‘भाग्यमानी’ भरत

साँच्चै नै भरत भाग्यमानी रहनेछन्, जति बेला उनले दशरथ रंगशालामा घरेलु दर्शकबीच औपचारिक रूपमा बिदा लिनेछन् । नेपाली फुटबलले पाएका असाध्यै राम्रो भन्न मिल्ने खेलाडीमा पर्छन्, उनी । एउटा नेपाली खेलाडीले जे जस्तो उपलब्धि आत्मसात् गर्न सक्छन्, ती सबैले भरतले पाएभन्दा हुन्छ ।

भाद्र २३, २०८२

हिमेश

'Lucky' Bharat

What you should know

काठमाडौँ — जतिले भरत खवासको फुटबल खेल जीवन नजिकबाट हेर्ने अवसर पाए, सबैलाई लाग्दो हो, कति चाँडै उनी संन्यास लिने दिनमा पुगे । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार भयो । अब दोस्रो खेल मंगलबार हुनेछ र त्यहीँबाट भरतले औपचारिक रूपमा संन्यास लिनेछन् । 

हामीले भरतको करियरलाई सावधानीपूर्वक हेर्ने हो भने उनी धेरै अर्थमा भाग्यमानी देखिन्छन् । त्यसको एउटा राम्रो उदाहरण त यही संन्यासकै कुरा । भनिन्छ, खेलाडीले आफूले चाहेजस्तो गरेर खेल जीवन त सुरुआत गर्न सक्छन् तर अन्त्य गर्न भने सक्दैनन् । चाहे त्योजत्तिकै ठूलो स्टार खेलाडी किन नहोस् । अझ नेपाली फुटबलकै कुरा गर्ने हो भने जत्तिकै ठूलो खेलाडी भए पनि संन्यास लिने भन्ने त चलन नै छैन । त्यसै–त्यसै खेल्न छाड्यो अनि खेलाडी आफैं हराउँदै पनि जाने ।

त्यो अर्थमा साँच्चै नै भरत भाग्यमानी रहनेछन्, जति बेला उनले दशरथ रंगशालामा घरेलु दर्शकबीच औपचारिक रूपमा बिदा लिनेछन् । नेपाली फुटबलले पाएका असाध्यै राम्रो भन्न मिल्ने खेलाडीमा पर्छन्, उनी । एउटा नेपाली खेलाडीले जे जस्तो उपलब्धि आत्मसात् गर्न सक्छन्, ती सबैले भरतले पाएभन्दा हुन्छ । नेपाल र बंगलादेशबीचको दोस्रो खेल सकिएको ‘ह्विसल’ सँगै भरतसँग जोडिएको एउटा कालखण्डमा पूर्णविराम लाग्नेछ ।

उनीसँग जोडिएका १० महत्त्वपूर्ण तथ्य यी हुन सक्छन् ।

१. पोखरामा डेब्यु

सन् २००८ मा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाकिस्तान टिम नेपाल आएको थियो । दुवै खेल पोखरा रंगशालामा भएको थियो । त्यसकै पहिलो खेलमा भरतले ‘डेब्यु’ को अवसर पाए । दिन थियो, मार्च २५ । त्यति बेला पोखरा रंगशालामा धेरै कुराको खासै राम्रोसँग बन्दोबस्त थिएन । त्यसैले फोर्थ अफिसिल बसेको ठ्याक्कै पछाडि पत्रकारको हूल पनि थियो । खेलको ७५ औं मिनेटमा प्रदीप महर्जनको स्थानमा मैदानमा प्रवेश गरे । त्यति बेला पत्रकारतर्फ हेर्दै मीठो मुस्कान दिएका थिए । सायद उनी केही आत्तिएका पनि थिए ।

२. ‘डेब्यु’ मै गोल

त्यो दिन भरतले मात्र ‘डेब्यु’ गरेका थिएनन्, चुनबहादुर थापा, सन्दीप राई, विराज महर्जन र नीराजन खड्काले पनि ‘डेब्यु’ गरेका थिए । प्रशिक्षकका नाममा औपचारिक रूपमा भीम थापा लेखिएको थियो । तर सबै काम भने बालगोपाल महर्जन र उपेन्द्रमान सिंहले गरेका थिए । त्यस अर्थमा भरतले ‘डेब्यु’ को श्रेय उनीहरूलाई दिँदा राम्रो । मैदानमा प्रवेश गरेको दुई मिनेटभित्र नै भरतले गोल पनि गरे । यसरी उनी ‘डेब्यु’ मै गोल गर्न सफल खेलाडी सूचीमा रहे । नेपाल त्यसमा २–१ ले विजयी रह्यो । नेपालका लागि अर्को गोल अनिल गुरुङले गरेका थिए । त्यो अनिलको पनि पहिलो गोल नै थियो ।  

