कास्की — खेलकुदमा पोखराले यो महिना राम्रो अवसर पाएको थियो महिला फ्रेन्चाइज लिग भलिबल हुनु । जेन–जीको प्रदर्शनपछि सिर्जित घटनाक्रमका कराण लिग सफल हुन सकेन । खेल्न र घुम्न नेपाल आएका विदेशी खेलाडीले अविस्मरणीय घटना सामना गर्नुपर्यो । खेलाडी बसेको होटलमै प्रदर्शनकारीबाट आगो लगाइयो ।
अहिले विदेशी खेलाडी जतिसक्दो छिटो स्वदेश फर्कन चाहिरहेका छन् । नेपालको वर्तमान अवस्था र खेलाडीमा उत्पन्न मनोवैज्ञानिक त्रासका कारण भलिबल लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । विदेशबाट आएका सबै खेलाडी सुरक्षित रहेको र आफ्नो देश फर्कनका लागि काठमाडौं पुगिसकेको लिग आयोजक इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले जानकारी गराइन् ।
भदौ २० मा सुरु फ्रेन्चाइज लिगमा ४ दिनमा ९ खेल भएको थियो । पहिलो चरणमा मंगलबारका दुई खेल स्थगित गरियो । उक्त दिन प्रदर्शनले उग्र रूप लिएपछि लिगका बाँकी सबै खेल स्थगित गरिएको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भइरहेको लिगमा ६ फ्रेन्चाइच टिम प्रतिस्पर्धी छन् । कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज प्रतिस्पर्धामा थिए । यी टिममा ३–३ गरी १८ जना विदेशी खेलाडी सहभागी थिए । क्रोएसिया, ग्रिस, थाइल्यान्ड, नेदरल्यान्ड्स, रसिया, रोमानिया, अमेरिका, ब्राजिल, बुल्गेरिया र किर्गिस्तानका खेलाडी पोखरा आइपुगेका थिए ।
विदेशी खेलाडीलाई सम्बन्धित टिमले स्वदेश फर्काउन व्यवस्थापन गरिरहेको छ । स्वदेशी खेलाडी पनि घर फर्किसकेका छन् । ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुलीले आफ्नो टिमका खेलाडी काठमाडौं पुगिसकेको र विदेशी खेलाडीलाई शुक्रबार पठाउने तयारी भइरहेको बताए । उनीहरूलाई कुनै क्षति नहुने र पूर्ण सुरक्षा हुने भनेर सम्झाइएको उनले बताएका छन् । ‘हामीले यो नेपालको राजनीतिक घटनाक्रमका कारण भएको प्रदर्शन हो, खेलाडीलाई केही हुँदैन, सेनाले सुरक्षा दिन्छ भनेका छौं । त्यसैले उनीहरू त्यस्तो डराएको अवस्था छैन,’ पराजुलीले भने ।
लिगको नयाँ मिति घोषणा भएपछि विदेशी खेलाडीले आफूहरू फेरि खेल्न आउने प्रतिक्रिया दिएको उनले सुनाए । ललितपुरमा तीन थाइल्यान्डका खेलाडी अनुबन्धित थिए । प्रदर्शनकारीले लेकसाइडस्थित होटल सरोवरमा आगजनी गरेका थिए । यो होटलमा काठमाडौं स्पाइकर्स र पोखरा निन्जाजका खेलाडी बसेका थिए । त्यसपछि उनीहरूलाई अर्को होटलमा सारिएको थियो ।
लिगको चौथो दिनको खेल सकिँदा फाइनल खेल्ने दुई टिमको लगभग टुंगो लागिसकेको थियो । लिगमा ३–३ खेल खेलेका कर्णाली र ललितपुर शीर्ष दुईमा थिए । खेलेका सबै खेल जितेर ९ अंक जोड्दा यी दुई टिमको फाइनल यात्रा पक्काजस्तै थियो ।
लुम्बिनीले ३ खेलबाट २ अंक जोडेको थियो । एक खेल पनि नजितेको पोखरा निन्जाजले एक अंक जोडेको थियो । यसो हुँदा लुम्बिनी र पोखराको फाइनल पुग्ने सम्भावना थिएन । ३–३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्समध्ये एउटा टिमको फाइनल पुग्ने झिनो गणितीय सम्भावना जीवितै थियो । यसका लागि मधेशले मंगलबारको खेलमा कर्णाली र त्यसपछि एउटा खेलमा लुम्बिनीलाई पराजित गर्नुपर्ने हुन्थ्यो । काठमाडौंले बाँकी दुई खेलमा लुम्बिनी र पोखरालाई हराउनुपर्थ्यो । योसहित यी दुई टिमले फाइनल पुग्न कर्णाली र ललितपुरले दुवै खेल गुमाउनुपर्थ्यो, जुन निकै कठिन थियो ।
यही कारण दोस्रो संस्करणको फाइनलमा साबिक विजेता कर्णाली र उपविजेता ललितपुर नै भिड्ने पक्काजस्तै थियो । लिगमा फाइनलसहित ७ खेल हुन बाँकी छ । ती खेल कहिले र कसरी हुन्छन् भन्ने कुनै टुंगो छैन । कोर्टमा ललितपुर क्विन्सका खेलाडी । तीन खेल खेलेको ललितपुर सबै खेल सोझो सेटमा जितेर अंकतालिकाको शीर्षस्थानमा थियो ।
