यस वर्षको नेपाल स्कुल फुटबल यू–१८ लिगमा उपत्यकाका ८ विद्यालयले सहभागिता जनाइरहेका छन् र यसको विजेताले यो ट्रफी लैजाने छन् ।
काठमाडौँ — नेपाल स्कुल फुटबल यू–१८ लिगको ट्रफी आइतबार सार्वजनिक गरिएको छ । ठन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा भइरहेको प्रतियोगिताका लागि अनावरण गरिएको ट्रफी २२ इन्च अग्लो र १३ किलो तौलको छ । आकर्षक डिजाइनमा बनेको यो ट्रफीले प्रतियोगिताको भव्यतालाई अझै बढाएको आयोजकको विश्वास छ ।
यस वर्षको नेपाल स्कुल फुटबल यू–१८ लिगमा उपत्यकाका ८ विद्यालयले सहभागिता जनाइरहेका छन् र यसको विजेताले यो ट्रफी लैजाने छन् । प्रतियोगितामा जेम्स थन्डर बोल्ट्स, डीएभी सुपर डाफे, एलए स्नोलियोपार्ड्स, काठमाडौं लोकयुग एफसी, चेल्सी फाल्कन्स, युलेन्स प्यान्थर्स, रातो बंगला रेड पाण्डाज र एफसी माउन्ट कान्जिरोवा विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणका शीर्ष चार टोलीबीच प्ले–अफ खेल सञ्चालन हुनेछ ।
ट्रफी सार्वजनिक कार्यक्रममा खेलाडी, अभिभावक, विद्यालयका प्रतिनिधि तथा फुटबलप्रेमीहरूको उपस्थिति थियो । आयोजकका अनुसार यो ट्रफी मात्र नभई प्रतियोगिता नै विद्यालय फुटबलको स्तर उकास्ने महत्त्वपूर्ण प्लाटफर्मका रूपमा रहनेछ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँ तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् ।