'Lucky' Bharat

३. दशरथ रंगशालामा सबैभन्दा बढी गोल

भरतसँग जोडिने सबैभन्दा महत्त्वपूर्ण तथ्य हो, उनी नेपालका लागि दशरथ रंगशालामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यो तथ्यमा भरत आफैंलाई पनि गर्व लाग्दो हो । उनले दशरथ रंगशालामा कुल सात गोल गरेका छन् । त्यसमध्ये पहिलो गोल अफगानिस्तानविरुद्ध थियो, सन् २०११ को अप्रिल ७ मा । एएफसी च्यालेन्जकप छनोटको त्यस खेलमा नेपाल १–० ले विजयी रहेको थियो । त्यस अर्थमा भरतको गोल निर्णायक सावित भयो । त्यो भरतले खेलेको नेपालका लागि पाँचौं खेल थियो ।

४. दुर्लभ ह्याट्रिक

ह्याट्रिक आफैंमा दुर्लभ उपलब्धि हो, फुटबलमा । नेपालका लागि धेरै कमले मात्र तीन गोलको उपलब्धि चुमेका छन् । त्यसमै भरत पनि पर्छन् । सन् २०१३ मार्च २ मा नर्थन मारिया आइल्यान्डविरुद्ध उनले ऐतिहासिक ह्याट्रिक गरे । त्यस खेलमा नेपाल सजिलै ७–० ले विजयी रहेको थियो । भरतले गोल गरेको समय थियो, ४, ४० र ७० । उनी दशरथ रंगशालामा नेपालका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि हुन् । त्यसपछि अञ्जन विष्टले पनि त्यही काम गरे । नत्र गणेश थापा, नरेश जोशी, नीराजन रायमाझी र नवयुग श्रेष्ठको ह्याट्रिक विदेशी भूमिमा सम्भव भएको थियो ।

५. सबैभन्दा प्रख्यात गोल

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गरे पनि त्यसमध्ये केही खास–खास गोल मात्र पछिसम्म सम्झिने गरिन्छ । त्यसमा एक भरतकै नाममा रहेको छ । अझ त्यसलाई नेपालका तर्फबाट सबैभन्दा बलियो प्रतिद्वन्द्वीविरुद्ध सम्भव गोल भन्दा पनि हुन्छ । अवसर थियो, विश्वकप छनोट । सन् २०११ को जुलाई २८ को दिन । अनि प्रतिद्वन्द्वी थियो, जोर्डन । जोर्डनविरुद्ध पहिलो लेगमा नौ गोल खाएयता नेपालले दोस्रो लेगमा त्यही टिमलाई १–१ को बराबरीमा रोकेको थियो । जोर्डनले एक गोलको अग्रता लिएयता भरतले बराबरी गोल फर्काएका थिए ।

'Lucky' Bharat

६. कप्तानको जिम्मेवारी

फुटबलमा कप्तान हुनुको अर्थ नै बेग्लै हुन्छ । अझ राष्ट्रिय टिमको कप्तान हुनुपर्छ, साँच्चै कुरै बेग्लै । भरत त्यस अर्थमा पनि भाग्यमानी रहे किनभने उनले नेपाली राष्ट्रिय टिमको नेतृत्व गर्ने अवसर पनि पाए । भारतले सबैभन्दा पहिले ‘आर्म ब्यान्ड’ लगाउन पाएको भनेको सन् २०१७ को एसियाकप छनोटमा हो । फिलिपिन्सविरुद्ध मनिलामा भएको खेलमा भरत आफ्नो खेल जीवनमै पहिलो पटक राष्ट्रिय टिमको कप्तान बने । उनलाई यो अवसर दिएका थिए, प्रशिक्षक ग्योतुकु कोजीले । भरतले कुल चार खेलमा कप्तानी गरे ।

