गोलविहीन खेलमा दुवै टिम सन्तुष्ट

पूरा खेल अवधिमा निर्णायक साबित हुनसक्ने आक्रमण दुवै टिमले बुनेनन् । खेल अन्त्यमा गोलरहित बराबरीमै टुंगियो । तर, दुवै टिम एक किसिमले सन्तुष्ट जस्तै देखिए । 

भाद्र २२, २०८२

हिमेश

Both teams are satisfied with the goalless game

What you should know

काठमाडौँ — कहिलेकाहीं ‘इन्टरनेसनल फ्रेन्ड्ली’ यस्तै हुन्छ । दुवै टिम हार्न नचाहने । यस्तोमा निर्णायक साबित आक्रमण पनि बुन्न नचाहने । नेपाल र बंगलादेशबीच शनिबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ठ्याक्कै यस्तै रह्यो । पूरा खेल अवधिमा निर्णायक साबित हुनसक्ने आक्रमण दुवै टिमले बुनेनन् । खेल अन्त्यमा गोलरहित बराबरीमै टुंगियो । तर, दुवै टिम एक किसिमले सन्तुष्ट जस्तै देखिए । 

सन् २०२३ को नोभेम्बरयता पहिलो पटक दशरथ रंगशालामा पुरुष राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय फुटबल फर्केको थियो । तर, यसले पस्केको खेल दर्शकका लागि मीठो रहेन । त्यसैले टिकट काटेर आएका ४ हजार ८ सय ८ दर्शक सायद खुसी रहेनन् । एउटा तथ्य भने निश्चित रह्यो, सम्भवतः पछिल्लो समय यति धेरै कम दर्शकले घरेलु मैदानमा नेपाली राष्ट्रिय टिमले खेलेको खेल हेरेको हुनुपर्छ । 

‘हामीले ठीकै खेल्यौं जस्तो लाग्छ, सायद अबको खेलमा बढी दर्शक आउने छन् कि ?’ नेपाली खेलाडी रोहित चन्दले पनि माने । अझ उनको तर्क थियो, ‘अहिले त हाम्रो लागि दशरथ रंगशालामा खेल्न पाउनु पनि ठूलो हो ।’ फेरि खेलमै फर्कने हो भने बंगलादेशी प्रशिक्षक जाभियर क्याब्रेराले पनि माने, खेल आफैंमा निकै ‘टाइट’ रह्यो । दुवै टिम उस्तै थिए, उस्तै खेले पनि ।

उनको भनाइ थियो, ‘बंगलादेशी टिमको प्रदर्शनमा मलाई खुसी छ । गर्व पनि छ । खेल आफैंमा प्रतिस्पर्धात्मक रह्यो । केही मोडमा खेल हाम्रो नियन्त्रणमा रह्यो । 

ठ्याक्कै भन्दा खेल ५०–५० को बराबरीमा रह्यो । त्यसैले बराबरीको नतिजा स्वभाविक रह्यो । मलाई लाग्छ, नेपाली टिम पहिलेको तुलनामा अझ बलियो भएको छ । यसअघि हामी दशरथ रंगशालामा हारेका थियौं, आफ्नै भुलले । अहिले हामी पनि बलियो छौं ।’ 

नेपाली टोलीका अस्ट्रेलियाली प्रशिक्षक म्याट रसको भनाइ पनि लगभग उस्तै रह्यो । उनले भने, ‘मेरो विचारमा हाम्रो प्रदर्शन समग्रमा राम्रो रह्यो, हामीले जितका लागि गोल निकाल्न सकेनौं । सायद खेलमाथि हाम्रो नै बढी नियन्त्रण रह्यो । हाम्रो डिफेन्सको प्रदर्शन पनि राम्रै रह्यो । हाम्रा खेलाडी चलाख छन्, उनीहरू प्रत्येक समय केही न केही सिक्न आतुर छन् ।’ 

उनले अगाडि थपे, ‘सायद यस्तो खेलमा म आफैं बढी सिर्जनात्मक हुनुपर्ने हो, किनभने हामीसँग एरिक विष्ट र रोहन कार्की जस्ता खेलाडी छन् । त्यसैले त अचेल प्रशिक्षणमा मलाई केही गाह्रो भन्ने छैन ।’ खेलबारे सबैभन्दा सटिक विश्लेषण गर्दै उनले माने, ‘यदि यो खेल बक्सिङको भिडन्त हो भने नेपाल अंकका आधारमा विजयी रह्यो, तर हामीले नकआउट गर्न सकेनौं ।’ 

अब के त ? बंगलादेश दुई खेल खेल्न नेपाल आएको हो । अब दोस्रो खेल मंगलबार हुनेछ । त्यस खेलको नतिजा पनि बराबरी भएको खण्डमा टाइब्रेकर खेलाइने छ । त्यसमा विजयी हुनेलाई ट्रफी प्रदान गरिनेछ । त्यो खेलमा के नेपालको प्रदर्शनमा सुधार हुनेछ त ? ‘हाम्रो प्रदर्शनमा केही स–साना तथ्यमा सुधार आवश्यक छ । अबको खेलमा हामीले अझ सुधारिएको प्रदर्शन गर्नेछौं ।’

नेपालले बंगलादेशसँग अर्को खेल मंगलबार खेल्नेछ ।

हिमेश

Link copied successfully