काठमाडौं र लुम्बिनीको पहिलो जित

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार काठमाडौंले मधेश युनाइटेडलाई र लुम्बिनीले पोखरा निन्जाजलाई पराजित गरे । लिगमा दुई खेलका काठमाडौं र लुम्बिनी यसअघि पहिलो खेलमा पराजित भएका थिए । 

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

First victory of Kathmandu and Lumbini

What you should know

कास्की — काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभाजले दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्न सफल भए । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार काठमाडौंले मधेश युनाइटेडलाई र लुम्बिनीले पोखरा निन्जाजलाई पराजित गरे । लिगमा दुई खेलका काठमाडौं र लुम्बिनी यसअघि पहिलो खेलमा पराजित भएका थिए । 

काठमाडौंले मधेशलाई ३–१ को सेटले पराजित गर्‍यो । पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गर्न सफल भयो । काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।

आइतबारको दोस्रो खेलमा लुम्बिनीले घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटमा पराजित गर्‍यो । पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो ।  पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक भएको चौथो सेटमा लुम्बिनीले २८–२६ ले जित निकाल्यो । पाँचौं सेटमा लुम्बिनीले सुरुबाटै अग्रता कायम गर्‍यो । अन्तिममा लुम्बिनीले १५–१० को सहज जित दर्ता गर्‍यो । कप्तान एवं मार्की खेलाडी अरुणा शाही अघिल्लो दिन घाइते भएर मैदान बाहिर रहनुपर्दा लुम्बिनी दबाबमा रह्यो । 

लुम्बिनी पहिलो खेलमा कर्णाली यश्विससँग ३–१ को सेटमा पराजित भएको थियो । पोखरा पहिलो खेलमा कर्णाली यश्विस र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । लिगमा ललितपुर र कर्णालीको बराबर ६–६ अंक छ । दुवै खेल सोझो सेटमा जितेकाले ललितपुर अंकतालिकाको शीर्ष स्थानमा छ । मधेश युनाइटेड ३ अंकसहित तेस्रो र समान ३ अंक नै भएको काठमाडौं स्पाइकर्स चौथो स्थानमा छ । लुम्बिनी २ अंकसहित पाँचौं र जितविहीन पोखरा पुछारमा छ ।

लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यश्विस र काठमाडौं स्पाइकर्सबीच दिउँसो २ बजे हुनेछ । दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच दिउँसो ४ बजे हुनेछ । 

कान्तिपुर

Link copied successfully