टिमको पहिलो लक्ष्य यही रहेको छ, सेमिफाइनल प्रवेश । आइतबार आयोजित ‘प्रि–म्याच कन्फ्रेन्स’मा नेपाली टिमका प्रशिक्षक सञ्जित सिंह यस्तै दाबी गरे ।
उनले भने, ‘हामीले प्रतियोगिताका लागि प्रशिक्षण गर्न कमै समय मात्र पायौं । जति समय पायौं, त्यसमा खेलाडीले राम्रो तयारी गरे । हामी प्रतियोगितालाई लिएर शारीरिक र मानसिक रूपमा तयार छौं ।’ सेमिफाइनल समीकरण तयार भएपछि मात्र थप रणनीतिबारे रोच्ने प्रशिक्षक सिंहले भने ।
नेपाली टिमका कप्तान हुन्, प्रशान्त मोक्तान । उनले त्यही ‘प्रि–म्याच कन्फ्रेन्स’ मा भने, ‘हामीले सक्दो तयारी राम्रो गरेका छौं । प्रशिक्षकले तय गरेको रणनीतिअनुसार खेल्नेछौं । टिममा अनुभवी खेलाडी रहेका छन् । त्यसैले हामीले बलियो चुनौती पेस गर्नेछौं ।’
