काठमाडौं — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार नटिङघम फरेस्टलाई ३–० ले हराएको छ र यो जितसँगै कम्तीमा एक दिनका लागि अंक तालिकाको शीर्षमा उक्लेको छ । उसको चार खेलबाट ९ अंक भएको छ ।
डिफेन्डिङ च्याम्पियन लिभरपुलको पनि समान ९ अंक छ । फरेस्टले भने आफ्ना नयाँ प्रशिक्षक एन्गे पोस्टेकोग्लु आएयताको पहिलो खेलमा हार बेहोरेको छ ।
फरेस्ट चार खेलबाट ४ अंकमा सीमित रहेर ११ औं स्थानमा रह्यो । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि मार्टिन जुबिमेन्डी २ गोल गरे ।
उनको पहिलो गोलको मद्दतले आर्सनलले ३२ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि भिक्टर ग्योकेरेसले ४६ औं मिनेटमा दोस्रो गोल थपे । जुबिमेन्डीले हेडबाट ७९ औं मिनेटमा तेस्रो गोल गरे ।
