लन्डन — चेल्सीका स्ट्राइकर लियम डेलप डिसेम्बरसम्म मैदान बाहिर रहने भएका छन् । इन्टरनेसनल ब्रेक हुनुअघि फुलहमसँगको खेलमा
ह्यामस्ट्रिङ भएपछि उनले १४ मिनेटमै मैदान छाडेका थिए । चेल्सीले विवादास्पद उक्त खेल २–० ले जितेको थियो ।
चेल्सीका व्यवस्थापक इन्जो मारेस्काले शुक्रबार जनाएअनुसार डेलप १० देखि १२ साता खेल्न नसक्ने भएका छन् । चेल्सीले यी २२ वर्षे स्ट्राइकर नोभेम्बरसम्म फर्किने आस राखेको छ । यसले चाडपर्वको बेला व्यस्त तालिकामा चेल्सीलाई राहत प्रदान गर्दथ्यो । डेलपले शल्यक्रिया गर्न नपर्ने विश्वास पनि चेल्सीको छ ।
जुनमा ३ करोड पाउन्डमा इप्सविचबाट आएका डेलपले चेल्सीले यस सिजनमा खेलेका सबै तीन प्रिमियर लिगमा खेलेका थिए । डेलपले गत सिजनमा इप्सविचबाट ३७ प्रिमियर लिग खेल खेल्दै १२ गोल गरेका थिए । डेलप घाइते हुनु र निकोलस ज्याक्सन ७ करोडभन्दा बढी मूल्यमा बायर्न म्युनिख लागेपछि चेल्सीले लोनमा पठाइएका मार्क गुइलाई सन्डरल्यान्डबाट झिकाएको छ ।
गुइले स्ट्राइकिङमा जाओ पेड्रोलाई साथ दिनेछन् । ब्राइटनबाट ल्याइएका पेड्रोमात्र अहिले चेल्सीमा प्रमुख स्ट्राइकरको रूपमा रहेका छन् । चेल्सी ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । अर्का फरवार्ड कोल पाल्मर बिहीबार प्रशिक्षणमा फर्किएका थिए ।
ग्रोइनका कारण उनले वेस्ट ह्याम र फुलहमसँगको खेल गुमाएका थिए । ब्रेन्टफोर्डसँग शनिबार हुने खेल उनले खेल्ने भने अझै निश्चित भइसकेको छैन ।
