‘इमर्जेन्सी रेस्क्यु अपरेसन टु नेपाल’

बंगलादेशी टिम सेनाको विमानबाट ढाका फिर्ता, नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न बंगलादेशी राष्ट्रिय टिम काठमाडौं आइपुगेको थियो । शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगियो । मंगलबारको दोस्रो खेल जेन–जी प्रदर्शनका कारण सम्भव भएन ।

भाद्र २७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — ‘हामी एक प्रकारले भाग्यमानी रह्यौं, किनभने हामीले जेन–जीको आन्दोलन बंगलादेशमा पनि देख्यौं, नेपालमा पनि देख्यौं,’ बंगलादेशी खेल पत्रकार ओमर फारुक रुबेलले सुनाएका थिए । 

उनी केही नभए पनि ५–६ पटक नै नेपाल आइसकेका थिए । तर, यसपालिको भ्रमण उनका लागि कहिल्यै बिर्सन नसकिने रह्यो । ‘काठमाडौंमा जेन–जीको प्रदर्शन सुरु भएदेखि हाम्रो सुरक्षालाई लिएर सबैले चिन्ता व्यक्त गरिरहे तर अप्रिय केही भएन,’ उनले थपे । 



सेनाको विशेष विमानबाट बंगलादेशी राष्ट्रिय फुटबल टोलीसहित एक दर्जन पत्रकार बिहीबार स्थानीय समय अनुसार साढे ५ बजे ढाका पुगेका छन् । नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्न बंगलादेशी राष्ट्रिय टिम काठमाडौं आइपुगेको थियो । निर्धारित समयअनुसार पहिलो खेल शनिबार दशरथ रंगशालामा सम्पन्न भयो । खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो खेल मंगलबार तय थियो, तर जेन–जीको प्रदर्शनका कारण यो सम्भव भएन । 



आइतबार दिउँसोसम्म त्यस्तो केही हुने छाँट थिएन । त्यसैले दोस्रो खेललाई लिएर आयोजित प्रि–म्याच कन्फ्रेन्समा बंगलादेशी टिमका प्रशिक्षक जाभिएर क्याब्रेना र कप्तान जमाल भुया दुवै उपस्थित थिए । उनीहरूको दाबी थियो, दोस्रो खेल जित्नका लागि खेल्नेछौं । तर त्यही दिनको बेलुकासम्म अखिल नेपाल फुटबल संघबाट सूचना आइसकेको थियो, सुरक्षाका कारण दोस्रो खेल रद्द गरिएको छ । 



यस्तोमा बंगलादेशी टिमले सोचेको थियो, मंगलबार नै घर फर्कने छौं । तर त्यस्तो अवस्था आएन । जेन–जी प्रदर्शनको आडमा दोस्रो दिन प्रदर्शनकारीले देशव्यापी तोडफोड र आगजनीका घटना गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत बन्द भएको थियो । 



विमानस्थल बन्द भएपछि टिमको ढाका फर्किने सम्भावना कमजोर बनेको थियो । यही मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको रिपोर्टिङ गर्न एक दर्जन बंगलादेशी खेल पत्रकार पनि काठमाडौं आएका थिए । उनीहरू ठमेलका होटलहरूमा छरिएर बसेका थिए । 



यसबीच केही बंगलादेशी खेलाडीले सामाजिक सञ्जालमा नेपालको स्थिति डरलाग्दो रहेको र चाँडै घर फर्किन पाए हुन्थ्यो भन्ने आशयले पनि लेखे । यस्तो लेख्नेमा कप्तान भुया पनि थिए । बंगलादेशी टिम रविभवनस्थित क्राउन इम्पेरियल होटलमा बसेको थियो । खेलाडीले आफ्नै आँखाले आगजनी, तोडफोट र लुटपाट पनि देखे । कप्तान भुयाले प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभका कामना पनि गरे । 



उनले आगो लागिरहेको केही दृश्य पनि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यसबीच बंगलादेशी फुटबल संघले पनि आफ्नो टिमलाई फिर्ता बोलाउन तत्परता देखाएको थियो । तर काठमाडौं–ढाका नियमित उडान भइरहेकै थिएन । विशेष उडानका लागि पनि लगातार प्रयास भइरहेको थियो । अन्ततः यो प्रयास बिहीबार सफल भयो । सबैले स्वाभाविक रूपमा राहत महसुस गरेका छन् । 



टिम र तिनै खेल पत्रकारलाई लिन बंगलादेशी फुटबल संघले सेनाको विशेष विमान नै पठाएको थियो । त्यसैबाट उनीहरू सबै सकुसल ढाका पुगेका छन् । ‘हामीप्रति देखाएको सद्भावका लागि धन्यवाद,’ अर्का बंगलादेशी पत्रकार सुदीप्त आनन्दले भने । ढाका पुगेयता खेलाडी र पत्रकारले सामूहिक तस्बिर पनि खिचाए । त्यसको पृष्ठभूमिमा एउटा ब्यानर थियो । त्यसमा लेखिएको थियो, ‘इमरजेन्सी रेस्क्यु अपरेसन टु नेपाल’ । 



नेपाली टिमलाई सास्ती



यही बेला नेपाली यू–२३ फुटबल टिम पनि विदेशमा छ । यससँग जोडिएका खेलाडी, पदाधिकारी र पत्रकारले भने नेपाल आइपुग्नु अगाडि अनेक सास्ती बेहोर्नुपरेको छ । नेपाली टिम एएफसी यू–२३ एसियन कप छनोट खेल्ने ताजकिस्तानको दुसानबे गएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम शुक्रबार साँझ मात्रै काठमाडौं आइपुग्ने छ । तय कार्यक्रमअनुसार टिम बिहीबारतिरै काठमाडौं आइपुग्नुपर्ने थियो । 



तर उनीहरू थप दुई दिन जति विदेशमै बिताउन बाध्य रहे । यसबीच टिमले जेन–जीको आन्दोलनमा परेर निधन हुनेको सम्मानमा त्यहीं दीप प्रज्ज्वलित गरेका थिए । निर्धारित कार्यक्रमअनुसार बुधबार मध्यरात नै टिम काठमाडौं प्रस्थान गर्न डुसानबे अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । टिम दुबई हुँदै काठमाडौं आउने कार्यक्रम थियो, तर निर्धारित उडान रद्द गरियो । 



त्यसपछि टिम आठ घण्टा जति विमानस्थलमै अड्कियो । समयमै होटल पाउन नसकेको जनाइएको छ । त्यसैले लगभग पूरा रात नै टिम बाहिर रहेको थियो । बल्लतल्ल इस्टिकोल फुटबल क्लब नजिक रहेको होटल मिलाउन सफल भएको टिमका एक पदाधिकारीले बताए । खासमा काठमाडौं आउनका लागि दुबई विमानस्थलमै रोकिएका मानिसको घुइँचो रहेकाले समस्या आएको हो । जति बेला यस यू–२३ टिम काठमाडौं ओर्लिने छ, यससँग जोडिएका सबैले राहत महसुस गर्नेछन् ।


कान्तिपुर

Link copied successfully