शृंखला जिते पनि अन्तिम खेलको लज्जास्पद हारले अघिल्ला सफलताहरुलाई न्याय नगर्ने दक्षिण अफ्रिकी कप्तान बबुमाको प्रतिक्रिया
What you should know
काठमाडौँ — सोमबार खेल सकिएपछि दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीका कप्तान टेम्बा बबुमाले भने, ‘एक हारले बाँकी सबै उपलब्धि धमिलो पार्न सक्दैन ।’
इङ्ल्यान्डसँको तीन खेलको एक दिवसीयमध्ये पहिलो दुईमा जित निकालेर शृंखला नै आफ्नो हातमा पारिसकेको दक्षिण अफ्रिकाले अन्तिम खेल भने एक दिवसीय क्रिकेटको इतिहासकै सबैभन्दा ठूलो हारको सामना गर्नुपर्यो ।
साउथम्पटनमा ४१४ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका मात्र ७२ रनमा अलआउट भयो । एक दिवसीय क्रिकेटको ५४ वर्षे इतिहासमा कुनै पनि टिमको यो सबैभन्दा ठूलो हार हो । इङ्ग्ल्यान्डले एक दिवसीयमा सबैभन्दा ठूलो रन अन्तर ३४२ ले जित निकाल्यो ।
अफ्रिकाका सातवटा ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मात्र चार खेलाडीले दोहोरो अंक छोए । कार्बिन बोशले सर्वाधिक २० रन बनाए ।
यता इङ्ग्ल्यान्डको टिममा जो रुट र ज्याकब बेथेलले शतक प्रहार गरे । बेथेलले १ सय १० रन बनाउँदा रुटले १ सय रन बनाए । यस्तै अर्का दुई जनाले अर्धशतक प्रहार गरे । जेमी स्मिथले ६२ रन बनाउँदा जोस बटलरले पनि ६२ रन नै बनाए ।
यो हारलाई दक्षिण अफ्रिकाका प्रशिक्षक शुक्री कोनराडले ‘लज्जास्पद’ भनेर टिप्पणी गरेका छन् । यस्तै कप्तान बबुमाले हालै एक दिवसीयमा प्राप्त सफलतापछि यो प्रदर्शनले आफूहरुका लागि न्याय नगर्ने बताएका छन् ।
घाइते भए पनि उनी ब्याटिङका लागि मैदानमा उत्रिएका थिए । पछिल्लो एक महिनामा दक्षिण अफ्रिकाले अस्ट्रेलिया र इङ्ग्ल्यान्ड दुवै देशलाई २–१ ले हराएको थियो । दक्षिण अफ्रिकाले सन् १९९८ पछि पहिलोपटक इङ्ल्यान्डमा सिरिज जितेको थियो ।
सबैभन्दा धेरै रन अन्तरको जित यसअघि भारतको नाममा थियो । भारतले सन् २०२३ को जनवरी १५ मा श्रीलंकालाई ३१७ रन अन्तरले हराएको थियो ।