७. संन्यासमा ६३ औं ‘क्याप’

भरतले नेपालका लागि अन्तिम पटक खेलेको भनेको गत वर्षको नोभेम्बर १३ मा हो । ताजकिस्तानविरुद्ध डुसानबेमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनलाई प्रशिक्षक नवीन न्यौपानेले सुरुदेखि खेलाए । त्यो उनले नेपालका लागि जितेको ६२ औं ‘क्याप’ थियो । यस्तोमा उनको अन्तिम खेल हुनेछ, ६३ औं । यसरी उनले १७ वर्ष बिताए भन्दा हुन्छ । चोट र स्वास्थ्यले दुःख नदिएको भए, उनले त्योभन्दा बढी नेपालका लागि खेल्ने निश्चित थियो । भरतले सन् २०१८ मा ढाकामा भएको साफ च्याम्पियनसिपको बंगलादेशविरुद्धको खेलमा ५० औं ‘क्याप’ जितेका थिए । त्यस खेलमा संयोगले उनी कप्तान पनि थिए ।

८. गोलले छोएको दोहोरो अंक

नेपालका लागि दोहोरो अंक छुने गरेर गोल गर्नेको संख्या पनि धेरै कम छन् । त्यसैले जसले १० अथवा त्योभन्दा बढी गोल गरेका छन्, तिनलाई ‘लिजेन्ड’ मान्दा पनि हुन्छ । यसमै पर्छन्, भरत पनि । भरतले नेपालका लागि ठ्याक्कै १० गोल गरेका छन् । उनको अन्तिम गोल पनि त्यही ढाका साफ च्याम्पियनसिपमै सम्भव भएको थियो, सेप्टेम्बर ६ मा । त्यो गोल भुटानविरुद्ध थियो । त्यही बेला उनले अब आफ्नो लक्ष्य कीर्तिमानी १३ गोलको संख्यालाई छुनु भन्थे । तर सकेनन् । चोटले उनलाई त्यहाँसम्म पुग्न मौका नै दिएन ।

९. एन्फा एकेडेमीको उत्पादन

एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी हुन्, उनी । भरतले एन्फा एकेडेमीमा आठ वर्ष जति बिताए । सुरुमा उनी पोखरामा थिए, त्यसपछि काठमाडौं आए । एकेडेमीमा उनको सबैभन्दा नजिकका साथी रहे, पुराना कप्तान विराज महर्जन । एन्फा एकेडेमीले उत्पादन गरेका सबै खेलाडी उस्तै राम्रो भएनन् । केहीले त ढंगले फुटबल पनि खेलेनन्, कता हो कता हुने गरेर हराए । तर एन्फा एकेडेमीको उत्पादनमध्ये सबैभन्दा राम्रा खेलाडीको सूचीमा भरत पनि पक्कै पर्नेछन् । उनी नेपाली फुटबलमा रहिरहे ।

'Lucky' Bharat

१०. पुलिस पनि आर्मी पनि

नेपालको घरेलु फुटबलमा पुलिस र आर्मी दुवैबाट खेल्ने असाध्यै दुर्लभ खेलाडीमा भरत पनि पर्छन् । सुरुमा उनले पुलिसबाट खेले । जति बेला पुलिसले प्रशिक्षक विराटकृष्ण श्रेष्ठको नेतृत्वमा सहिद स्मारक लिग ‘ए’ डिभिजनमा तहल्का मच्चाएको थियो, भरत त्यही टिमका एक सदस्य थिए । पछि पुलिसमा उनको कुरा मिलेन, आर्मीतिर गए । उनको पहिलो क्लब भने संकटा हो, त्यसपछि फ्रेन्ड्स । भरतले पहिलो पटक खेलेको ‘ए’ डिभिजन ०६३ सालको हो । एउटा मिति जहिल्यै याद राख्नुपर्ने हुन्छ । त्यही २०६३ सालको कात्तिक २७ । संकटाले सरस्वतीलाई ५–० ले हराउँदा भरतले १४ औं मिनेटमा टिमका लागि पहिलो गोल गरे । त्यो नै माथिल्लोस्तरको लिग फुटबलमा भरतको पहिलो औपचारिक गोल हो ।

हिमेश

Link copied successfully