यात्रामा सास्ती, चिन्ता भने देशको

 यू–२३ फुटबल टिम स्वदेश फिर्ता

भाद्र २८, २०८२

कान्तिपुर सं‌वाददाता

काठमाडौं — अनेक सास्ती खाएर अन्ततः नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम शुक्रबार बेलुका काठमाडौं आइपुगेको छ । एएफसी यू–२३ एसियन कप छनोट २०२५ खेल्न ताजकिस्तानको डुसान्बे पुगेको नेपाली टिम निर्धारित कार्यक्रमअनुसार स्वेदश फर्कन पाएन । जतिबेला नेपालमा जेन–जीको आन्दोलन चलिरहेको थियो, त्यही बेला टिम आफ्नो अन्तिम खेलको तयारीमा थियो ।

नेपाल छनोटको समूह ‘के’ मा थियो । टिमको अन्तिम खेल थियो मंगलबार । ‘हामी देशको प्रतिनिधित्व गरेर खेल्न गइरहेका थियौं, त्यही बेला देश ठूलो परिवर्तनबाट गुज्रियो,’ नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘एकातर्फ हाम्रो ध्यान फुटबलमा थियो भने अर्कोतर्फ सबैले देशमा के भइरहेको छ भने जानकारी लिइरह्यौं । काठमाडौं आइपुग्दा देशले नयाँ प्रधानमन्त्री पनि पाइसकेको स्थिति बन्यो ।’



फिलिपिन्सविरुद्धको अन्तिम खेलमा नेपाल ४–० ले पराजित भएको थियो । ताजकिस्तानमा नेपालको प्रदर्शन समग्रमा राम्रो भने रहेन, टिम तीनै खेलमा पराजित रह्यो । ताजकिस्तानविरुद्धको पहिलो खेल ४–० ले गुमाएयता नेपालले दोस्रो खेलमा सिरियासँग ४–२ को हार बेहोर्‍यो । यस्तोमा नेपाल अंकविहीन भएर चार टिमबीच सबैभन्दा पुछारमा रह्यो । यो समूहबाट सिरिया यू–२३ एसिया कपका लागि छनोट भएको छ ।



तेस्रो तथा अन्तिम खेलपछि नै नेपाली टिम एक दिन बिराएर स्वेदश आइसक्नुपर्ने थियो । तर त्यस्तो भएन । डुसान्बेको विमानस्थल पुगेर पनि फर्किनुपरेको थियो । त्यस क्रममा टिम लगभग पूरा रात होटलविहीन भएर बाहिर रहनुपर्‍यो । टिम दुबई भएर आउने क्रममा थियो । यही कारणले पनि ढिलाइ भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थल बन्द रहेको हुनाले पनि दुबईमा नेपाल आउने धेरै यात्रु फसेका थिए ।



टिमको प्रदर्शन वास्तवमै कस्तो रह्यो त ? यसबारे प्रशिक्षक न्यौपानेले भने, ‘हाम्रो समूहका तीनै टिम बलिया थिए, त्यसैले यो समूह सजिलो थिएन । हाम्रा लागि बलिया तीन टिमविरुद्ध खेल्न पाउनु पनि राम्रो अनुभव रह्यो । हाम्रा खेलाडीले यसक्रममा बहुमूल्य अनुभव बटुलेका छन् । हामीले ताजकिस्तानमा आक्रामक फुटबल नै खेलेका थियौं र त्यसमा धेरै हदसम्म सफल पनि रह्यौं ।’



उनले थपे, ‘हामीले तीनै खेलमा धेरै आक्रमण बुन्यौं र अवसर सिर्जना गर्न पनि सफल रह्यौं । तर डिफेन्समा भने कमजोरी रह्यो । हाम्रो डिफेन्स व्यवस्थित नभएकै कारण हामीले नखानुपर्ने गोल पनि खायौं । हामी चुकेको एउटा पक्ष शारीरिक बलियोपन अभाव रह्यो । अब आउने पुस्ताले यो पक्षमा धेरै ध्यान दिनुपर्ने हुन्छ । हाम्रा खेलाडी शारीरिक रूपमा अरूजस्तै बलियो हुनुपर्छ ।’ 


कान्तिपुर

Link copied successfully